राजेन्द्रप्रसाद अधिकारीखै ! के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?
मानिसहरु फ्याउरोदेखि होशियार रहनु पर्ने हुन्छ धूर्त ब्वाँसा र हुँडारहरुबाट बच्न पहिला फ्याउराहरुबाट बच्नु पर्ने हुन्छ खै! के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?

राजेन्द्रप्रसाद अधिकारी :
जब बौरिन्छन् ठूला कालगतिबाट धूर्त ब्वाँसा र हुँडारहरु
भोकाएका हुन्छन् र शिकारकै सपना देखिरहेका हुन्छन्
त्यसैले रगत कटकटिएका पञ्जाहरुले
निम्छराहरुलाई झम्टन्छन्‚ चिथोर्छन्‚ कोपर्छन्
अनि भ्याएसम्म खूनी दाह्राहरु धस्छन्
र फेरि मक्किएका दाँतहरुले चपाउने कोसिस गर्छन्
निम्छराका हाड‚ छाला र मासुहरु।
पशु स्वभावभित्र विवेक ?
पशु स्वभावभित्र चेतना ?
पशु स्वभावभित्र पश्चाताप‚ ग्लानी र क्षमायाचना ?
उफ्… ब्वाँसा र हुँडारहरुमा दया‚ माया र करुणा ?
के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?
अर्कोतिर ब्वाँसो र हुँडारका खुट्टामा
लतपतिएका आलो रगत चाट्दै
तिनीहरुले खाएर छोडेका जुठा पुरा मासुहरु खाँदै
हुर्किएका फ्याउराहरु‚ मानिसका लागि
भरपर्दो कसरी हुन सक्छ र ?
के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?
ब्वाँसो र हुँडारभन्दा पहिला तीनै फ्याउराहरु
मानिसका बच्चाहरुमाथि जाई लाग्नेह गर्छन्
अनि ब्वाँसो र हुँडारको रक्षार्थ
तिनै निर्लज्ज फ्याउराहरु
बढि आक्रमक हुने गर्छन्
र तीनै फ्याउराहरु
खुशीले नाचे पनि‚ तर्सिएर भागे पनि
मानिस माथि नै जाइ लाग्नेन गर्छन्‚ त्यसैले
जब बौरिन्छन् ठूला कालगतिबाट धूर्त ब्वाँसा र हुँडारहरु
मानिसहरु फ्याउरोदेखि होशियार रहनु पर्ने हुन्छ
धूर्त ब्वाँसा र हुँडारहरुबाट बच्न
पहिला फ्याउराहरुबाट बच्नु पर्ने हुन्छ
खै! के कुरा गर्छन् अझै‚ बस्तीका सोझा मानिसहरु ?
०००
३ असोज २०८२‚
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































