गणेश घिमिरे ‘मार्मिक’आऊ, राष्ट्रिय खेल खेलौँ
आऊ साथी राष्ट्रिय खेल खेलौँ
तिमी एउटा दल खोल
म आफ्नो पार्टी फुटाउँछु
तिमी सरकार बनाऊ
म सरकार गिराउँछु
आ–आफ्नै किसिमका लडाइँ लडौँ
आ–आफ्नै किसिमका भाषण गरौँ
आऊ साथी, राष्ट्रिय खेल खेलौँ ।
तिमी जनता र देशका कुरा गर
म देश र जनताका कुरा गर्छु
तिमी राष्ट्रियताका नारा उराल
म लोकतन्त्रको नारा घन्काउँछु
बाहिर बिदेशी हस्तक्षेपको बिरोध गरौँ
भित्रभित्र तिनै प्रभुको स्वस्ति गरौँ
आदर्शका दर्शन छाँटेर
जनताका आँखामा धुलो छरौँ
आऊ साथी, आफ्ना आफ्नै डम्फू बजाएर
सहमतिको राष्ट्रिय खेल खेलौं ।
जनताले हामीलाई प्रतिनिधि छानेकै हुन्
हामीले जेसुकै गरे पनि
हामीलाई नेता मानेकै छन्
संविधान नबनाएर के भो त
मज्जाले भत्ता पचाइएकै हो
जेसुकै निहूँ बनाएर भए पनि
आफ्नो आयू आफैँ बढाइएकै हो
अब तिमी कुटेजस्तो गर
म रोएजस्तो गर्छु
आऊ साथी यो देशलाई मिलेर ठेलौँ
देश र जनताकै नाउँ बेचेर
सत्ताको घीनलाग्दो खेल खेलौँ ।
तिमी आफूलाई क्रान्तिकारी भन
म तिमीलाई आतङ्ककारी भन्छु
तिमी मलाई प्रतिगमनकारी भन
म तिमीलाई सर्वसत्तावादी भन्छु
कसैले हरुवा भनौँ
कसैले छेरुवा भनौँ
तिमी आफूलाई अग्रगामी देखाऊ
म आफूलाई राष्ट्रवादी देखाउँछु
तिमी मलाई दोष लगाऊ
म तिमीलाई आरोप लगाउँछु
तिमी आफ्नो कमजोरी ढाक
म आफ्नो कमजोरी लुकाउँछु
बाहिर हाम्रो व्यवहार चर्को
भित्र हाम्रो सम्बन्ध अर्को
तिमी मलाई भतिजो भन
म तिमीलाई काका भन्छु
तिमी मलाई चोर भन
म तिमीलाई डाका भन्छु
जनता हाम्रा भाग्यविधाता
हामी मिलेर यिनैलाई पेलौँ
आऊ साथी जनताकै नाउँमा
आरोप प्रत्यारोपको राष्ट्रिय खेल खेलौँ ।
नेता भनेर मानिएपछि
प्रतिनिधि मानेर चुनिएपछि
देश त जसोतसो चलाउनै पर्यो
संविधान त जसरी पनि बनाउनै पर्यो
तिमी तिम्रो प्रभुलाई डाक
म आफ्नो प्रभुलाई गुहार्छु
दोष जति अर्कैको देखाउँ
विदेशी प्रभुबाटै संविधान लेखाउँ
जे जे पर्छ बरु मिलेर झेलौँ
आऊ साथी राष्ट्रिय खेल खेलौँ
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































