धनराज गिरीदेशप्रेमी नेताजी– जिन्दावाद !
परिवारवाद कहाँ छैन ? निर्दोष मान्छेलाई दोष लगाउने ? उहाँ “देशप्रेमी” हो । उहाँको राष्ट्रिय अभिनन्दन हुनुपर्दछ । उहाँको नाममा म एउटा गजल लेख्नेछु । देशप्रेमी नेताजी–जिन्दावाद, जिन्दावाद, जिन्दावाद !

धनराज गिरी :
“उहाँ जस्तो देशप्रेमी नायकलाई टाटीटिक्न दिएनन् । यति सच्चा सिपाही लोकतन्त्रको, सारै सज्जन पनि ।” चिया गफमा जय नेपाल कोइराला बोले । उता लालसलाम नेपाल र सूर्यप्रसाद ओली धज्जी उडाउन कस्सिएर बसेका छन् । “हजुरका नायक, भेल्दर र चिलाउनेका रुख कसरी “देशप्रेमी” भए ? कति माया गरे देशलाई ? कस्तो परिभाषा हो देशको ?” प्रचण्डलालले बिस्फोट बोले ।
अलि अलि गर्दा गर्दै स्थिति अलि भयानक, चिन्ताजनक नै हुन लाग्यो । साथीहरु यति शालीन, सभ्य, भव्य र शिष्ट कि मुखलाई दुःख नदिएर हात र लातलाई रोजगारी दिने मूडमा पुगे । बातमा विश्वास गर्ने जमाना रहेन । जय नेपाल कोइरालाले सहेन । थप कुरा कहेन । “राष्ट्रिय मेलमिलापको नारा” सुम्निमा काकीसितै सती गइसकेको थियो । कुरुक्षेत्र हुन हुुन लागेको थियो, ठीक त्यतिखेर चिया दोकानमा आइपुगे “प्रोफेसर जगमोहन आजाद” उनी आएपछि हिटलरहरु बुद्ध हुन पुगे, किन कि तात्ने पुस्ताहरुको कान समात्ने उनै थिए ।
“साथीहरु, यो कार्तिक महिनामा पनि जेठको उष्ण प्रदर्शन गर्ने प्रयत्न किन गरेको हो ? कायाकैरन सुन्न पाइन्छ ?” नजीकै थियो गाउँको किसान सोझो, अति इमान्दार इमान नारायाण अवतारी, उसैले सबै कुरा सुनायो । त्यसपछि प्रोफेसर जगमोहन आजादले शान्त मुद्रामा भने, “साथीहरु कुनै जमानामा एकजना केन्द्रीय नेताले आफूलाई “गरीबको नेता” भने, जहाँ पनि उनलाई जनवादी, नजनायक, सर्वआहारा “गरिबको नेता” भनियो ।
नेताजीको छोरो विदेश पत्रकारिता पढ्न गएको थियो, आफ्नै बुताले, बाउको कुनै हात खुट्टा थिएन । छोरो धेरै इमान्दार थियो, आमाको कारणले । पंचायतकालमा बाउ पनि इमान्दार थियो, कुनै पदमा थिएन । कहिलेकाहिं श्रीकृष्ण भगवान् जन्मिएको मन्दिरमा लागिइन्थ्यो, मर्मत संभार गरेर पठाउँथे कंस मामाहरुले । आयो बहुदल, अगाडि लम्कियो, भाग्य चम्कियो । आर्थिक क्रान्ति गर्यो, देशले होइन, उसको शाखासन्तानले । नलाङको टाटनारायण छलाङ मारेर मनाङको महाजन हुनपुग्यो । ओटाङदेखि खोटाङसम्म नाम चल्यो ।
सुपुत्र आएपछि पिताश्रीको कारागारनामाबाट वर्तमान कारनामा सम्मको कथा थाहा पायो । यता “गरिबको नेता” भनेको छ, पिताश्रीले गरिबको लागि सिन्को पनि नभाँचेजस्तो लाग्यो । बरु पार्टीका प्रियदर्शीनी अबलाहरुलाई तबला बनाई सबला बनाउने उद्योगमा विद्यावारिधि गरेको समाचार थाहा पायो । नेताजीकै कारणले शहरमा धेरै पुरुषहरुले दोस्रो विवाह गर्ने सौभाग्य जुरेको कुरा पनि समाचारमा आयो । पिताश्रीको उत्तर आधुनिक लीला थाहा पाएपछि छोराले एकदिन “जि.सी. धमला” बनेर जन्मदाता माथि नै हमला गर्यो, “पिताश्री, हजुर कसरी गरीबको नेता ? हजुरको पहलमा कति दीनहीनको कल्याण भयो ? मलाई सत्यतथ्य कुराहरु बताउनुहोस् । झूट बोलेमा म बाउ भन्नेछैन ।
अन्याय गरेमा बाउलाई पनि छोडिन्न । भन्नुहोस्, हजुर कसरी गरीबको नेता ? चिटचिट पसिना काढे नेताजीले । वाकपटुता थियो । बोले, “छोरा, म सत्तामा पुग्नु अघि हाम्रो खानदानमा कोही थियो आत्मनिर्भर ? सबै मजदुर, दाउरे र लाहुरे होइनन् ? सबै हली होइनन् ? सबै गरीब थिएनन् ? तेरी आमाको दुई जोरसाडी थियो ? गहना थियो ? सबैको बन्दोबस्त भएन अहिले ? यही परिवर्तनको चमत्कार होइन ? खोले खान नपाउनेले नौतुना पुगेर “शोले” हेरेर आउन सक्नेभएका होइनन् ? आफ्ना ३६ र ससुराली र मावलीतिरका ७४ जनाको, ती गरीबहरुको कल्याण गरिएन ?
यति धेरै गरीबहरुको कल्याण गरेपछि म “गरिबको नेता” कहलिन योग्य छैन त ?” “अनि तमाम, आम सोझा जनताहरुको गरीबको उपचार कसले गर्छ त ?” छोरो झोक्कियो । “छोरा, भगवान् कृष्णले त कुरुक्षेत्र रोक्न सकेनन् । म जाबो एक निरीह मान्छे, सबैको ठेक्का लिने हो र मैले ? “आफ्नो भलाइको विचार आफैं गर्नू” भनेर त्यत्रा विद्धान्, फ्रेन्च दार्शनिक “भोल्तेयरले” भनेका होइनन् ? यी गरीब जनताहरुको भाग्यमा जे लेखेको छ त्यही हुन्छ ।
सबै धनी भएमा काम कसले गर्छ छोरा ? गरीबहरु जहाँ पनि छन् । विकसित मुलुकहरुमा पनि छन् । जोगी हुन राजनीति गरेको हो र ? “बाउको यस्ता कुरा सुनेपछि छोरो नेपालमा बसेन, बाउ नै त्यागिदियो । आमालाई लिएर उड्यो अमेरिका ।”
“हजुरले यो कथा सुनाएर के सावित गर्न खोज्नुभएको गुरुदेव ? हामीलाई अल्मल्याउन खोज्नुभएको ?” प्रचण्डलाल बिस्फोट अलि रातो भयो । “बबुवा, रीस र आक्रोशले आफूलाई नै सिध्याउने हो । दुईतिहाई गएन ? शान्त, शान्त, यो त मैले भूमिका मात्र बाँधेको हो । चुरो कुरो गर्नै छ । बबुवा, म शान्तिप्रेमी हो ? अथवा म साधना प्रेमी वा सिर्जनाप्रेमी हुँ ? ”
“सिर्जना नाम गरेकी पुतलीसित प्रेम भएको भए सिर्जनाप्रेमी पक्कै हो । कति कुरा घुमाउनुभएको सर, छिटो ।” सबैको ध्यान यतातिर । “आज हाम्रो प्रोफेसर साहेबलाई पनि गाह्रो पर्लाजस्तो छ ।” सत्यनारायाण चौधरी । “ह्या, कस्ता कस्ता हिसाबहरु मिलाएको जमानामा हाम्रो मामाले, यो जाबो, राजकुमारको फिल्मी डायलग मारेर चित्त बुझाउनुहुन्छ ।” गोपी बिंडारी । “छापामारहरु पनि कम होइनन् ।” वासु ढुंगाना । “अब सरले गुदी कुरा गर्नुहुन्छ ।” लोकराज भुसाल ।
बैकुण्ठनगरको चोकमा यतिखेर रमाइलै भएको छ । टोपी मिलाएर लगाए प्रोफेसर जगमोहन आजादले, गोजीबाट एउटा कागज निकाले, पढे, “देशप्रेमी नेताजीको नातेदारहरुको लिस्ट मैले गुगलमा पाएँ । चेलो जुगल चौधरीले उपलब्ध गरायो । लौ सुन बबुवा, पत्नीको नाम देशमाया देउडा, छोरा देशबहादुर देउडा, छोरी देशकुमारी देउडा, मामा देशराज के.सी., माइजु देशदेवी के.सी., ससुरा देशसम्शेर राणा, सासू देशराज्यलक्ष्मी राणा, कस्तो अचम्मको एकता संपूर्ण परिवारमा ! सबैको नाम “देश” बाटै ।
आफ्नो परिवारको माया कसलाई हुन्न ? एउटा समझदार मान्छेको लागि परिवार नै देश हो, यथार्थ, देश नै परिवार हो भन्नु आदर्श, आदर्श देखाउने दाँत मात्र हो । “देशप्रेमी” हुनलाई यो भन्दा बढी प्रमाण के चाहिन्छ । म कविताप्रेमी, म अनिताप्रेमी, म सीताप्रेमी, म उत्तमप्रेमी, भवानीप्रेमी, आरजूप्रेमी, बाबुरामप्रेमी, शारदाप्रेमी, दुर्गाप्रेमी, आरजूप्रेमी, बाबुरामप्रेमी, शारदाप्रेमी, दुर्गाप्रेमी, लक्ष्मीप्रेमी, विन्दुप्रेमी, हो म संपूर्ण नातेदारहरुको प्रेमी, हाम्रा विवेकी र हरेक काल स्त्रीदर्शी नेताजीले पनि आफ्ना नातेदारहरु सबैलाई माया गर्नुभयो । परिवारवाद कहाँ छैन ? निर्दोष मान्छेलाई दोष लगाउने ? उहाँ “देशप्रेमी” हो । उहाँको राष्ट्रिय अभिनन्दन हुनुपर्दछ । उहाँको नाममा म एउटा गजल लेख्नेछु । देशप्रेमी नेताजी–जिन्दावाद, जिन्दावाद, जिन्दावाद ! जय नेपाल ।” छापामारहरु टाप कसे । देशप्रेमी हुने हो ? आइडिया इन्टरनेट !
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































