साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं सक्कली कि नक्कली ?

Nepal Telecom ad

अचेल नक्कली र सक्कली छुट्याउने झमेलाले मेरो नीद हराम गर्न थालेको छ । घरमा गयो श्रीमतीका नक्कली सरफदेखि कपडाका गनगनले घर नै ‘कम्प्लेन’ सुन्ने अड्डा झैं लाग्न थालेकोेछ । तरकारी पसलबाट हरिया तरकारी लिएर घर पुग्यो टेलिभिजनले राम्रोसँग केलाउन नपाउँदै भन्छ हरिया आकर्षक तरकारीमा रासायनिक तत्व– (केमिकल) को अत्यधिक प्रयोग भएका हुन्छन् । दाल पखाल्यो कालोबाट सेतो बन्छ, बेसार सेतो हुन्छ रे आदि आदि । कपडा पसल छिर्यो पसले भन्छ यो ओरिजिनल कपडा रङ नजाने, भुवा नआउने, होला त भनी किनेर ल्यायो एकपटकबाट दोहोर्याएर धुन पर्दैन ।

टिभी किन्नुस्, यो चाँहि सक्कली, रेडियो छान्नुस् यो सक्कली, त्यो नक्कली, मोबाइल पसल चाहार्नुस् उस्तै कुरा । यो बजारमा जता गए पनि ओरिजिनलको नाम नसुनी तपाईले सामानको दर्शन पाउनु हुन्न । हरेकमा सक्कलीको ट्याग त कमन भयो, प्रयोगमा भने सावधानी अपनाउनुस् । खानेकुरा, लगाउने कुरा, इलेक्ट्रिक, इलेक्ट्रोनिक तपाईंको हरेक प्रयोगमा नक्कली नभएको सामान सायद पाउनु हुन्न । नक्कलीको कुरा कतिसम्म भने तपाईंको दैनिक नभई नहुने रुपैँया पैसादेखि तपाईंको स्वास्थ्यमा प्रत्यक्ष्य सरोकारका औषधीमुलोमा पनि छ्याप्छ्याप्ती नक्कलीको विगविगी छ ।
डाक्टरदेखि शिक्षक, प्रहरी, कर्मचारीको सर्टिफिकेट हरेक क्षेत्र डुप्लिकेटले नछोएको पाईन छोडेछ । अचेल सामान खरिद गर्न च्याउसरी खुलेका डिपार्टमेन्टल स्टोरदेखि सपिङमलसम्म धाउने जमानामा म चाँहि उहिलेदेखि विश्वासिला मानेका पसल चाहार्दै बसिरहेछु । गतिला ठानेर किनेका सामानले दुई दिनदेखि बढी नटिक्दा उक्त ओरिजिनल सामान विक्रेताले म जस्ता उपभोक्तालाई मीठा कुरा गरेर थाङ्नामा सुताउने दिन कहिल्यै नजाने रहेछन् । मान्छेले मान्छेलाई विश्वास नगर्ने कुरो पनि भएन, विश्वास ग¥यो जुत्ताका तलुवा फाटुन्जेल कम्प्लेन गर्न दौडिँदा सामान बराबरको खर्च भैसक्दा समेत समस्या समाधान नहुने । के गर्ने के गर्ने, सोचेर बस्दाबस्दा काम गर्ने जाँगर मर्दै जान थालेको छ । तरकारी पसलेदेखि किराना पसलेसम्म सबका सब मान्छे हेरी व्यापार गर्दारहेछन् बजारमा । निधारमा डुप्लिकेट लेखेको नहुने रहेछ । पसलमा ओरिजिनलको ट्याग राखेर बाहिर ताजा भनी एक हप्ताको तरकारी, मासु आदि बेचे पनि, अमेरिकी वा जापानिज भनेर खासाकै सामान बेचे पनि, तपाईं रुनुहोस् ठगिएँ भनेर जति गिडगिडाउनुहोस् त्यो तपाईको समय र खर्चको विनाश हो, त्यसैले ढुक्क हुनुस्, तपाईलाई कुनै पनि ठाउँमा ओरिजिनल सामान बेचेर कुनै पसले आफ्नो व्यापार सुकाउन्नन् । कसैले किर्ते हिसाबकिताब गरे पनि अन्तिम हिसाब यमराजले गर्नेहुन्, त्यो पनि मरेपछि । कोही मरेर मलाई यमराजले दण्ड ग¥यो भन्न मत्र्यलोकमा आएका पनि छैनन्, त्यसैले पापसँग कोही डराउन्नन्, लागे पो डराउन् । अरु त कसका बाउको तागत छ र ? डुप्लिकेट कारोबार भए पनि कार्यबाही गर्न, दण्डित गर्न कसको फुर्सद छ र ?

घर बनाउनुहोस् सिमेन्ट नक्कली, रड नक्कली, रङ्गाउने रङ नक्कली । कपडा किन्नुस् तिनै नक्कली, कलम कापी किन्नुस् तिनै नक्कली । हरेक कुरा डुप्लिकेट भए पनि यहाँ उपभोक्ता ठगिने क्रम हिमाल चुलिएसरी चुलिएको चुलियैछ । नियन्त्रण गर्ने निकायहरू कुन हुन् भनेर थाहा पाउन समेत निकै हम्मे पर्छ । सामानहरू ओरिजिनल वा डुप्लिकेट छुट्याउन म जस्ता उपभोक्ताहरू भोलेनाथको प्रार्थना गर्दै ओरिजिनल होस् भनेर किन्नुको विकल्प छैन । पच्चिस प्रतिशत गरिब रहेको देशमा सस्तो सामान खरिद गर्नु वा सेवा खरिद गर्नु बाध्यता नै हो, तर सस्तो सामान पाईला पाईलामा नक्कली बाहेक नपाइनु विडम्वना नै हो ।

ब्रान्डेड सामानको त कुरै छोडौं यो एकदम ओरिजिनल हो वारेन्टी ग्यारेन्टीको कामै छैन किनकि यसले राम्रो काम गर्छ भन्ने कुरा तपाईंको कानमा सेल्सम्यान फुस्फुसाउँछ, विश्वासमा तपाई लिनुहोस् सामान र चार पाईला परको पसलमा गएर देखाउनुहोस्, पसले आँखिभौँ खुम्च्याएर भन्छ नक्कलीमा पर्नुभएछ । त्यहीँबाट एउटा ओरिजिनल भनिएको सामान उठाएर फेरि सात मिटर परको पसलमा देखाउनुहोस्, सुन्नुहुनेछ नक्कलीमा पर्नुभएछ । चाबेलमा किनेको सामान बौद्ध नपुगी डुप्लिकेट बन्छ, रत्नपार्कमा किनेको सामान महाबौद्ध नपुगी नक्कली भईसक्छ, पाईला पाईलामा नक्कली सामान नपाए कसरी बच्ला हाम्रो पहिचान ? यसरी तपाईँ कुनै ठाउँमा सामान किनेर राम्रो र सक्कली सामान किन्न पाइएला भन्ने आशा गरेर समय बर्बाद नगर्नुस् । यहाँ तपाईको सेवा भन्दा ठूलो कुरो मेवा नै रहेछ, तपाईँ आँफै मेवाको पछि लागेर दौडिने बेला अरु बिना मेवा कसरी दौडिने कल्पना गर्नुहुन्छ ? सोच्न समेत तपाईंलाई गाहो लाग्नुपर्ने हो ।

नक्कलीले जरा गाडेपछि त यहाँ केसम्म नक्कली हुँदोरहेछ भने सक्कली भन्ने पनि सामान हुन्छ र बजारमा भन्ने पो लाग्दोरहेछ उपभोक्तालाई । मोबाईल किन्नुस् नक्कली, व्याट्री नक्कली, रेडियोदेखि टिभीसम्म, कम्प्युटरदेखि ल्यापटपसम्म, तरकारीदेखि घरबारीसम्म, सामान किन्ने पैसा नक्कली, सिरक डसनादेखि लगाउने लुगा नक्कली, पसले नक्कली, डाक्टर नक्कली, सर्टिफिकेट नक्कली, विद्यार्थी नक्कली, औषधी नक्कली, जहाँ जानुस् नक्कली भन्दा अरु केहि सक्कली छैन, तपाईं ढुक्क भएर किन्नुस् तपाईं ओरिजिनलमा पर्नुहुन्न । आगे भोलेनाथको इच्छा । कहिले यस्तो लाग्छ कसले छुट्याउँछ र यो जमानामा कस्तो सामान बिक्रि हुन्छ बजारमा, लेखाजोखा कसले गर्छ ? अचेल त चुन नक्कली, सुन नक्कली, नुन नक्कली, खुन नक्कली, खै के पाइन्छ सक्कली चाँहि ? बिचार गर्नुस् तपाईं हामी जस्ता सोझा साझा जनताले सोच्ने बेला आएको छ कतै तपाईं आफै त नक्कली होईन ? म आफैलाई पनि लाग्यो यो नक्कली संसारमा हरेक नक्कली सामानको प्रयोगले म पनि नक्कली त भई सकिनँ ? ढुक्क हुनलाई यसो छाती छामी हेरेँ धन्न मुटु चाहिँ धड्किरहेको रहेछ । बिचार गर्नुस् तपाईँ चाँहि सक्कली कि नक्कली ??

आँखिभुइँ– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x