मुन पौडेलजिब्रोको जिबुल्याइँ र अर्घेल्याईं
एउटा कुरा के निश्चित छ भने आजको युगमा त्यही जिब्रो गतिलो मानिन्छ, सफल मानिन्छ जुन स्वादे छ, चुपुर्के छ, फुर्के छ, कुरौटे छ, बतौरे छ, चोथाले छ, जिबुल्ले छ अर्घेलो छ ।

मुन पाैडेल :
मानिसको पाँच ज्ञानेन्द्रियमध्ये जिब्रो एउटा महत्त्वपूर्ण ज्ञानेन्द्रिय हो। मुझे ओडार, थुतुनो वा हाब्रोभित्र घरी दह्रो घरी लुलो हुने मासुको लेग्रोलाई जिब्राे भनिन्छ । जिब्रो मान्छेको भाग्य र दुर्भाग्य दुवै हो । मानिस यसै जिब्राेकाे स्वादका लागि, जिब्रोको भोकका लागि पशुमा परिणत हुन पनि तैयार रहन्छ । यही जिब्रोलाई संयमित र नियन्त्रित राख्न सक्ने योगी हुन पुग्छ भने यो मासुको चोक्टालाई लोभ, धुर्त्याइँ, फट्याइँको कारोबारमा लगाउनेहरू भाेगी हुन पुग्छन् । जिब्रो भोकको भण्डार हो, जिब्रो बोलीको संसार हो। जिब्राे अभिव्यक्तिको माध्यम हो, उचित-अनुचित, गलत-सही, झूट-सत्य सबै जिब्राे खेल हो । जिब्रोबाट अमृत वर्षा हुन सक्छ, जिब्रोबाट विषको झरी लाग्न सक्छ । जिब्रोले नै मान्छेलाई महान् बनाउँछ, जिब्रोले नै मान्छेलाई चोर,डाँका र फटाहा बनाउँछ । जिब्रोको लोभको कुनै सीमा छैन- खाने, घिच्ने र चाट्ने काममा पनि यो पापी छ । बोल्ने, बक्ने र कुरा गर्ने काममा पनि यो दरिद्र छ । जिब्रो प्रशंसा, गाली गर्न पनि खप्पिस हुन्छ, खुट्टातान गर्न पनि खप्पिस हुन्छ । छिनमा प्रिय रहेको मान्छेलाई छिनमै अछूत बनाउन सक्छ जिब्रोले । एक क्षणअघि आकाशमा तैरिरहेको मनुवालाई निमेष भरमा पाताल पुन्याउन सक्छ जिब्रोले ।
जिब्रोको महिमा अपरम्पार छ । मान्छेको त जम्माजम्मी एउटा जिब्रो हुन्छ, तर हजार जिब्रा भएका शेषनागलाई नै पनि जिब्रोको महिमा वर्णन गर्न लगाउने हो भने जिब्रोको महिमा वर्णन गर्न सकिँदैन । महात्मा गान्धीले एक पटक भन्नुभएको थियो कि भोको पेट भएको जिब्रोलाई राम राम भन भन्यो भने भन्दैन, रोटी रोटी भन्छ, भात भात भन्छ । जिब्रो जन्मजात भोको हुन्छ । यसको भोक दुई किसिमले हुन्छ- एउटा खानेकुराको भोक, अर्को बोल्ने कुराको भोक । यसलाई गलगिद्ध घिच्नु पनि पर्छ, पेट फुटुन्जेल चिच्च्याउनु पनि पर्छ, तर नखाई यो बक्दैन । टन्न नहसुरी यो गाउँदैन । अघाउन्जेल नखाई यसको इन्जिन स्टार्ट हुँदैन । शिशु जन्मिनेबित्तिकै पहिले चिच्च्याउँछ अनि आमाको दूध चुस्न थालिहाल्छ र त्यही क्षणदेखि शिशुको जिब्रो बोल्न, चलमलाउन थाल्छ, छटपटाउन थाल्छ ।
जिब्रो साहै जिबुल्लो हुन्छ । हुन त भोक लागेको बेलामा जिब्रोलाई जे पनि रुच्छ, जेले पनि पुग्छ, यसले जे पनि घिच्छ । जिब्रोको भोक मकैले पनि मर्छ, कोदोको रोटीले पनि मर्छ, ढिँडो र सिस्नोको भ्यातलले पनि मर्छ । तर जिब्रोको चित्त यतिले बुझ्दैन । भुँडी भरिसकेपछि यसको चाह बढ्न थाल्छ । यसले भुडी भर्ने होइन कि स्वादिलो चिजहरू खोज्न थाल्छ । मीठो, झन् मीठो र झन् झन् मीठोको खोजीमा जिब्रो लपलपाउन थाल्छ । मकैको रोटी छाडेर पिजा खोज्न थाल्छ, सिस्नोको झोल छोडेर कुखुराको सुप खोज्न थाल्छ । यसलाई आफ्नो क्षमताभन्दा बढीको कुरा चाट्न मन लाग्छ । त्यसका लागि यसले फट्कारेर मान्छेलाई फकाउन थाल्छ, लोभ्याउन थाल्छ । लोभले जिब्रो रसाउन थाल्छ । अनि मनुवा बिक्छ, अनि मनुवाले जिब्रोले तृष्णा मेटाउन नैतिकता त्याग्छ, इमानदारीलाई बेच्छ, सत्यलाई लिलाम गराउँछ र त्यसबाट आएको पैसाले जिब्रोको क्षुधा मेटाउन खोज्छ, तर मान्छेको दुर्भाग्य त्यहीँबाट सुरु हुन्छ किनकि जिब्रोलाई जति जति मीठो कुरा चटाउँदै गयो यसको क्षुधा, यसको तृष्णा झन् झन् बढ्दै जान्छ । यो झन् झन् विलासी र लोलुप हुँदै जान्छ । मान्छे त्यसको सँगसँगै झन् झन् भ्रष्ट र वाहियात हुँदै जान्छ। जिब्रोलाई तिक्खर चिज मन पर्दै जान्छ, जिब्रोलाई अमिलो, पिरो, गुलियो र चटपटे चिज मन पर्दै जान्छ, मान्छे उति नै लटपटे हुँदै जान्छ ।
आज जथाभाबी, मनलागी र अनर्गल बोल्नु जिब्रोको धर्म नै भइसकेको छ । आजको युगमा जुन जिब्रोले मतलबी कुरा गर्न सक्छ, जुन जिब्रोले स्वार्थी कुरा गर्न सक्छ, जुन जिब्रोले फट्याइँ गर्न सक्छ, धुर्त्याइँ गर्न सक्छ उही सिकन्दर । सही, शुद्ध र सत्य बोल्ने जिब्रोमा काई लागेको हुन्छ । त्यस्तो जिब्रोको कुनै पुट छैन । जिब्रोलाई छिनको छिनमा ओल्टाइपल्टाइ गर्न सक्ने, झुटलाई सत्य साबित गर्न सक्ने, यताको कुरा उता पुऱ्याउन सक्ने र हुँदैनभएको कुरालाई नुनचुक लाएर वयान गर्न सक्ने दुईजिब्रेकै जमाना छ यो । निमेषको भरमा लाज सरम केही नमानी जिब्रो पर्लक्क पल्टाउन सक्ने जिब्राहरूकै युग हो यो । हाम्रा महान् नेता र सांसदहरूको यस्तै बहुआयामी जिब्रो हुन्छ । जनतासँग आश्वासनको जिब्रो, ठूला नेताहरूसँग मन्त्री- आसनको जिब्रो, व्यापारी र उद्योगपतिहरूसँग रासनको जिब्रो, सोझा-सीधा कर्मचारीहरूसँग कडा प्रशासनको जिब्रो । जिब्रोहरूको सेट नै हुन्छ नेताहरूसँग, नुनचुकको बट्टा पनि साथै हुन्छ । कुन बेला कुन जिब्रो चाहिन्छ, झिक्यो र आवश्यकताअनुसार नुनचुक दलेर थुतुनोमा फिट गन्यो अनि मनलागी बक्न थाल्यो । कुनै उपदेश दिने जिब्रो हुन्छ, त्यस्तो जिब्रोलाई गङ्गाजलले धोएर फिट गर्छन् यिनीहरू । अन्यथा अरू सबै जिब्रोहरू औकात अनुसारको मोबिल अर्थात् जॉड, रक्सी, ताडी, महुवा, खोयाबिर्के, स्कचले लुब्रिकेटिङ भई नै राखेका हुन्छन् ।
हुन त जिब्रोको महत्त्व कहाँ कुन संसारमा हुँदैन र, तर नेपालमा भने यसको अति नै महत्त्व छ । हाम्रो देशमा एउटा ठूलो कारोबार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भीषण रूपमा व्याप्त छ र यो कारोबार वा खेतीमा जिब्रोकै प्रमुख भूमिका छ । यो खेतीको नाम हो कुराको, गफको, बातको खेती । आनको तान हाँक्यो, आकाशलाई पातालसँग जोड्यो, तिललाई पहाड बनायो, हावामहल खडा गन्यो र कुराको खेती धुनधानसँग गन्यो । गाउँ, शहर, अफिस, संसद् जताततै मात्र कुराको खेती, जिब्रोको अर्धेल्याइँ । हातलाई लुकायो, थन्क्यायो अनि चुक्ली, चाकरी र चापलुसीको गीत गायो । कोही शास्त्रीय पाराले गाउँछ, कोही लोकधुनमा, कोही राष्ट्रिय गीतले वीररसमा, कोही हाहाहुहुको पपरसमा । जो पनि जिब्रो मात्र खेलाइरहेको हुन्छ ।
जिब्रो साह्रै फुर्के हुन्छ । अलिकता सुमसुम्याइदिनोस्, अलिकता फकाइदिनोस्, अलिकता कुतकुत्याइदिनोस्, सरक्क फरिया खोल्दिन्छ । ठेगान हुँदैन यसको । कहाँनेर गएर यो चिप्लिन्छ, कुनै निश्चित हुँदैन । जिब्रोलाई ठेगानमा राख्न साहै गाह्रो हुन्छ । जसले पायो उसले सक्दैन । जिब्रोलाई नियन्त्रणमा राख्न सक्ने मान्छे योगी हुन्छ । बडो खतरनाक हुन्छ यो ।
साह्रै बाइफाले हुन्छ जिब्रो । अति उत्ताउलो । जति चोखो र पवित्र यसले बाेल्छ, त्यति नै अश्लील र बिटुलो पनि बोल्न सक्छ यो । भलाद्मी भनिनेहरू बाहिर त साह्रै पवित्र शब्दहरू बोलिरहेका हुन्छन्, तर यिनको जिब्रोको फोहरफाहर हेर्ने हो भने अन्धकारमा हेर्नुपर्छ । कतिपय जिब्रोले भ्रष्टाचारको अचार चाटिरहेका हुन्छन्, कतिपय जिब्रोले नैतिकता साटिरहेका हुन्छन्, कतिपय जिब्रोले अश्लीलतालाई मुसारिरहेका हुन्छन् । संसारको उच्चभन्दा उच्च र निम्नभन्दा निम्न शब्द जिब्रोले नै उच्चारण गरिरहेको हुन्छ ।
जिब्रो साहै चोथाले हुन्छ । यसलाई न कुनै डर हुन्छ न यसको कुनै भर हुन्छ । कहाँ के बोल्नुपर्छ यसले त्यतिसारो विचार गर्दैन । अगाडि पछाडि नसोचेर चोथल्याइँ गर्नु जिब्रोको प्रकृति नै हो। एक पटक फुस्किसकेको कुरो वाणजस्तै फिर्ता हुन नसक्ने बुझ्दाबुझ्दै पनि जिब्रो चिप्लिहाल्छ, तर यसको बदमासी हेर्नुस् कि चोथल्याइँ गरिसकेपछि पनि यो साखुल्ले भएर बस्न सक्छ । लाज भन्ने वस्तु जिब्रोसँग पटक्कै हुँदैन, तर यसलाई कहिलेकाहीँ फसाद पर्छ । बोल्दै नबोलेको वा अर्कै थोक भनेको कुराले पनि यसलाई पिरोल्छ । अपजसी हुन्छ यो । राम्रै बोले पनि हतपत जस पाउँदैन यसले । तर छट्टूहरूले भने यसको मजाले दुरुपयोग गर्छन् र यसलाई यसरी चलमलाउँछन् कि सरासर असत्य र अनर्गल बोल्दा पनि उल्टो नाम नै कमाइरहेका हुन्छन्, तर सोझा र भलाद्मीले सही कुरा बोल्दा पनि जिब्रोलाई अवगाल आइरहेको हुन्छ । त्यसैले यिनीहरू जिब्रोलाई चपाई-चपाई बोलिरहेका हुन्छन् ।
आफ्नो जिब्रोले के बोल्यो, के चाटियो त्यसतर्फ भने पटक्कै ध्यान नदिई अर्काको कुरामा अनाहक जिब्रो काड्नेहरू जताततै भेटिन्छन् । आफ्नो जिब्रो कति कुरौटे छ, कति बतौरे छ त्यसमाथि ध्यानै नदिई अर्कालाई खिल्ली उडाएर जिब्रो देखाउनेहरू भरमार छन् । आफ्नो जिब्रोचाहिँ चोखो र अरूको जिव्रोचाहिँ बिटुलो देख्नेहरू छताछुल्ल छन् । लिबलिबे र ल्यापल्यापे जिन्नो भएकाहरू सात घर चाट्दै र चुपुकिंदै हिँडे पनि जिब्रोकै बोलीको चमत्कारले आफ्नो पीठो चामलभन्दा महँगो भाउमा बेचिरहेका हुन्छन् ।
हरि-अनन्त हरि कथा अनन्ता भनेको जस्तो जिब्रोको कथा पनि अनन्त छ । संसारमा जति जना मान्छे छन् उति थरीका जिब्राहरू छन् । लोभी, पापी, छुच्चो, लुच्चो र ज्ञानी सबै प्रकारका जिब्राहरू होलान् । बुद्धको पनि जिब्रो, कालिदासको पनि जिब्रो, महाकवि देवकोटाको पनि जिब्रो र आजका ठूला सांसद र मन्त्रीको पनि जिब्रो । एउटा कुरा के निश्चित छ भने आजको युगमा त्यही जिब्रो गतिलो मानिन्छ, सफल मानिन्छ जुन स्वादे छ, चुपुर्के छ, फुर्के छ, कुरौटे छ, बतौरे छ, चोथाले छ, जिबुल्ले छ अर्घेलो छ । सरक्क परेको जिब्रो हुनु नहुनुमा केही अन्तर छैन ।
०००
जनकपुरधाम
गरिमा / २०५६ वैशाख
भुसुक्कै (२०८०)
Subscribe
Login
0 Comments
Oldest







































