हरिशंकर परसाईंके भगवानले पनि खुट्टा तान्छन् ?
जब चीन तथा पाकिस्तानसित युद्ध हुन्छ तब अन्नआन्दोलनहरू हुँदैनन् । भोकको दुखाइ दबेको हुन्छ । हरेक देशको कुनै न कुनै ठुलो दुखाइ त हुन्छ नै जसले साना दुखाइलाई थिचेर राखेको हुन्छ ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
यसपालि भने साँच्चिकै सबै कुरो बसीबसी नै भइरहेछ । बसीबसी रेक्सादुर्घटनामा फँसियो, बसीबसी खुट्टा भाँचियो अनि अब बसीबसी यो लेखिँदै छ ।
घाइते भएको खुट्टालाई मलमले लिप्छु अनि सेक्छु । तनको हाल यस्तै छ । अनि मनको ? केही मानिसहरूलाई दुख्दा मनमा केही राम्रा कुरा आउँछन् । उनीहरूका खुट्टा भाँचिदिनुस् अनि राम्रा कुरा आउन थाल्छन् । घाँटी थिचिदिने हो भने त झन् उच्च विचारहरू आउँछन् । मलाई भने यस्तो हुँदैन । दुखाइमा पनि उस्तै नराम्रा कुराहरू मात्र आउँछन् । कुनै राम्रा कुरा आउँदैनन् । जब खुट्टा टन्किन थाल्छ अनि राम्रा कुराहरू त्यसै दबेर जान्छन् । म के देख्दै छु भने सबै राम्रा कुराहरू कुनै पनि टन्काइमा दबेका हुन्छन् । यस देशको सम्पूणर् शरीरमा आन्तरिक चोट छ, ती चोटहरू टन्किन्छन् अनि राम्रा कुराहरूलाई दबाइदिन्छन् । करमिनाहाको राम्रो कुरो त उठ्छ तर त्यसै बेला दुईचार ठाउँमा दङ्गाफसाद हुन्छ । यो पुरानो चोट हो जुन बेलाबेलामा टन्किन्छ ।
तर मैले कुरो त आफ्नो चोटको पो गर्नु छ त । पहिलो प्रश्न यो दुर्घटना कहाँ भयो भन्ने नै हुन्छ तर मलाई भने त्यो भन्न पनि लाज लाग्छ । ठिक चर्चका अगाडि रेक्सा पल्ट्यो । मेरो उद्देश्य देवस्थानलाई बदनाम गर्नु होइन । चर्चले कहिलेकाहीँ आफ्नो स्वाद फेर्नका लागि पनि यस्तो गर्ने गर्दछ । ओ. हेनरीको कथाको एउटा पात्र आवारा मान्छे चिसो र भोकबाट जोगिन जेल जान चाहन्छ । ऊ किसिम किसिमका उपद्रोहरू गर्दछ तर पनि गिरफ्तार हुँदैन । ऊ चर्चको गेटमा आउँछ । त्यहाँ प्रार्थना भइरहेको हुन्छ । उसको हृदयपरिवर्तन हुन्छ अनि उसले असल मान्छे बन्ने निणर्य लिन्छ । यसै बेला प्रहरीको मान्छे आउँछ र उसलाई गुन्ड्याइँ गरेको भनेर गिरफ्तार गर्छ ।
मेरो यस दुर्घटनामा भने चर्चको दोष नभएर मेरो प्रकृतिको दोष हो । मेरा तीनवटा दुर्घटनाहरू भइसकेका छन् अनि तीनैवटा देवस्थलका अगाडि भएका छन् । साधारण ठाउँमा त मेरो दुर्घटना हुँदै हुन्न भने म के गरूँ ? पहिलो दुर्घटना राममन्दिरका अगाडि भयो । एकजना डाक्टर मित्रको स्कुटरबाट खसेको थिएँ । डाक्टरले पछारेका थिए, त्यसैले चोट लागेन । दोस्रो पटक भैंसासुर बाबाको मढिया (झुप्रो)का अगाडि लडेको थिएँ । त्यति बेला अनुहारमा चोट लागेको थियो । असुरहरू मेरो अनुहारमाथि घृणा गर्छन् । अनि तेस्रो पटक यो चर्चका अगाडि जब भगवानको ध्यान मेरा खुट्टातिर परेको थियो । अब त मलाई के लाग्छ भने यी सबै मन्दिर मस्जिदहरू मेरा हातखुट्टा भाँच्नकै लागि बनेका हुन् ।
एकजना शुभचिन्तक भन्दै थिए, ‘अझै थुप्रै देवस्थानहरू बाँकी नै छन् । यदि हरेक देवस्थानका अगाडि तिमीले पछारिनु नै पर्ने हो भने एक दिन जानीजानी सहकारी बैंकनजिकैको चौबाटामा पछापरिनू जहाँ आमुन्नेसामुन्ने चारवटा देवस्थलहरू छन् – गुरुद्वारा, मस्जिद, शिवमन्दिर अनि देवीमन्दिर । एकैपटक पछारिँदा चारवटा देवस्थलको कोटा पुरा हुन्छ ।
अचेल भगवानले पनि खुट्टा तान्न थालेका छन् भन्ने मलाई के थाहा ? थाहा हुँदो हो त उनको घरअगाडिबाटै निस्किन्नथें । मित्रहरू यसलाई कुनै आकस्मिक घटना मान्दैनन् । ‘यसमा भगवानकै कुनै योजना छ अनि तिमी भन्छौ भगवान छँदै छैन । उनले तिमीलाई के देखाइदिएका छन् भने कम्तीमा तिम्रो खुट्टा भाँच्न सक्ने अस्तित्वमा त म छु नै ।’ मेरो सोचाइ थियो, भगवानले त पाँचवटी छोरीपछि एउटा छोरो दिएर आफू हुनुको प्रमाण दिइरहन्छ । तर उसले खुट्टा भाँचेर पनि आफू भएको कुरो सिद्ध गर्न थालेको हो ?
चर्चमा ठुल्ठुला अक्षरमा लेखिएको छ – ‘एसेम्बली अफ गड !’ सके त्यति बेला भगवानको संसदको अधिवेशन चलेको हुँदो हो ! संसदले सोच्यो होला, यस मनुवाले भगवानप्रति मात्र नभई संसदीय लोकतन्त्रमाथिको विश्वास पनि छोड्दै छ । अतः ईश्वरीय संसदले यस मान्छेको रेक्सा यहीँ पल्टाइदिने र खुट्टा भाँचिदिने भन्ने निणर्य गरेको हुनुपर्छ ।
अर्को प्रश्न सोधिन्छ – ‘कसरी ?’ उत्तर दिन्छु, ‘रेक्सा तीव्रताका साथमा गुडिरहेको थियो । दुईवटा साइकललाई बचाउने कोसिसमा एउटासित ठोकिन पुग्यो अनि पल्ट्यो । अनावश्यक शीघ्रताले गर्दा यस्तो भयो ।’ खै कुन्नि मानिसहरू विनाकारण खतरनाक तीव्र गतिलाई किन मन पराउँछन् ? एउटा युवक खुब तीव्र गतिमा स्कुटर चलाउँछ र डरलाग्दो ‘कट’ लगाउँछ । मैले विस्तारै र सावधानीपूर्वक चलाउन भनेर सम्झाएँ । यदि तिमीलाई मर्नै मन लागेको छ भने मलाई भन । मैले कुनै ठुलै उद्देश्य बताइदिउँला र तिमी त्यसैका निम्ति मर्नू । अहिले भने आपूmलाई बचाएर राख । हुनसक्छ पछि कुनै राम्रो कामका निम्ति मर्ने अवसर प्राप्त होस् ! जाबो स्कुटरबाट पल्टेर र सर्पले टोकेर मर्नुको के मज्जा ! कैयौं मानिसहरूलाई मर्नुपर्ने अर्कै कारणले थियो तर मर्नुपर्यो अर्कै कारणले । कुनै क्रान्तिकारी आन्दोलनमा मर्नुपर्ने थियो तर यसै बिचमा उसकी प्रेमिकाले धोका दिई र उसले नदीमा डुबेर मृत्युवरण गर्यो ।
धेरै मान्छेलाई त बहादुरी र मूर्खताको अन्तर नै थाहा छैन । उनीहरू बहादुरी गरेको ठान्छन् तर हुन्छ त्यो मूर्खता । साहसका यी किस्सा त पढेकै हुनुपर्छ जसमा साहसीले भन्छ – ‘वर्षाको उर्लँदो नदीले बोलाइरहेको थियो ।’ हजुर, उर्लँदो नदीले बोलाउने त मूर्खलाई नै त हो नि !
तेस्रो प्रश्न सोधिन्छ – ‘कहिले ?’ म भन्छु, ‘दिउँसो चार बजे ।’ यसबाट केही त निराश नै हुन्छन् । दिउँसोको दुर्घनामा कुनै पनि सम्भावना हुँदैन रे ! रातको दुर्घटनामा थुप्रै सुखद सम्भावनाहरू हुन्छन् रे ! एकजना विशिष्ट प्रकारका शुभचिन्तक त यसो भन्छन् – ‘हँ…..! रातिको कुरो हो ? यति रातिमा यी सज्जन कहाँ गएका वा जाँदै थिए ? उता किन गएका थिए ? बाबु, मलाई त यो रेक्साको कुरो झुट्टा हो जस्तो लाग्छ । कुरो अर्कै नै छ ।’ तर कुरो दिनको हो अनि धेरै मानिसहरू निराश भएका छन् । यदि साक्षीहरू पाका हुँदैनथे भने त यिनीहरूको खुसीका लागि म नै भनिदिन्थें यो रातिको घटना हो भनेर । तर बाध्य छु । मलाई रातिमा नलडेकामा दुःखमनाउ छ । आइन्दा विचार गर्नेछु र रातमै दुर्घटनाग्रस्त हुने प्रयास गर्नेछु ।
पहिला दुई दिन त मैले घटनाको जेजस्तो वणर्न गरें त्यो निकै राम्रो थियो । निकै प्रभावोत्पादक थियो । रेक्सा पल्टिनु पनि रेलगाडी पल्टिनुजस्तै लाग्थ्यो । तर अब भने दुखाइसँगै वणर्नको रस पनि घट्दै गइरहेको छ । पहिला दुई दिनमा जसजसले सुनेर गए ती निकै फाइदामा रहे । तर केही त दुष्ट पनि हुन्छन् । एकजना मित्र त छैटौं दिनमा मात्र हेर्न आए । उनले भने, ‘त्यसो त मैले सबै कुरो अरूबाटै थाहा पाइसकेको छु । तर तपाईंले पनि भन्न चाहनुहुन्छ भने भन्न सक्नुहुन्छ । अब त वर्णन पनि गोडा पाँचेक वाक्यमा सकिन्छ होला । त्यसैले भनिदिनुस् ।’
तर एकजना साँचा मित्रले एक दिन साँझ निकै गम्भीरतापूर्वक भने, ‘अखबारवालाहरूसित तिम्रो ठुलै मित्रता छ । तिमीले यो समाचार अखबारमा किन छपाएनौ ? राम्रो हुन्थ्यो ।’ मैले भनें, ‘मेरो मनमा पनि लोभ त आएको थियो तर चिया र पानको खर्चका कारण इच्छालाई मार्नुपर्यो । यति चोट खाएर पनि अखबारमा छपाउन नसकेकोमा मलाई नै लाज लागिरहेको छ ।’
दुखाइको प्रकृति पनि निकै विचित्रको हुन्छ । खुट्टा र साँप्रामा सबैभन्दा बढी चोट लागेको थियो । यी दुबै ठाउँमा निकै दुखेको थियो । यही त हो दुखाइ भनेको । तर यी दुखाइ अब घट्दै गएपछि कुहिनामा र घुँडामा पनि दुखाइ छ भन्ने थाहा हुँदै छ । ठुलो दुखाइले सानो दुखाइलाई दबाइदिँदो रहेछ । जब त्यो कम हुन्छ अनि साना दुखाइहरू जाग्दा रहेछन् । जब चीन तथा पाकिस्तानसित युद्ध हुन्छ तब अन्नआन्दोलनहरू हुँदैनन् । भोकको दुखाइ दबेको हुन्छ । हरेक देशको कुनै न कुनै ठुलो दुखाइ त हुन्छ नै जसले साना दुखाइलाई थिचेर राखेको हुन्छ । कुनै देशहरूले त एकदुईवटा ठुला दुखाइलाई पालेरै राखेका हुन्छन् । अमेरिकाले साम्यवादको समस्यालाई पालेको छ र त निग्रो समस्या, बेरोजगारी समस्या र फोहर बस्तीको समस्याका दुखाइहरू दबेका दब्यै हुन्छन् । तर साना दुखाइहरू पनि होसियार भएका छन् । बिच बिचमा एकदुईवटा पछार दिइहाल्छन् ।
०००
परसाई रचनावली भाग ३,बाट ‘क्या भगवान भी टाँग खीँचते हैं ?’ को नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest






































