उत्तम विचारयो लोकको तन्त्र हुँदै भएन !!
उस्तै छ अन्योल अभाव उस्तै छन् रिक्त पाना छ किताब उस्तै । सल्केन आगो सजिलै बलेन यो लोकको तन्त्र हुँदै भएन ।।

उत्तम विचार :
लुट्नेहरू छन् दिनरात लुट्दै
छुट्नेहरू छन् चुपचाप छुट्दै ।
घोप्टेछ बानी कहिल्यै गएन
यो लोकको तन्त्र हुँदै भएन ।।१।
अन्याय खप्दै जनता कहाँ छन्
खोज्दैन यो राज्य पुगोस् जहाँ छन् ।
नारा जप्यौँ मन्त्र हुँदै भएन
यो लोकको तन्त्र हुँदै भएन ।।२।
हुन् भ्रष्टाचारी अपराध गर्ने
सोझा भए चोर यहाँ ठहर्ने ।
के बाध्यता यो परिवन्द हैन
यो लोकको तन्त्र हुँदै भएन ।।३।
मासी पुरानो नववाद ल्यायौँ
भन्थ्यौँ नयाँ लेण्डुप देख्न पायौँ ।
मात्रै निराशा तर आस छैन
यो लोकको तन्त्र हुँदै भएन ।।४।
बाँडेर आश्वासन हुन्छ भोलि
भन्दै झुलाए बदलेर बोली ।
यस्तो अवस्था त हिजो थिएन
यो लोकको तन्त्र हुँदै भएन ।।५।
छन् दीन भोकै छ निहाल टन्न
जारी छँदा भेद भनोस् रहन्न ।
चल्दै छझैँ लाग्दछ जेनतेन
यो लोकको तन्त्र हुँदै भएन ।।६।
उस्तै छ अन्योल अभाव उस्तै
छन् रिक्त पाना छ किताब उस्तै ।
सल्केन आगो सजिलै बलेन
यो लोकको तन्त्र हुँदै भएन ।।७।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































