वसन्त सापकाेटायहाँ यस्तै कविता पढ्नुपर्छ
अब त "बाबू ! तिमी कुन पार्टीको ?” भनेर सोध्नुपर्छ ॥ दुई खुट्टा टेकेर त धेरै हिँडिसक्यौं अब चारै खुट्टा टेकेर हामीले हिँड्नुपर्छ किनकि यो पशुनेता हुने समाज हो यहाँ यस्तै रमिता गर्नुपर्छ ॥

वसन्त सापकाेटा :
यो भ्यागुतो टरटराउने मौसम हो-
यहाँ यस्तै कोलाहल हुनुपर्छ
यो लाटा-बुङ्गाहरूको समाज हो
यहाँ यस्तै भाषण गर्नुपर्छ
सिङ र पुच्छर नउम्रेका पशुहरूको अनुहार देखेर
यहाँ एकपल्ट ङिच्च हाँस्नुपर्छ
यो मूर्खेमूर्खले थिचेको समाज हो
त्यसैले यहाँ यस्तै कविता पढ्नुपर्छ ॥
चल्ने र चलाउने दुवैका यहाँ
दिमागका पुर्जा खुस्किसके
त्यसैले अब तिनका मानको खातिर
विशाल पागलखाना खोल्नुपर्छ
महँगी र भ्रष्टाचार देखेर तर्सने
पानीमरुवा, चुत्थो, नामर्द समाजलाई
ठाडै बोरामा हालेर
टुकुचामा फ्याँक्नुपर्छ ॥
पारदर्शक फेसनको विकृतिले गर्दा
नक्कली नानीहरू नाङ्गा भइसके
अब त सडकमा हिँड्दा पनि
हामीले आँखा चिम्लेर हिँड्नुपर्छ
कुखुरे बैंसले ल्याएको
बाला, चुरा र शिखण्डी फेसनले गर्दा
केटा र केटी छुट्टयाउन पनि अब त
डाक्टरकहाँ गएर माइक्रो एक्सरे गर्नुपर्छ ॥
जिन्दावाद र मुर्दावादको आवाजले
कानका जाली सबै फुटिसके
त्यसैले अब हामीले देशभर नै
साइलेन्सर जडान गर्नुपर्छ
भर्खर जन्मेको दुधेबालकलाई
काखमा राखेर खेलाउँदा पनि
अब त “बाबू ! तिमी
कुन पार्टीको ?” भनेर सोध्नुपर्छ ॥
दुई खुट्टा टेकेर त धेरै हिँडिसक्यौं
अब चारै खुट्टा टेकेर हामीले हिँड्नुपर्छ
किनकि यो पशुनेता हुने समाज हो
यहाँ यस्तै रमिता गर्नुपर्छ ॥
०००
नाङ्गाे नाक (२०६०)
Subscribe
Login
0 Comments
Oldest







































