
फूल सुटुक्क बिलाउँदै छ
एउटा कुनामा अनायासै फुलेको थुङ्गा थाम्न नसकेर ऋतुको प्रहार ओइलाउँदै छ शिशिरको प्रपातले इच्छाए जति सुवास छर्न नपाउँदै झमक्क मुर्झाउँदै छ

डा.नमस्या बसेल :
सायद अस्ताउँदैछन् सूर्यहरू
हराउँदैछन् ज्योति दिनहरूका
उब्लिदैँछन् चहक रङहरूका
बल्दै गरेको दियोको तेल सकिएझैँ
सकिँदै छ ऊर्जा सुस्तरी
कसैले पत्तो नपाउने गरी
जरा सुकेको रुखको जस्तै
उजाडिँदैछ जीवन शनै: शनै :
ठूला सपना बोकेर आकासिएको बाफ
अकस्मात् चिसिएझैँ, गह्रुङ्गिएझैँ
थाम्न नसकेर आफ्नै बोझ
तप तप चुहिएझैँ भएको छ नियति
बाफको पीडाले गडगडाउँदैछ आकाश
रुँदै छ एकान्तमा धुरुधुरु
बग्दैछन् आँसुका भेलहरू
एउटा कुनामा अनायासै फुलेको थुङ्गा
थाम्न नसकेर ऋतुको प्रहार
ओइलाउँदै छ शिशिरको प्रपातले
इच्छाए जति सुवास छर्न नपाउँदै
झमक्क मुर्झाउँदै छ
सुटुक्क बिलाउँदैछ ।
०००
अर्घाखाँची
Subscribe
Login
0 Comments
Oldest