ईश्वर पाेखरेलबाँकी सबै राम्रै छ
हस्पिटलमा डाक्टर छैन क्लिनिक जानु पर्छ तान्द्राङतुन्द्रुङ लाउँछ, नाप्छ हजारिया झर्छ सिटी स्क्यान, एक्सरे भन्छ के के गर्छ, गर्छ झाँक्री जो छ, नजिकै छ ऊ अक्षेता छर्छ कालो पोथी भाक्छ उसले त्यसमै खर्च टर्छ

ईश्वर पोखरेल :
पेट दाम्रो दाम्रै छ
बाँकी सबै राम्रै छ ।
जिम्वाल बाकै साहिँलो नाति
हाम्रो नेता भा’छ
चुनाउ जित्ने सबै दाउ
उसले भेउ पा’छ
मौका हेरी कहिले कम्निस्ट
कैले काङ्ग्रेस भा’छ
राजनीतिको सबै भाका
गाउँछ; उसले गा’छ
कुन ‘खोली’मा कुन ‘माछा’ छ
उसलाई सबै था’छ
राजनीति उसकै जिम्मा
हामीलाई ढुक्कै भा’छ
हो, हो, सरकार हाम्रै छ
बाँकी सबै रामै्र छ ।
मुखिया बाको कर्के आँखा
घरघडेरी ताक्छ
उनकै पछुवा आएपिच्छे
हुक्र्या भाले दाग्छ
कहिलेकाहीँ त नालिस गरौँ
भन्ने झोँक नि जाग्छ
चोकैदेखि विचौलिया
अघिअघि लाग्छ
फाँटैपिच्छे कर्मचारी
ठाडै पैसा माग्छ
नदिऊँ भने न्याय निसाफ
कता भाग्छ, भाग्छ ।
हाकिम चाम्रो चाम्रै छ
बाँकी सबै राम्रै छ ।
हस्पिटलमा डाक्टर छैन
क्लिनिक जानु पर्छ
तान्द्राङतुन्द्रुङ लाउँछ, नाप्छ
हजारिया झर्छ
सिटी स्क्यान, एक्सरे भन्छ
के के गर्छ, गर्छ
झाँक्री जो छ, नजिकै छ
ऊ अक्षेता छर्छ
कालो पोथी भाक्छ उसले
त्यसमै खर्च टर्छ
आङमा लुगा झाम्रै छ
बाँकी सबै राम्रै छ ।
०००
बोझेपोखरी, ललितपुर
Subscribe
Login
0 Comments
Oldest









































