साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे जुधाउँदाको मजा

असली मनोरञ्जन लिन त असाध्यै मन मिलेका साथी र नजिकका आफन्तहरूलाई जुधाउँदा पो हुन्छ । नपत्याए मैले जस्तै केही मन मिलेका जोडीलाई जुधाएर हेर्नुस् त !

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

अहिले जस्तो छ्यापछ्याप्ती मनोरञ्जनको साधन उपलब्ध नहुँदा उहिले पहाडतिर गोरु जुधाएर मनोरञ्जन लिइन्थ्यो । तराईमा राँगा जुधाउने चलन थियो भने हिमाली भेगमा बस्नेहरूले भेडा र च्याङ्ग्रा जुधाएर मनोरञ्जन लिन्थे । हुन पनि अर्कालाई जुधाएर मनोरञ्जन लिन कम्ति मजा आउँदैन । यति मात्र होइन चालिसको दशकतिर म फिलिपिन्स जाँदा टिकट काटेर “कक फाइट ” नामको भाले जुधाइ पनि हेर्ने अवसर पनि पाएको थिएँ । त्यो “कक फाइट” त झन मनोरञ्जनका लागि मात्र होइन पैसा जित्ने जुवाको रुपमा समेत लिने गरिएको रहेछ । फलानो भालेले जित्छ फलानोले हार्छ भन्दै त्यहाँ लाखौं रुपियाँको जुवा खेलिन्थ्यो । त्यसैले मलाई के लाग्छ भने यस्ता जुधाउने खेलहरू सामान्य खेल हुँदै होइनन् ।

यसरी जुधाउने खेलबाट भरपूर मनोरञ्जन लिने गरिए पनि यस्तो खेल त्यति सुरक्षित भने मानिदैन थियो। हरुवा गोरु भाग्दा र जित्ने गोरुले लखेट्दा अनगिन्ती मान्छेहरू घाइते हुन्थे । कति टुपुक्क सिङ मिलेका रहर लाग्दा गोरुहरू सिङ फुक्लिएर रगत चुहाउँदै ठुटे बनेर फर्कने गर्थे । केही गोरु विपक्षीको सिङको प्रहारबाट घाइते हुँदा त्यही घाउमा औंसा परेर कुहिएर मरेको यिनै आँखाले देख्नुपरेको थियो । हामीले कुनै गोरुको खुट्टा भाँचिएको पनि देख्यौं । कुनै गोरुको पूच्छर चुँडिएको देख्यौं । घटना दुर्घटना जे भए पनि हामीले भने मजाले मनोरञ्जन लिन छोडेनौं । यसरी गोरु जुधाउनुको मुख्य कारण केवल मनोरञ्जन मात्र हुन्थ्यो । गोरु जुधाउँदा जस्तै राँगा र भेडा च्याङग्रा जुधाउँदा पनि आखिर हुने त्यही हो, घाइते र अशक्त । अझै भाले जुधाउँदा त ठाउँको ठाउँ भाले ठहरै भएको पनि देखियो ।

यसरी कसैलाई जुधाएर मनोरञ्जन लिने प्रचलन भने पुरानै हो । जुध्नेहरू घाइते भएपनि, सिङ भाँचिए पनि , पुर्लुक्कै मरे पनि मनोरञ्जन लिनेलाई कुनै आपत्ति हुदैन थियो । गोरुलाई मर्का पर्यो भनेर यसरी पशु र पक्षी जुधाउन कहिले पनि छोडिएन ।

अचेल गोरु जुधाएर मनोरञ्जन लिन सजिलो छैन । गाउँमा बसेर जोरू पाल्न नसक्ने समयमा गोरु पाल्ने कुरा कल्पना पनि गर्न सकिन्न । यसैले केही मान्छेहरूले अचेल पनि मान्छेलाई गोरु र पशुपक्षी जस्तै ठानेर एक आपसमा जुधाएर मनोरञ्जन लिइ रहेकै हुन्छन् ।

वाल्यकालमा यसरी पशुपक्षी जुधाएको हेरेर मनोरञ्जन गर्न पल्किएका हरूलाई सायद अन्य कुनै पनि मनोरञ्जनले धित मर्दैन । यिनलाई जुधेकै हेर्नुपर्छ चाहे त्यो पशुपक्षी जुधाएर होस् वा मान्छे जुधाएर होस् ! त्यसैले यिनीहरू अचेल मान्छे जुधाएर मनोरञ्जन लिने मेलोमा व्यस्त देखिन्छन् । यसको खुलासा अनुसन्धानले त होइन, भरपर्दो अनुमान गरेर गरिएको हो । हुनत हाम्रो देशमा हुने गरेका कतिपय अनुसन्धान पनि अनुमानकै भरमा हुने गरेका छन् !

यसरी मान्छे जुधाउने काम सजिलो भने छैन । जसले पनि मान्छे जुधाउन खोजेर सक्दैन । मान्छे जुधाउन केही सिप र सुत्रहरूको राम्रो ज्ञान हुनुपर्छ । चारचौरास बुझेका, रकमी पाराका, कुटनीतिक कार्यमा पोख्त भएका, छलतन्त्रमा पोख्त भएका,परिआए तत्काल रुन पनि सक्ने र हाँस्न पनि सक्ने खुबी भएका र गोजी दह्रो भएकाहरूले चाहेको बेला मान्छे जुधाउन सक्छन् । मान्छे जुधाउन कहिलेकाहीं केही रकम समेत खर्च गर्नुपर्ने अवस्था पनि आइदिन सक्छ । यसरी मान्छे जुधाएर मनोरञ्जन लिन पल्किएका हरूलाई न दोहोरी गीतले छुन्छ, न टेलिफिल्मले छुन्छ ! न साहित्यले छुन्छ ! यिनले केवल मान्छे जुधेको दृश्य अवलोकन गरेर मात्र स्वाद लिने गर्छन् ।

यस क्रममा यिनले केही मन मिलेर जोडी बनेका मान्छेहरूको छनौट गर्छन् । जब मान्छेको छनौट हुन्छ, यसपछि आफ्नो कला प्रस्तुत गर्न सुरु गर्छन् । यिनले सबैभन्दा पहिले जुधाउनु पर्नेहरूको भएभरको इतिहास पत्ता लगाउँछन् । घरबार, पढाइ, परिवार , रहनसहन , नातागोता ,खानपान, जन्ममिति सबै बुझेपछि एक अर्काका बीच कुरा लगाउन सुरु गर्छन् । सुरुसुरुमा यिनीहरूका कुरा कसैले नपत्याउन सक्छन् । त्यही कुरा लगातार सुनाइरहे पछि अब दुबै पक्षले नपत्याइ सुखै पाउँदैनन् । जब यी दुई पक्षबीच घमासान जुधाइ सुरुहुन्छ अनि उनीहरू जुधाउने सुत्रधार होइन, केही पनि थाहा नपाए झैँ सामान्य दर्शक जस्तो बनेर मजाले मनोरञ्जन लिन्छन् ।

गोरु जुधाएको बेला गोरु घाइते हुँदा केही फरक नपरे जस्तो दुई जना मान्छे जुधेर भएको क्षतिमा जुधाउनेलाई भने केही पनि फरक पर्दैन । अरुलाई नोक्सान भएपनि उनीहरू भने रमाउँदै मनोरञ्जन लिइरहेका हुन्छन् । जुग जमाना अनुसार आजभोलि मान्छे जुधाउन घर घरमा गएर कसैलाई उकास्नु पनि पर्दैन । फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम मार्फत गल लगाएर उचाले पुग्छ । मान्छे जुधाउने रइसहरू यसै प्रविधिको भरपुर उपयोग गरिरहेका हुन्छन् । सायद यो बानी तिनले हतपती त्याग्न सक्दैनन् । आखिर लागेको बानी न हो ! यसरी मनोरञ्जन लिने महान रइसहरू मेरो जस्तै तपाईँको वरिपरि र तपाइँको सङ्गतमा पनि प्रशस्तै हुनुपर्छ । यसो विचार गर्नुस् त ! राम्रोसँग ध्यान दिने हो भने यिनलाई केही लक्ष्यणको भरमा प्रष्टसँग चिन्न सकिन्छ ।

मैले मान्छे जुधाउन खप्पिस एकजना चिनजानका रइस मित्रलाई सोधेँ, “मान्छे जुधेको दृश्य त टेलिभिजनमा देखाइने रेस्लिङमा पनि देख्न पाइन्छ । त्यस्तै रेस्लिङ हेरेर मनोरञ्जन लिए मिल्दैन ? बेकारमा यसरी जुधाएर मन मिलेका जोडीहरू किन फुटाउने गर्नुहुन्छ ?”

उनले लाजै नमानीकन मुन्टो हल्लाउँदै भने, “होइन होइन त्यसरी टेलिभिजनमा हेरेर पटक्कै चित्त बुझ्दैन । अर्को कुरा यो त नसा जस्तै रहेछ । बानी लागेपछि पटक्कै छोड्न नसकिने । अनि रेस्लिङमा भाग लिनेहरू न आफ्ना नातेदार हुन्छन् न चिनजानको साथी हुन्छन् ! अनि के को रमाइलो लाग्नु ! असली मनोरञ्जन लिन त असाध्यै मन मिलेका साथी र नजिकका आफन्तहरूलाई जुधाउँदा पो हुन्छ । नपत्याए मैले जस्तै केही मन मिलेका जोडीलाई जुधाएर हेर्नुस् त !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x