शेषराज भट्टराईखुल्ला दिसा मुक्त क्षेत्र
म सोझो लठुवालाई यो बुढेसकालसम्म पनि कमारो, कमलरी र हलिया बन्न मात्र लेखेको रहेछ जस्तो लागेको थियो तर यी सबै गरिबीले ग्रस्त पद पदावलीबाट पनि म मुक्त भएँ । यो सरकारको अनुकम्पा हो । काम गर्नु नपर्ने खुसियालीमा उन्मुक्त भएर म जानु हुने ठाउँमा पनि गएँ जानु नहुने ठाउँमा पनि गएँ अति उन्मत्त भएँ त्यसैले कामको नाममा सिन्को पनि भाँचिन । मैले सिन्को भाँचे कि भाँचिन मलाई कमारो बनाउने महाजनले ख्याल गरिराखिस्या रहेछ । वरको सिन्को पर नसार्दै दिन बित्दै थियो । भोकले आफैं पनि बितौंला जस्तो लाग्यो र म गएँ ‘पुनः मुसिको भव’ भएर उही पुरानै महाजनकोमा कमारो बन्न । धन्न प्राण त बाँच्छ । कामै नगरी बस्दा त त्यही प्राण धान्न पनि धौ धौ भएपछि नामको भन्दा कामको पछि लाग्नै पर्यो । आखिरी ‘वर्म गए कर्मसँगै’ भनेझैं जाँ जता लघारिए पनि काम नगरी सुखै छैन । फगत कामको नाममात्र फरक त हो । प्रधानमन्त्री, राष्ट्रपति पनि काममै व्यस्त, उद्घाटन, सुद्घाटन पनि त कामै हो । नोकर–चाकर पनि काममै व्यस्त । महाजन त झन समाजसेवी हिँडेको हिँड्यै, बोलेको बोल्यै । उहाँ सुतेको बेलामा पनि बोल्नु हुन्छ भनेपछि कस्तो काम होला । विकसित देशमा गएर काम गरे पनि कमारै हो । अल्प विकसित देशमा काम गरे पनि कमारै हो । काम गर्दा गर्दा अपभ्रङ्स भएर कमारो भएको हो कि कमाउँदा कमाउँदा अपभ्रङ्स भएर कमारो भएको हो सोधखोजको विषय भएको छ । सोझो काम र मामसँग सम्बन्ध राख्ने नोकरी, जागिर, हलिया, कमलरी आदि कामको नामको तात्विक भिन्नता नै के हुन्छ र ? कमाउने भएर नै कमारो भनेका त होलान् नि । काम अनि माम मात्र नामको फरक हुन्छ । काम त गर्नै पर्छ । दिनको सिन्को भाँच्नै पर्छ, बाँच्नै पर्छ, नाँच्नै पर्छ तब पो बँचाइमानन्द आउँछ, अनुहारमा खुसी छाउँछ ।
समय बदलियो, म लठुवा गएँ अर्को जब्बरसेठकामा हलिया बन्न । धन्न धन्न तेत्तिका सन्तान पालिराखेको थिएँ फेरि देशाँ हलिया मुक्ति, कमलरी मुक्ति भन्ने हल्ला चल्यो । त्यसपछि न मेरो चुलामा आगो बल्यो न सेठको जग्गामा आलु फल्यो । ढल्यो, दुबैको शिर ढल्यो खालि गोरुको शिर र जुरो ठडियो आफू त भोक भोकै लडियो । यसरी पनि अमनचयन भएन । जसरी पनि काम नगरी मामको चाँजोपाँजो मिल्न सकेन । फेरि लुसु लुसु ‘पुनः मुसिको भव’ को तालमा गएँ जब्बरसेठकामा हलिया बन्न । धन्न धन्न खान पाइयो अन्न । जसरी भए पनि काम गरेर नै मुक्ति पाइन्छ । सरकारले पदमुक्ति गरेको हो काम मुक्ति गरेको होइन । काम नगरी माम हाम तिघ्रा जाम भएपछि संसार कसरी चल्छ ? न चुलो चौकामा आगो बल्छ न महाजनको बारीमा अन्न फल्छ । अन्नै फल्दैन भने घर व्यवहार पनि चल्दैन । नचाहिँदो निर्णय गरेर सरकारले काम गरिरहेका कमिलालाई उधिन्ने काम गरेको छ । म जस्ता सोझासिधा लठुवा बाजेको लगौंंटी नै फुस्काईदिन खोजेको छ तर आफ्नो इज्जत आफैंले जोगाउनु पर्छ । कागले कान लग्यो भन्दैमा कागको पछि लाग्नु कि कान समाउनु ? हली, छली र खलीहरूले बुझ्नुपर्ने कुरा हो ।
आज भोलि मलाई कपाल सेतै फुलेको लठुवा बाजेको नामले बोलाउँछन् । म धेरै बोल्दिन । शब्द तुनेर, शैली मिलाएर, कपटपूर्ण लवजले कुरो चपाएर बोल्न पनि जान्दिन मात्र काम धन्दामा नै समय बिताउन रुचाउँछु । जसले जे भने पनि मैले महाजनको काम गरेको छु चाहे कमारो भनुन् या हलियाँँ वा कमलरी या दास नै भने पनि मेरो आश तिनै महाजनले पुर्याइदिन्छन् । हलिया मुक्ति, कमलरीमुक्ति, दासमुक्ति, कमारोमुक्ति जे भनेर राग अलापे पनि बलिया बुजेका तिघ्रेहरू काम, दाम र काम गर्ने ठाम छोडेर सडकमा दौडिँदै डुक्रिएका थिए । म लठुवा बाजेको तरान निख्रिएको र झिनु प्राणमात्र मौजुदा भएको हुनाले मैले महाजनको विरुद्धमा औंलो ठड्याउने, माया तोड्ने र घर छोड्ने काम मबाट भएन । म जुको टाँसिएझैं त्यसैलाई संसार ठानेर टाँसिई नै राखेको छु हाँसी नै राखेको छु, नाची नै राखेको छु ।
मेरो बुढो अक्कलमा झाक्कल झुक्कल पार्दा पार्दा ‘मुक्त’ भनेको खुल्ला तथा जसरी दौडिए पनि हुने, जे गरे पनि हुने भन्ने ठान्यो । समयको लामो भोगाइपछि, आज, भोलि मेरै महाजनको घरको आँगनको डिलमा बडेमानको कर्कट पातामा ‘खुल्ला दिसा मुक्त क्षेत्र’ लेखेर राखेका छन् । म लठुवा बाजे यत्रो बुढो भइसकें प्रौढ शिक्षा पनि पढिन त्यसैले अगाडि बढिन । तैपनि कनीकुथी चारवटा शब्दको प्रयोगात्मक अर्थ आफैंले लगाउने निधो गरें ।
खुल्ला = भनेको झर्रो नेपालीमा ह्वाङ् फ्वाङ् वा पुङ्माङ, स्वतन्त्र जे भने पनि
दिसा = भनेको गुहु, आची, मान्छेको मल, वा गोबर
मुक्त = भनेको कमारा, कमारी, हलिया, कमलरी कामबाट मुक्त, जेल–नेलबाट मुक्त भए जस्तै
क्षेत्र = भनेको तोकिएको ठाउँ/गाउँ, एरिया, इलाका, अङ्ग्रेजीमा जोन ।
म कान बन्दी, आँखा मन्दी, दाँत झरेर पनि सेतै कपाल फुलेको लठुवा बाजे दिनदिनै बिहान सबेरै उठेर त्यही कर्कट पातामा लेखेको ‘खुल्ला दिसा मुक्त क्षेत्र’ घोक्छु, हेर्छु, गम्छा बेर्छु र झिसमिसेमै गाविस भवनको आड लागेर छेर्छु । दायाँ हेर्छु बायाँ हेर्छु कोही उठेकै हुँदैनन् । मस्ताराम निदाएका हुन्छन् । दिसा कस्को हो कसी लगाउने कुरै छैन । आज एक ठाउँको जग्गा मलेर आएँ, भोलि अर्को ठाउँको जग्गा मल्छु । म जस्ता चारवटा शब्दको ठिक किसिमले अर्थ लगाउनेहरू यो क्षेत्रमा धेरै छन् जस्तो लागेको छ । किनभने जुन ठाउँमा मैले दिसा मुक्त गरेर आएको हुन्छु त्यस ठाउँमा जुत्ता, चप्पल, दुबो वा हरियो झारमा रगडेर आउँदा पनि दुर्गन्ध जारी रहन्छ । साँझ विहानको झिसमिसे उज्यालोले मर्दा पनि नबिर्सने पर्दाको काम गरेको छ । म पो दास हुँ, नोकर हुँ, हलिया, कमारो, कमलरी हुँ र चाँडै उठ्छु, अबेला चुठ्छु । जसरी हुन्छ म मेरो क्षेत्रमा दानी, ज्ञानी र राम्रै काम गर्नेमा पर्छु । धारो, पँधेरोमा कोही देखिएनन् भने तेतै तुक्र्याउने, तेतै विस्ट्याउने गर्दा छिटो छरितो किसिमले काम गर्ने बानी परिन्छ । महाजनको सेवा टहल र गाउँले छिमेकीको उपकार भलो गर्नमा म लठुवा बाजे कत्ति पछि पर्दिन । धर्म गर्नमा पनि मेरो मन सफा छ, बस्ती फोहोर भएर के हुन्छ र ? पेट दुख्यो भने पहिला जस्तो घरैमा गएर दैलो बन्द गरेर विस्ट्याउनु पर्छ भन्ने छैन । ‘खुल्ला दिसा मुक्त क्षेत्र’ भएपछि जता जसरी छलिएर, छायाँ परेर हुन्छ कुलुकुलु, कुलुलुलु, पटटट गर्ने हो कि ठसठस कन्दै अग्राख गोलियाँहरू लडाएर हिँड्ने हो आफ्नै खुसी ।
चाइना भन्ने देशमा शौचालय प्रयोग गर्दा दैलो बन्द गर्ने चलन छैन । कतिपय गुरुआमा, गुरुबाहरू दिसा झार्दै, नमस्कार गर्दै गर्छन् अरे भन्ने सुनेको थिएँ । तराईको विराटनगर उपमहानगरपालिका वडा नं. ५ मा म लगभग ५ वर्ष बसेँं । तेतिखेर पहाडीमूलका नेपालीबाहेक तराईवासी काला त्वचायुक्त मानवहरू ब्रह्म मुहूर्तको झिसमिसे उज्यालो र साँझपखको झिसमिसे उज्यालोको खुब उपयोग गर्दै नहरको डिलमा लहरै बसेर ‘खुला दिसा मुक्त क्षेत्र’ घोषणा गरे जस्तै गरी मेल फिमेल घोसेमुन्टो लगाउँदै टुक्रुक्क बसेर शरीर हलुङ्गो बनाउँदै घर फर्किदै गरेको देख्न पाइन्थ्यो । … के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझैं अहिले पनि रात्रीवसको यात्रामा उज्यालो हुन हुन लागेको तराईका बाटाका छेउ छाउको हालत तेस्तै देख्न पाइन्छ । शायद जनचेतना, वातावरण र विकासको एकमुस्ट उन्नतिको एउटा पाटो यो पनि हुनुपर्छ ।
आज आम नागरिकमा लोकतन्त्रको भूत चढेको छ । जता पनि मुक्त, जसरी पनि मुक्त हुने प्रवल इच्छा सबैमा छ । नागरिकको बन्धनमुक्त हुने इच्छा आकाङ्क्षामा हामी तगारो बन्नु आफ्नै खप्परफोर भन्नु हो । वातावरणलाई फोहोर, दुर्गन्धित र हैजामय हावा फैलाएर जनतालाई उचित ज्ञानको खुराक खिलाउनु पिलाउनु सचेत नागरिकको कर्तव्य हो । आज म जस्ता लठुवा बाजेका अगाडि गाउँ, सहर–बजार जताजतै ‘खुल्ला दिसा मुक्त क्षेत्र’ घोषणा गर्ने तरखरमा जनप्रतिनिधिहरू लागि परेका छन् । उहाँहरूको रचनात्मक कामलाई साथ दिन म अनपढ, अर्धशिक्षित लठुवा बाजेले जस्तै सखारै उठेर होस् वा घाम अस्ताएपछिको झिसमिसेको फाइदा उठाएर होस् आफ्नो टोल, गाउँ, सहर, जता हुन्छ ‘खुल्ला दिसा मुक्त क्षेत्र’ लाई प्रयोगात्मक रूपमा सफल पार्नु पर्छ । यसको अग्रणी भूमिका हलिया, कमलरी, कमारा–कमारी, महाजन, पुरेत–पुरेत्नी, बालक, बृद्ध, तरूनी–तन्नेरी, बलिया–बाङ्गा, भोका–नाङ्गा सबैको ध्यान जावोस्, वस्तीमा सुगन्ध छाओस् । दैलो बन्द गरेर दिसामुक्त गर्ने पुरानो संस्कारको अन्त्य होस् । अन्तमा लठुवा बाजे यत्ति भन्छ ‘सर्वे भवन्तु सुखिनः सर्वेसन्तु निरामया । सर्वे भद्राणी पश्यन्तु महाकश्चिद दुःख भाग्जन ।’ नाराका साथसाथै नारद पुराणको यो मन्त्र बर्बराउन नभुल्नुहोला । ‘गच्छन्तु ऋषयो देवाः पिशाचा ये च गुह्यकाः पितृभूतगणाः सर्वे करिष्ये मलमोचनम् ।
फूलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































