साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भगवानले पनि खुट्टा तान्छन् ?

जब चीन तथा पाकिस्तानसित युद्ध हुन्छ तब अन्नआन्दोलनहरू हुँदैनन् । भोकको दुखाइ दबेको हुन्छ । हरेक देशको कुनै न कुनै ठुलो दुखाइ त हुन्छ नै जसले साना दुखाइलाई थिचेर राखेको हुन्छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

यसपालि भने साँच्चिकै सबै कुरो बसीबसी नै भइरहेछ । बसीबसी रेक्सादुर्घटनामा फँसियो, बसीबसी खुट्टा भाँचियो अनि अब बसीबसी यो लेखिँदै छ ।

घाइते भएको खुट्टालाई मलमले लिप्छु अनि सेक्छु । तनको हाल यस्तै छ । अनि मनको ? केही मानिसहरूलाई दुख्दा मनमा केही राम्रा कुरा आउँछन् । उनीहरूका खुट्टा भाँचिदिनुस् अनि राम्रा कुरा आउन थाल्छन् । घाँटी थिचिदिने हो भने त झन् उच्च विचारहरू आउँछन् । मलाई भने यस्तो हुँदैन । दुखाइमा पनि उस्तै नराम्रा कुराहरू मात्र आउँछन् । कुनै राम्रा कुरा आउँदैनन् । जब खुट्टा टन्किन थाल्छ अनि राम्रा कुराहरू त्यसै दबेर जान्छन् । म के देख्दै छु भने सबै राम्रा कुराहरू कुनै पनि टन्काइमा दबेका हुन्छन् । यस देशको सम्पूणर् शरीरमा आन्तरिक चोट छ, ती चोटहरू टन्किन्छन् अनि राम्रा कुराहरूलाई दबाइदिन्छन् । करमिनाहाको राम्रो कुरो त उठ्छ तर त्यसै बेला दुईचार ठाउँमा दङ्गाफसाद हुन्छ । यो पुरानो चोट हो जुन बेलाबेलामा टन्किन्छ ।

तर मैले कुरो त आफ्नो चोटको पो गर्नु छ त । पहिलो प्रश्न यो दुर्घटना कहाँ भयो भन्ने नै हुन्छ तर मलाई भने त्यो भन्न पनि लाज लाग्छ । ठिक चर्चका अगाडि रेक्सा पल्ट्यो । मेरो उद्देश्य देवस्थानलाई बदनाम गर्नु होइन । चर्चले कहिलेकाहीँ आफ्नो स्वाद फेर्नका लागि पनि यस्तो गर्ने गर्दछ । ओ. हेनरीको कथाको एउटा पात्र आवारा मान्छे चिसो र भोकबाट जोगिन जेल जान चाहन्छ । ऊ किसिम किसिमका उपद्रोहरू गर्दछ तर पनि गिरफ्तार हुँदैन । ऊ चर्चको गेटमा आउँछ । त्यहाँ प्रार्थना भइरहेको हुन्छ । उसको हृदयपरिवर्तन हुन्छ अनि उसले असल मान्छे बन्ने निणर्य लिन्छ । यसै बेला प्रहरीको मान्छे आउँछ र उसलाई गुन्ड्याइँ गरेको भनेर गिरफ्तार गर्छ ।

मेरो यस दुर्घटनामा भने चर्चको दोष नभएर मेरो प्रकृतिको दोष हो । मेरा तीनवटा दुर्घटनाहरू भइसकेका छन् अनि तीनैवटा देवस्थलका अगाडि भएका छन् । साधारण ठाउँमा त मेरो दुर्घटना हुँदै हुन्न भने म के गरूँ ? पहिलो दुर्घटना राममन्दिरका अगाडि भयो । एकजना डाक्टर मित्रको स्कुटरबाट खसेको थिएँ । डाक्टरले पछारेका थिए, त्यसैले चोट लागेन । दोस्रो पटक भैंसासुर बाबाको मढिया (झुप्रो)का अगाडि लडेको थिएँ । त्यति बेला अनुहारमा चोट लागेको थियो । असुरहरू मेरो अनुहारमाथि घृणा गर्छन् । अनि तेस्रो पटक यो चर्चका अगाडि जब भगवानको ध्यान मेरा खुट्टातिर परेको थियो । अब त मलाई के लाग्छ भने यी सबै मन्दिर मस्जिदहरू मेरा हातखुट्टा भाँच्नकै लागि बनेका हुन् ।

एकजना शुभचिन्तक भन्दै थिए, ‘अझै थुप्रै देवस्थानहरू बाँकी नै छन् । यदि हरेक देवस्थानका अगाडि तिमीले पछारिनु नै पर्ने हो भने एक दिन जानीजानी सहकारी बैंकनजिकैको चौबाटामा पछापरिनू जहाँ आमुन्नेसामुन्ने चारवटा देवस्थलहरू छन् – गुरुद्वारा, मस्जिद, शिवमन्दिर अनि देवीमन्दिर । एकैपटक पछारिँदा चारवटा देवस्थलको कोटा पुरा हुन्छ ।

अचेल भगवानले पनि खुट्टा तान्न थालेका छन् भन्ने मलाई के थाहा ? थाहा हुँदो हो त उनको घरअगाडिबाटै निस्किन्नथें । मित्रहरू यसलाई कुनै आकस्मिक घटना मान्दैनन् । ‘यसमा भगवानकै कुनै योजना छ अनि तिमी भन्छौ भगवान छँदै छैन । उनले तिमीलाई के देखाइदिएका छन् भने कम्तीमा तिम्रो खुट्टा भाँच्न सक्ने अस्तित्वमा त म छु नै ।’ मेरो सोचाइ थियो, भगवानले त पाँचवटी छोरीपछि एउटा छोरो दिएर आफू हुनुको प्रमाण दिइरहन्छ । तर उसले खुट्टा भाँचेर पनि आफू भएको कुरो सिद्ध गर्न थालेको हो ?

चर्चमा ठुल्ठुला अक्षरमा लेखिएको छ – ‘एसेम्बली अफ गड !’ सके त्यति बेला भगवानको संसदको अधिवेशन चलेको हुँदो हो ! संसदले सोच्यो होला, यस मनुवाले भगवानप्रति मात्र नभई संसदीय लोकतन्त्रमाथिको विश्वास पनि छोड्दै छ । अतः ईश्वरीय संसदले यस मान्छेको रेक्सा यहीँ पल्टाइदिने र खुट्टा भाँचिदिने भन्ने निणर्य गरेको हुनुपर्छ ।

अर्को प्रश्न सोधिन्छ – ‘कसरी ?’ उत्तर दिन्छु, ‘रेक्सा तीव्रताका साथमा गुडिरहेको थियो । दुईवटा साइकललाई बचाउने कोसिसमा एउटासित ठोकिन पुग्यो अनि पल्ट्यो । अनावश्यक शीघ्रताले गर्दा यस्तो भयो ।’ खै कुन्नि मानिसहरू विनाकारण खतरनाक तीव्र गतिलाई किन मन पराउँछन् ? एउटा युवक खुब तीव्र गतिमा स्कुटर चलाउँछ र डरलाग्दो ‘कट’ लगाउँछ । मैले विस्तारै र सावधानीपूर्वक चलाउन भनेर सम्झाएँ । यदि तिमीलाई मर्नै मन लागेको छ भने मलाई भन । मैले कुनै ठुलै उद्देश्य बताइदिउँला र तिमी त्यसैका निम्ति मर्नू । अहिले भने आपूmलाई बचाएर राख । हुनसक्छ पछि कुनै राम्रो कामका निम्ति मर्ने अवसर प्राप्त होस् ! जाबो स्कुटरबाट पल्टेर र सर्पले टोकेर मर्नुको के मज्जा ! कैयौं मानिसहरूलाई मर्नुपर्ने अर्कै कारणले थियो तर मर्नुपर्‍यो अर्कै कारणले । कुनै क्रान्तिकारी आन्दोलनमा मर्नुपर्ने थियो तर यसै बिचमा उसकी प्रेमिकाले धोका दिई र उसले नदीमा डुबेर मृत्युवरण गर्‍यो ।

धेरै मान्छेलाई त बहादुरी र मूर्खताको अन्तर नै थाहा छैन । उनीहरू बहादुरी गरेको ठान्छन् तर हुन्छ त्यो मूर्खता । साहसका यी किस्सा त पढेकै हुनुपर्छ जसमा साहसीले भन्छ – ‘वर्षाको उर्लँदो नदीले बोलाइरहेको थियो ।’ हजुर, उर्लँदो नदीले बोलाउने त मूर्खलाई नै त हो नि !

तेस्रो प्रश्न सोधिन्छ – ‘कहिले ?’ म भन्छु, ‘दिउँसो चार बजे ।’ यसबाट केही त निराश नै हुन्छन् । दिउँसोको दुर्घनामा कुनै पनि सम्भावना हुँदैन रे ! रातको दुर्घटनामा थुप्रै सुखद सम्भावनाहरू हुन्छन् रे ! एकजना विशिष्ट प्रकारका शुभचिन्तक त यसो भन्छन् – ‘हँ…..! रातिको कुरो हो ? यति रातिमा यी सज्जन कहाँ गएका वा जाँदै थिए ? उता किन गएका थिए ? बाबु, मलाई त यो रेक्साको कुरो झुट्टा हो जस्तो लाग्छ । कुरो अर्कै नै छ ।’ तर कुरो दिनको हो अनि धेरै मानिसहरू निराश भएका छन् । यदि साक्षीहरू पाका हुँदैनथे भने त यिनीहरूको खुसीका लागि म नै भनिदिन्थें यो रातिको घटना हो भनेर । तर बाध्य छु । मलाई रातिमा नलडेकामा दुःखमनाउ छ । आइन्दा विचार गर्नेछु र रातमै दुर्घटनाग्रस्त हुने प्रयास गर्नेछु ।

पहिला दुई दिन त मैले घटनाको जेजस्तो वणर्न गरें त्यो निकै राम्रो थियो । निकै प्रभावोत्पादक थियो । रेक्सा पल्टिनु पनि रेलगाडी पल्टिनुजस्तै लाग्थ्यो । तर अब भने दुखाइसँगै वणर्नको रस पनि घट्दै गइरहेको छ । पहिला दुई दिनमा जसजसले सुनेर गए ती निकै फाइदामा रहे । तर केही त दुष्ट पनि हुन्छन् । एकजना मित्र त छैटौं दिनमा मात्र हेर्न आए । उनले भने, ‘त्यसो त मैले सबै कुरो अरूबाटै थाहा पाइसकेको छु । तर तपाईंले पनि भन्न चाहनुहुन्छ भने भन्न सक्नुहुन्छ । अब त वर्णन  पनि गोडा पाँचेक वाक्यमा सकिन्छ होला । त्यसैले भनिदिनुस् ।’

तर एकजना साँचा मित्रले एक दिन साँझ निकै गम्भीरतापूर्वक भने, ‘अखबारवालाहरूसित तिम्रो ठुलै मित्रता छ । तिमीले यो समाचार अखबारमा किन छपाएनौ ? राम्रो हुन्थ्यो ।’ मैले भनें, ‘मेरो मनमा पनि लोभ त आएको थियो तर चिया र पानको खर्चका कारण इच्छालाई मार्नुपर्‍यो । यति चोट खाएर पनि अखबारमा छपाउन नसकेकोमा मलाई नै लाज लागिरहेको छ ।’

दुखाइको प्रकृति पनि निकै विचित्रको हुन्छ । खुट्टा र साँप्रामा सबैभन्दा बढी चोट लागेको थियो । यी दुबै ठाउँमा निकै दुखेको थियो । यही त हो दुखाइ भनेको । तर यी दुखाइ अब घट्दै गएपछि कुहिनामा र घुँडामा पनि दुखाइ छ भन्ने थाहा हुँदै छ । ठुलो दुखाइले सानो दुखाइलाई दबाइदिँदो रहेछ । जब त्यो कम हुन्छ अनि साना दुखाइहरू जाग्दा रहेछन् । जब चीन तथा पाकिस्तानसित युद्ध हुन्छ तब अन्नआन्दोलनहरू हुँदैनन् । भोकको दुखाइ दबेको हुन्छ । हरेक देशको कुनै न कुनै ठुलो दुखाइ त हुन्छ नै जसले साना दुखाइलाई थिचेर राखेको हुन्छ । कुनै देशहरूले त एकदुईवटा ठुला दुखाइलाई पालेरै राखेका हुन्छन् । अमेरिकाले साम्यवादको समस्यालाई पालेको छ र त निग्रो समस्या, बेरोजगारी समस्या र फोहर बस्तीको समस्याका दुखाइहरू दबेका दब्यै हुन्छन् । तर साना दुखाइहरू पनि होसियार भएका छन् । बिच बिचमा एकदुईवटा पछार दिइहाल्छन् ।

०००
परसाई रचनावली भाग ३,बाट  ‘क्या भगवान भी टाँग खीँचते हैं ?’ को नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x