मुक्तिकुवेर मास्केमेयरको फेयर कार्यक्रम
पाँचै वर्षमा पूरै देशको विकास गरी नेपाललाई आत्मनिर्भर बनाएर अमेरिका तथा जापानको हाराहारीमा पुऱ्याउने। अब आफैँ विचार गरिस्योस् माते, यो मेयरका लागि यो भन्दा फेयर कार्यक्रम अरू होला त ?

मुक्तिकुवेर मास्के :
त्यो तीन दिन तीज पर्व भन्नु नै केवल आइमाईहरुको पर्व थियो । त्यसकारण ती तीन दिन र रातहरूमा दर खानेदेखि लिएर हग्ने, नुहाउने, व्रत बस्ने काम मात्र होइन अरू पनि जे-जे काम आइपर्छन्, ती सबै आइमाईहरूले नै गर्दछन् । त्यसबेला तिनीहरूले आआफ्ना लोग्नेहरूलाई ढुङ्गाको मूर्ति राखेर केही गर्न दिँदैनन् । तर हाम्रा पशुपतिनाथ विष, भाङ, धतुरो खाई जतिसुकै नसालम्पट भए पनि स्त्री जातिले भनेको मान्न स्वास्नीलम्पट चाहिँ थिएनन् । त्यसैले सधैं भाँ त्यो रातमा उहाँ आफैँ ‘हामीलाई पनि मायाले हेर पार्वती’ भन्दै जाइलाग्नुभएको थियो र महामाया पार्वती पनि ‘लौ लौ लौ, लौ लौ लौ’ भन्दै समर्पित हुन लागेकी मात्र थिइन् आफ्नो नजिकै ठ्वास्स गुको गन्ध आएकाले अनायासै दुवै जनाका अनुहारहरू खोपीको ढोकातिर फर्किए ।
नभन्दै त्यहाँ देवर्षि नारद दुप्पीदेखि खराउसम्मै गुनै गुमा लटपटिएर उभिएका थिए। त्यो देखेर पार्वती त छि, छि, भन्दै नाक थुन्न थालिन्, तर महादेवले भने मुसुमुसु हाँस्दै भन्नुभयो ‘क्या हो नारद, के यसपालि पनि ती तीजिया आइमाईहरूले कैलाशलाई बाँकी राखेनन् र तिमी यसरी चुर्लुम्मै डुबेर आउँदैछौ ?’
‘होइन, होइन प्रभो, यो कैलासको होइन, हजुरकै मूलढोका अघिल्तिरको फोहोर हो ।’ ‘के रे, के रे ? मेरै मूलढोकाको फोहोर रे ? के त अब ती बजिनीहरूले मेरो मूलढोकामा पनि बाँकी राख्ने भएनन् होइन के ? अब हेरौं भन्दै दाह्रा किटेर महादेवले आफ्नो तेस्रो आँखा खोल्न मात्र के लाग्नुभएको थियो, पार्वतीले हत्तपत्त पाउ समाई ‘शान्त नाथ, शान्त, यसरी कुरै नबुझी रिसानी भएर भष्मै गर्नु त भएन नि’ भन्दै पार्वतीले नारदतिर फर्केर भन्नुभयो- ‘ल भन, त्यो फोहोर कसले गरेको हो ?’
‘त्यो फोहोर मेयरले गरेको हो ?’
‘के रे, के रे ? मेयरले रे ?’
‘हो माते, उसैले गरेको हो, तर ऊ आफैंले गरेर होइन, अरूले हगेको ल्याएर धुपारेको मात्र हो। उसले टुंडिखेल, सुन्धारा, वसन्तपुरहरू जताततै यस्ता गन्हाउने फोहोरहरू थुपारिसकेको छ र अब अन्त कहीँ ठाउँ नपाएर यहाँ ल्याई थुपार्यो ।’
‘आखिर यस्तो फोहोर थुपार्नु नै किन पर्याे ?’ यस पटक नारदले मुसुक्क हाँसेर शिवजीको मुहारमा हेरे अनि तुरुन्तै पार्वतीतिर फर्केर मुसुमुसु हाँस्दै भन्न थाले- माते, यो अहिलेको मेयर आफू जन्मिदा उल्टो मात्र होइन कोल्टोसमेत परी जन्मेको हुँदा यसको बुद्धिको पोल्टो पनि उस्तै असजिलो खालको छ ।
त्यसकारण यसले जति पनि योजनाहरू बनाउँछ त्यस्तै त्यस्तै अप्ठयारो खालको मात्र बनाउने गर्दछ । अब यही फोहोरको विषयमा नै लिऔं । यसको योजना छ कि काठमाडौँका फोहोरहरू सबै ठाउँ-ठाउँमा जम्मा गर्ने, अनि ती फोहोरहरूलाई ठाउँ-ठाउँमा खाल्टो खनेर छ महिना कुहाउने र कम्पोस्ट मल बनाउने । अनि त्यो मललाई सधैं मल पाएनौँ भनी कराउने ज्यापूहरूलाई बेच्ने, अनि त्यो बेचेको पैसाले काठमाडौँको विकास गर्ने।
अझ यति मात्र होइन माते, यदि उसको यो योजना सफल भयो भने अहिले अधिराज्यभर फैलिएको ‘परिवार नियोजन’ कार्यक्रम बन्द गर्ने, त्यसको सट्टा ‘परिवार बढिजन’ कार्यक्रम चलाउने । नेपाली जनतालाई सके जति सन्तान बढी जन्माउन सहयोग गर्ने । जनसंख्या बढेपछि स्वतः हग्नेहरू बढ्नेछन् र यस्ता फोहोरहरू राख्ने ठाउँ पनि हुने छैन । अनि त्यस्ता फोहोरहरूलाई कम्पोस्ट मलमा परिवर्तन गरेर विदेशमा निर्यात गरी फोहोरको सट्टा डलर थुपार्ने र त्यही डलरबाट आफ्नो कार्यकालभित्र अर्थात् पाँचै वर्षमा पूरै देशको विकास गरी नेपाललाई आत्मनिर्भर बनाएर अमेरिका तथा जापानको हाराहारीमा पुऱ्याउने। अब आफैँ विचार गरिस्योस् माते, यो मेयरका लागि यो भन्दा फेयर कार्यक्रम अरू होला त ?
यतिन्जेल कुराको नयाँ मोडले महादेवको रिस स्यालको सिङझै बेपत्ता भइसकेको थियो र उहाँले पार्वतीलाई उछिन्दै ‘कस्तो कुरा गर्छौं ? जनसंख्या बढेपछि घर बढ्छ, घर बढेपछि खालि ठाउँ नै हुँदैन भने कहाँ खाल्टो खन्ने र फोहोर कुहाउने ?’ मात्र के भन्नुभएको थियो म झल्ल्याँस्स भई ब्यूँझन पुगेँ र सुनें- ‘एक किलो फोहर देऊ, एउटा अण्डा लेऊ ।’
०००
सिस्नुपानी हास्यव्यङ्ग्य पत्रिका-२०५५
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)
Subscribe
Login
0 Comments
Oldest







































