परजीवी !
अब त परजीवी पोल्नलाई आगो बाल्नै पर्ने हो, अँ-हँ पटक्कै सक्दैनौँ, हामीले खुट्टा कमाएका छौँ । संघीयताको विस्तार संगै ह्जारौँ परजीवी थपेर, निर्वस्त्र भई रमाएका छौँ ॥
गायत्री परिरोशनी :
आजभोलि परजीवीको संख्या
ह्वात्तै बढेको छ ।
परजीवीहरु
विभिन्न जातका छन् ।
विभिन्न थरका छन्,
विभिन्न घरका छन् ।
परिवार चुस्ने परजीवी,
दल चुस्ने परजीवी
देश चुस्ने परजीवी
सबैको विशेषता
सेम माने उस्तै हुन्छ ॥
रगत चुसेर ढाडिएका
परजीवीहरुलाई,
भएभरको शक्ति प्रयोग गरी,
एकपटक बाहिर फाल्दैमा,
मख्ख पर्न पर्दै-पर्दैन ।
पेट भरि हुनेजेल,
दुई/चार दिन चुप्प लाग्छन् ।
अनि फेरि,
लाज, शर्म,डर,घिन केही नमानी
डहर र नालीको बाटो भएर
पिडौँलाकै रगत चुस्न आउँछन् ॥
परजीवीलाई पन्छाउन भन्दै
धेरै वाद फेरियो ।
काल फेरियो
तन्त्र फेरियो ॥
नीति र सिद्धान्त फेरियो,
अँ-हँ भएका र मिल्नेजति
सबै फेर्दा समेत,
परजीवी मासिएन ।
उसले त छेपारोले झैँ
रङ फेरेर बस्यो,
खुट्टाबाट छिरेको परजीवीले
टाउकोमा पुगेर रगत चुस्दा समेत
उसैलाई हामीले तथास्तु भन्दै छाँै ।
टाउकोमा परजीवी पालेर,
लोकतन्त्रको नारा घोक्दैछौँ ॥
अब त परजीवी पोल्नलाई
आगो बाल्नै पर्ने हो,
अँ-हँ पटक्कै सक्दैनौँ,
हामीले खुट्टा कमाएका छौँ ।
संघीयताको विस्तार संगै
ह्जारौँ परजीवी थपेर,
निर्वस्त्र भई रमाएका छौँ ॥
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest