मुक्तिकुवेर मास्केसुहागरात
श्रीमतीजीको मुखबाट 'कोचकाच्' शब्द निस्केको सुन्नासाथ अचानक मेरा आँखाहरू आफ्ना औंलाहरूमा परे र त्यहाँको हालत देखेर 'थु थु' गर्दै बाथरुमतिर दगुरेँ ।

मुक्तिकुवेर मास्के :
हो, त्यो रात मेरो सुहागरात थियो । जसलाई बर्षाैंदेखि म कल्पना गर्दै, कुर्दै र पर्खदै आइरहेको थिएँ । र त्यही सुहागरातको तरखरमा लाग्न मौका पाउनासाथ म कोठाभित्र पसिहालें । मलाई विश्वास थियो एक हिन्दु नारीको हैसियतमा मेरी श्रीमतीजीले मलाई देख्नासाथ आफ्नो छातीसम्म घुम्टो काढेर बिस्तार बिस्तार मेरो सामु आउनेछिन् र पाउमा परी खुट्टा ढोग्ने छिन् । म पनि उनको दुबै कुमलाई अँठ्याएर उठाउने छु र उनको चन्द्रमा जस्तो अनुहारलाई नियालेर हेर्दै उनको त्यो असीमित रूपको वर्णन गरेर मख्ख पार्दै चाँजोपाँजो मिलाउने छु ।
सायद मेरी श्रीमतीलाई चन्द्रमाको उपमा दिएकोले उनी निकै राम्री होली भनेर तपाईंलाई डाहा पनि लाग्न सक्ला तर विश्वास गर्नोस् मैले उनको मुहार र चुल्ठोसम्म पनि देख्न पाएको छैन । किनकी मैले बिबाह गर्ने बेलामा केटाले केटी अथवा केटीले केटा हेर्ने चलन थिएन । हाम्रो नेवारी चलन अनुसार केटी हेर्ने, कुरा छिन्ने मात्र होइन केटीलाई घरमा ल्याएर भित्र्याउने काम समेत आमा बाबुले नै गरिदिनु पर्दथ्यो । ल, अब आफै विचार गर्नोस् यस्तो अवस्थामा म आफ्नी दिनदेखि श्रीमतीलाई चन्द्रमा नसम्झेर कसरी हेर्दैमा वान्ता आउने छ्याकटी केटीको कल्पना गर्न सक्छु ?
ल, अब सुन्नोस् मुख्य गाँठीको कुरो । खास भन्ने हो भने सबै काम आमा बाबुले नै गरिसकेकाले मेरी श्रीमती अब मेरो लागि थालमा पस्किसकेको भातभन्दा बढी अरू केही नहुनपर्ने थियो । तर कोठाभित्रको वातावरण ठीक त्यसको उल्टो भएको अनुभव भयो । किनकी त्यसबखतमा मेरी श्रीमती भनाउँदी घुम्टो काढेर मेरो स्वागत गर्न पर्खिरहनुपर्ने ठाउँमा आफूले दाइजो ल्याएको याँऽऽऽमानको पलंगमा पल्टेर भित्तातिर फर्किरहेकी थिई । आफ्नो सुहागरातको रातमा कुनै पनि आइमाई होस् वा पुरुषले यसरी सजिलैसँग निदाउन सक्छ भनी कल्पना गर्नु मेरो लागि मुर्खताको क्रो थियो । तसर्थ, कोठाभित्र आफ्नो उपस्थिति जनाउन दुई तीनपटक ‘खाक् खाक्, खुक् खुक् पनि गरेँ । तर मेरी श्रीमती दंगाकी हुन कि मुढाकी केही पत्तो लाउन सकिनँ ।
मेरो मनको एउटा कुनाले ‘केटी हुन् लाज मानेकी होलिन्, विस्तारै गएर आफै फकाऊँ जस्तो भएको थियो तर त्यसको लगत्तै अर्को कुनाले चाहि ‘खबर्दार, तैँ जस्तो म्याट्रिक पास गरिसकेको शहरिया पठ्ठोले त्यस्ती जावो गाउँले पखिनीलाई फकाउन जान लाज लाग्दैन ? हेर आजको दिन फकाउन गइस् भने यो केटी झन् मनबढुवाकी हुन्छे र तिमीलाई जीवनभर यसरी नै फकाउन लाउन सक्छे। के त्यति थुप्रो पढेको मान्छेलाई ‘पहिलो प्रभाव नै अन्तिम प्रभाव हो’ भन्ने कुरा पनि थाहा छैन ? भनी नराम्रोसँग हप्कायो र पलंगतिर बढ्न लागेका मेरा पाइलाहरू आफसेआफ रोकिन पुगे ।
हुन त मेरा आमाबुबाले माइतको अपार धन र एक्ली मात्र छोरी भएकोले मेरी श्रीमतीलाई रोजेका थिए भन्ने कुरा मलाई राम्रैसँग थाहा थियो । तापनि साथीभाइको सामु आफू घरज्वाइँ बस्न नपरेकोमा ठूलो घमण्ड थियो । तसर्थ उनीभन्दा म के कम गरी उनीलाई झै मलाई पनि सुहागरातको केही मतलव नभएझै गरी देखाउन सरासर अगाडि बढे र स्टेण्ड लैम्प निभाई पलंगको यता छेउमा तन्नालाई झारझुर पारेर सुतेँ । आखिर सुहागरातकै रात न थियो जीवनमा पहिलोपटक आइमाईसँग सुत्न पाएकोले मलाई निन्द्रा पर्ने त कुरै थिएन । नाना किसिमका कुराहरू मनमा खेलाउँदा खेलाउँदै मेरो शरीर श्रीमतीसँग टाँस्सिन पुग्यो होसै पाइनँ । म त त्यसबेला झस्कन पुगें जब श्रीमतीको चुल्ठोले नाकमा गुँड लाउने कोसिस गर्न थाल्यो ।
एक त शरीरभरि जताततै छट्पटी नै छट्पटी थियो उसमाथि अहिले नाकको चिलाईमा परेको छँदो मलाई हुनसम्मको रिस उठ्न थाल्यो। तर ‘दूध दिने गाईको लात पनि सहनुपर्दछ’ भन्ने कुरा झट्ट सम्झन पुगें र जवर्जस्ती आफूलाई सम्हाल्न थालें। अब तपाईंले यो कुरा याद राख्नुपर्दछ कि यतिञ्जेल मैले पनि श्रीमतीले झैं मस्त निद्रामा परेको वहाना गर्दै एकैनासको लामो लामो सास फेर्दै आउन थालिसकेको छु । र यो पनि विचार गर्नोस् कि म कतिसम्मको घमण्डी र जिद्धिवाल रहेछु कि यतिसम्म हुँदा पनि मैले आफ्नो श्रीमतीलाई पल्टाएर आफूतिर फर्काउने विचारसम्म पनि गरिनँ । बरु, उसको सट्टामा उनी आफै वाध्य भएर फर्कियून भनी त्यसको निमित्त मनमनै योजना बनाउन थालें । र सो अनुसार निन्द्रामै चल्मलाएझै गरी हात खुट्टा फालेर अँगालो पनि मारेँ।
योजनाको पहिलो चरण श्रीमतीजीले दुवै हात समेटेर छाती छोपेकीले पूरा हुन सकेन भने उनी भित्तातिर फर्किइरहेकीले दोश्रो चरण पनि पूरा हुन सकेन । अब बाँकी रहयो केवल तेस्रो योजना, यसको लागि मेरा दाहिने हातका औँलाहरू विस्तार विस्तार चल्मलाउन थाले । यतिसम्म हुँदा पनि श्रीमती अलिकति पनि नचल्मलाउँदा मेरी श्रीमती साँच्चिकै निदाएकी रहिछन् भन्ने कुरामा मलाई विश्वास भयो र मेरा औँलाहरू निर्धक्क भएर अघि बढ्न बाले। तर अचानक विपरीत कुराको आभास पाएर मेरा औंलाहरू अवाउट-टर्न भए र मेरो मनमा एउटा नराम्रो चिसो पस्यो ।
शंका शंकैमा मैले आफ्ना औँलाहरूलाई दोस्रोपटक हाँके तर तेश्रोपटक त्यसो गर्ने मलाई आवश्यकता नै परेन । किनकी यसपटक मेरी श्रीमती भनाउँदो मानिस ‘हाई’ गर्दै बिउँझ्यो र कोठाको चुकुल खोलेर बाहिर निस्क्यो । यतिञ्जेलमा आइसकेको पसिनाले मेरो निधार मात्र होइन सारा शरीरलाई मुसा भिजेझै निथ्रुक्क भिजाइसकेको थियो। अब म मनमनै ‘मैले दुलही चिनेको छैन भनेर मेरा साथीहरूले मलाई छक्याउन यो मोरोलाई आइमाई जस्तो बनाएर यहाँ सुताएको त होइन ?’ भन्ने विचार गरेको मात्र के थिएँ त्यसैवखत बाहिर खासखुस कुरा गरेको सुनेर मेरो ध्यान उतातिर गयो ।
नोकर्नी भन्दै थिई- ‘हिजै पर सरिसकेपछि मलाई भनिसेको भए पनि त हुन्थ्यो। म आफै कोठामा सुत्ने बन्दोवस्त गरिदिई हाल्थे नि ।’
श्रीमतीजीको स्वर थियो- ‘सकी नसकी टेबुलपोसलाई कोचकाच् मात्र के पारेकी थिएँ कोठा बाहिर उहाँ सवारी भइसकेको चाल पाइहालें। अनि हत्तपत्त ओछ्यानमा पल्टेर सुतेको जस्तो गर्नु बाहेक अरू केही गर्ने मौकै पाइनँ ।’
श्रीमतीजीको मुखबाट ‘कोचकाच्’ शब्द निस्केको सुन्नासाथ अचानक मेरा आँखाहरू आफ्ना औंलाहरूमा परे र त्यहाँको हालत देखेर ‘थु थु’ गर्दै बाथरुमतिर दगुरेँ ।
यही हो मेरो सुहागरातको कथा। अब यो सुहागरातलाई चोखो भन्नुस् या विटुलो, तपाईंको खुसी ।
भ्याइँकुटी हास्यव्यङ्ग्य पत्रिका / २०५० गाईजात्रा
०००
व्यङ्ग्यविनोदी कथाहरू (२०८१)
Subscribe
Login
0 Comments
Oldest







































