साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्ध्याको ‘शुभ कामना कविगोष्ठी’

Nepal Telecom ad

साहित्य सन्ध्याको ३३७ औँ कार्यक्रम २०७१ वैशाख ६ गते शनिवार ‘आर.आर क्याम्पस, प्रदर्शनी मार्गमा ‘शुभ कामना कविगोष्ठी’ गरी सम्पन्न भयो । जन साहित्यिक मञ्च, नेपालकी उपाध्यक्ष एवम् साहित्यकार नर्मदेश्वरी सत्यालको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनाली तथा भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष गोष्ठीमा अतिथिका रूपमा बूँद राना, रामप्रसाद प्रदीप, देशभक्त खनाल, मित्रलाल पंज्ञानी, देवेन्द्र घिमिरे, के.पी.ढकाल, शीतल गिरी र नरनाथ लुइँटेल उपस्थित हुनुहुन्थ्यो ।

बालकवि द्वय प्रलिसा अधिकारी र प्रजिसा सत्यालका कविता वाचनबाट आरम्भ गरिएको उक्त विशेष गोष्ठीमा डम्बर पहाडी, सानु पहाडी, शशी थापा, अतृप्त पाण्डे, गोपाल नेपाल, नवराज श्रेष्ठ, देवेन्द्र घिमिरे, यशोदा अधिकारी, ब्रह्मप्रिय प्रेम स्वरूप, उर्मिला पन्त, राजेश चोच्छे, ललिता दोषी, के.पी.ढकाल, गणेश घिमिरे ‘मार्मिक’, सरु आस्था, रत्ननिधि रेग्मी, नारायण निराशी, बूँद राना, देवकी के.सी., मित्रलाल पंज्ञानी, जगन्नाथ आचार्य, पुण्य गौतम ‘विश्वास’, प्रेमराज सिलवाल, अतीन्द्र दाहाल, रमेश गौतम ‘पाल्पाली’, होमराज श्रेष्ठ, मुक्तिनाथ शर्मा न्यौपाने, रामप्रसाद प्रदीप, प्रकाश दाहाल, प्रशान्त खरेल, भागवत आचार्य, वैरागी जेठा, जयन्ती स्पन्दन, सुदेश सत्याल, मुकुन्द घिमिरे र रसुवाली कविले आआफ्ना कविता, गीत, गजल वाचन गर्नु भएको थियो ।

वाचित कवितामाथि साहित्यकार शीतल गिरीले टिप्पणी गर्नु हुँदै स्रष्टाले सिर्जना क्षणिक हुने गरी होइन कालजयी हुने गरी गर्नु पर्ने बताउनु भयो । रामायण महाभारतका गाथा वा सिर्जना आज पर्यन्त मिथकका रूपमा, उदहारणका रूपमा लिने गरिएको छ । नारा जस्ता लाग्ने गरी सिर्जना गरियो भने त्यो कालजयी बन्न सक्तैन, समय क्रमसँगै हराएर जान्छ भन्नुहुँदै गिरीले वाचित रचनाहरू समसामयिक रहेका, विषयको विविधता रहेको, केही कविता अत्यन्त उत्कृष्ट पनि आएका छन् भन्नु भयो ।
स्रष्टाले अरूका सिर्जना अध्ययन गर्ने, विम्ब योजना, विषय वस्तुको चयन र प्रस्तुतिको शैली आदि ग्रहण योग्य कुरालाई ग्रहण समेत गर्ने, अरूका सुन्ने प्रवृत्ति आत्मसात गर्नु जरुरी रहेको, यति पक्षलाई ध्यान दिन सकियो भने नयाँ कविहरूका सिर्जना राम्रा हुने प्रशस्त सम्भावना रहेको समेतको धारणा उहाँले राख्नु भयो ।

गोष्ठीकी अध्यक्ष नर्मदेश्वरी सत्यालले निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइ दिनुहुने सबैलाई हार्दिक धन्यवाद दिनु भयो र नव वर्षको अवसर पारेर गरिएको शुभकामना कविगोष्ठीमा वाचन गरिएका कविताहरू निकै उत्कृष्ट पनि आएका, साहित्य सन्ध्याको मासिक नियमित कार्यक्रम भनेको कार्यशाला पनि हो र यहाँ नयाँ तथा पुराना स्रष्टालाई भेला गरी सिर्जना वाचन गरिने, कुनै खास विषयमा चर्चा परिचर्चा गरिने, पुरानाबाट नयाँले सिक्ने वातावराण तयार गरिने भएकाले नै यसले विगत तिन दशकको आफ्नो यात्रा पार गरि सकेको छ बताउनु भयो । उहाँले हाम्रो उद्देश्य भनेकै साहित्यका माध्यमबाट सामाजिक सांस्कृतिक रूपान्तरणमा योगदान गर्न सकियोस् भन्ने रहेकाले आजको यो गोष्ठी पनि त्यो दिशामा एउटा महत्वपूर्ण पाइला हुने छ भन्ने विश्वासका साथ गोष्ठीको समापन गर्नु भएको थियो ।

–रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x