हाेमनाथ घिमिरेभेटिन्न दोधारले !
मेरा चिन्तन नै मिचेर कसले बन्दैछ जो निर्मम ! मेरा इन्द्रिय नै जितेर कसले भन्दैछ यो हैकम ! आत्मा बुद्धि विवेक चित्त न कुनै आयो अहङ्कारले ! यस्तै सोच्छु परन्तु उत्तर यहाँ भेटिन्न दोधारले !
हाेमनाथ घिमिरे :
मैले हैन परन्तु नित्य कसले को भर्छ यो सिर्जना !
मैले हैन समस्त शब्द सरिता को गर्छ यो कल्पना !
मेरैनिम्ति हजार काम कसले ल्याएर टक्र्याउँछ !
मेरै मार्ग कुरेर बस्छ कसले आएर घोक्र्याउँछ !
१
को हो त्यो मनमा हरेक पलमा पार्दैछ यो चञ्चल !
को हो त्यो दिलमा अनेक छलमा गर्दैछ यो खल्बल !
मेरो यो मनको फुरुक्क कसले पारेर बाँध्दैछ हँ !
मेरो यो तनको जुरुक्क कसले सारेर खाँध्दैछ हँ !!
२
हुन्नन् शान्त कदापि चित्त किन हो के खोज्छ भेटाउँछ !
छैनन् ढुक्क तथापि भाव किन हो के लेख्छ मेटाउँछ !
बाधा बन्धनमा कसेर कसले खोस्दैछ एकाग्रता !
ज्वाला दन्दनमा पसेर कसले झोस्दैछ आगो यता !
३
जाँदै जान्न भनेर बस्छु जतिनै तानेर घिच्च्याउँछ!
बोल्दै बोल्दिन भन्छु किन्तु त्यतिनै झन् भित्र चिच्याउँछ !
आफ्नो कत्ति हुँदैन निर्णय यहाँ को दिन्छ निर्देशन !
छायाझैँ मसँगै बसेर कसले को लिन्छ आफ्नोपन !
४
मेरा चिन्तन नै मिचेर कसले बन्दैछ जो निर्मम !
मेरा इन्द्रिय नै जितेर कसले भन्दैछ यो हैकम !
आत्मा बुद्धि विवेक चित्त न कुनै आयो अहङ्कारले !
यस्तै सोच्छु परन्तु उत्तर यहाँ भेटिन्न दोधारले !
५
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest





































