साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुँगा

Nepal Telecom ad

जुँगाको लडाइँ फूलको बढाइँमलाई नराम्रो लाग्दैन । तैपनि यो दुनियाँमा जुँगालाई होच्याएर बोल्नेको कमी भने छैन । जुँगालाई होच्याउने काम राम्रो सुझबुझको परिणाम जस्तो लाग्दैन । तपाइँहरूलाई के लाग्छ कुनि, मलाई भने जुँगा राम्रो लाग्छ । बच्चामा आफूभन्दा ठूलाहरूको ओठमा जुँगा देखेपछि लाग्थ्यो मेरो ओठमा जुँगा कहिले आउला ? रहरैरहरमा हाँडीको मोसो झिकेर ओठमा सिरिक्क रेखा बनाएर ऐनामा हेर्दा त संसारकै बादशाह पो भइयो कि भनेजस्तो पनि लाग्थ्यो । यसो नयाँ मान्छे घरमा आए भने हतपत्त आँखा ओठमै पुग्थे र जुँगाको वनोटको आँकलन गर्न थाल्थे । यही कारणले होला जुँगासँग मेरो पिरती बसेको । यस्तो राम्रो जुँगाले पनि लडाईं गर्छन् भन्ने सुन्दा चाहिँ अलि नरमाइलो लाग्छ । लडाइँ नगरे पनि हुने हो तर जुँगाकै लडाइँ लड्छन् भने के आपत्ती । एकले अर्कालाई नहिर्काए हुने हो तर फूलैले हिर्काउँछन् भने के भो त ? कोही त मर्दैनन् नि । यसै प्रसङ्गमा फूलको बढाइँ पनि जोडिएको हो ।
फूलको आँखामा फूलै संसार । फूलको बढाइँमा त युगलजोडीहरू हाँस्छन् र त्यसैको माला गाँसेर भाँडाकुटी खेले झै स्वाट्ठै स्वयम्वर गर्छन् । फूलको बढाइँमा गोली त चल्दैन, बारुद त गन्हाउँदैन जसरी जुँगामात्रको लडाइँमा मान्छे मर्दैन । हद से हद होला जुँगा उखेल्ने काम ? जुँगा उखेलिएकै कारण दुनियामा कोही मरेको त थाहा छैन ? मैले यो जुँगा बखान छाँटिरहँदा कसैले प्याच्च भन्न सक्छ, जुँगाको कारणले ठूलाठूला युद्ध पनि त हुन सक्छन् । त्यो युद्ध हुनुमा जुँगाको के दोष ? काम विराउने रामे, चोट खाने चामे भने भैंm जुँगाको के दोष ? त्यत्रो महाभारत युद्ध भयो, द्रौपदीको के दोष ? उनी त कारण नै बनिन् । कतिपय जुँगा पारखीहरू जुँगा युद्धले जुँगाको शोभा बढाउने तर्क गर्छन् तर यो जुँगाको सिर्जनात्मक प्रयोजन नभेट्नेहरूको तर्कमात्र पनि हुन सक्छ । जुँगाहरू मेलमिलाप छोडेर त्यतिबेला युद्धमा लाग्छन् जतिबेला कन्सुत्लाहरूले उनीहरूलाई उचाल्छन् ।

हजुरको जुँगा त तीनत्रिलोक चौधभुवनमै नभएको जस्तो छ हजुर भनेर कन्सुत्लाहरूले फर्माएपछि जुँगावालले जुँगामा ताऊ लगाऊँछ र आफ्नो भाऊ आपैंm बढाउँछ । सत्ता पनि उसैलाई भत्ता पनि उसैलाई चाहिन्छ । सदासर्वदा झण्डा र डण्डामा आफ्नै भोगाधिकार ठान्न थालेपछि अर्को जुँगासँग लडाइँ त हुने नै भयो । जुँगाहरू समय र परिस्थितिअनुसार सार्बजनिक र भूमिगत हुनेरहेछन् । यस्तो हुनाको कारण भने अरू केही नभएर जुँगा युद्ध हो । हामीकहाँ चलिरहेको एकदुई जुँगा युद्धको पनि कुरा गरौं न त ।

टाढा किन जाने ? हाम्रै मान्छेहरूका कुरा गरौं । एक वर्ष अघिसम्म हाम्रो एकजना मान्छेको जुँगा च्याङ्ग्राको भन्दा बाक्लो थियो । उनको जुँगामा कताकति माक्र्स र लेनिनको मोडेल पनि मिसिएको थियो । उनी जुँगालाई मौसमअनुसारको ढाँचामा सजाउँथे । तपाइँँ त यो देशको नम्बर एक मान्छे हो नि भनेर कन्सुत्लाले कान फुकेपछि उनी जुँगौंरी (जुँगा लडाउने) खेल्न थाले । विचरा उनको जुँगा त एकचोटी दुई ठाउँमा जुँगौरी खेल्नासाथ तातोपानीले खुइल्याएको बिरालोजस्तो भयो । सुरुसुरुमा त उनले अनुहार पनि भूमिगत बनाएका थिए तर पछि हारको वहार आइदियो लाजलाई भूमिगत बनाएपछि उनले विजेताले पनि नपाउने पद पाए । त्यसदिनदेखि उनले ओठको जुँगालाई विदेशी ब्लेडले ताछेर चिल्याए । नरहे बाँस नबजे बाँसुरी , बाठै हुन् अब आफैंले उखेलेपछि उनका जुँगा अरू कसले उखेल्ने ? अर्का जुँगाधारीले जति बल गरेपनि उनको जुँगाको छेऊ टुप्पै भेट्दैनन् । उनी हाँसेको हाँसै । हेर्दा देखिन्न भन्दैमा उनको जुँगा छैन त भन्न मिलेन, बरु उनको जुँगा सुरक्षाको लागि भूमिगत भएको छ भन्दा कसो होला ।
अर्को जुँगा छ, कताकता स्टालिन कटजस्तो, मिलाउँदै गयो भने मुसोलिनीको छाँटकाँटजस्तो । वषौं भूमिगत भएको यो जुँगा गर्जने बादलजस्तो छ । चल्नथालेपछि अविराम चल्छ, ठूलोठूलो भीड देख्यो भने बत्ती झैं बल्छ, केहीबेर सुस्ताएपछि नानीझारको पात झैं न्याम्म परेर ढल्छ । जुँगालाई भूमिगत बनाएकासँग यो जुगाले निकै रस्साकस्सी गरेपनि अहिलेसम्म हातलागि शुन्य । उल्टो यिनकै जुँगा उखेलिएको छ ।

तेस्रो जुँगा अहिले सर्वाधिक चर्चामा छ । यो सेनामेनासहितको जुँगा हो । सेनामेनाको मतलब दाह्रीसमेतको । दाह्रीको घारीमा हुर्किएको यो जुँगा यति कडा छ कि, एकपल्ट एकातिर फर्केपछि अर्कोतिर कसैगरी फर्किन्न । माथितिर बढे नाकै छेड्ला कि भन्ने डर, तलतिर झरे मुखै थुन्ला भन्ने डर, दायाँबायाँ गए कानै बन्द गराउला भन्ने डर । विदेशी ब्राण्डको नम्बरी तेलले मालिस गरेर नरम भयो भने कसो हो नत्र यसले वरिपरिका झुम्मिनेहरूलाई घोचेर हायलकायल पार्न सक्छ भन्ने जुँगा विश्लेषकहरूको ठहर छ । यी हुनेहार प्रमुख जुँगा बाहेक अन्य केही पुतले जुँगाहरू छन् । ती जुँगा कहीले भूमिगत हुन्छन् त कहीले ठाडिएर आउँछन् । यी जुँगाहरू कोही स्वदेशी ब्राण्डका छन् त कोही विदेशी । यतिबेला यिनीहरू पनि आमोदप्रमोदमा व्यस्त छन् ।

यी जुँगाहरूको रस्साकस्सी चलिरहेको छ । विज्ञ कन्सुत्लाहरूले यिनीहरूलाई उचालेको उचालै छन् । यो जुँगा युद्धमा कति जुँगाहरूको उछित्तो हुने हो र कति जुँगाहरू भूमिगत हुनुपर्ने हो अझै आकलन गर्न सकिएको छैन । जुँगालाई मैले मनपराउनुको कारण युद्ध हुने भएकाले भने होइन । यसो भनियो भने आधा भन्दा बढी जुँगा नहुने हिस्सा र जुँगा नै नआएका हिस्साले मलाई जुत्ता हान्न सक्छन् । मुलुकलाई बाटाको मादल बनाउने काम त जुँगा भएकाहरूबाटै भएको हो भन्दैमा जुँगालाई नै दोष दिन त मिल्दैन नि । जुँगालाई युद्धको साधन नबनाएर सौन्दर्य तथा कलाको साधन बनाए त कुरै अर्कै हुन्छ नि । जुँगालाई मालिस गर्ने बटारेर कानमा सिउरिने हो भने मान्छेके स्वरूप नै अर्कै हुन्छ । जुँगाको पनि मोडलिङ गर्ने, नयाँनयाँ ढाँचामा लैजाने, सकिन्न भने विश्वबिख्यात जुँगाहरूको नक्कल गर्ने यसलाई चिरिच्वाट्ट पारेर कहीले हिटलरकट बनाउने (प्रवृत्ति होइन है ), कहीले चार्ली च्याप्लीनकट बनाउनेमात्र हो भने पनि जुँगावालाहरूको सम्मान हुने दिन आउने थियो । जुँगाको सम्मान हुने दिन नआएरै हुनुपर्छ हालसम्म जुँगाको बखान गरेर सुमधुर गीत लेखिएको पाउनसकेको छैन । नारीहरूको ओठ, आँखा, शरीर, उनीहरूको हावभावमात्र होइन कपालको प्रशंसामासमेत गीत लेखिएको छ तर खै पुरुषहरूको जुँगाले गीतमा सम्मान पाएको ? त्यसैले ए जुँगापारखीहरू हो जुँगाको शान यसको लडाइँमा होइन, यसको सौन्दर्यमा बढी खुल्दछ । प्रेमिकाहरूले जुँगाको बखान गर्न थाल्नेछन्, नायकहरूले जुँगा पाल्न थाल्नेछन् र गायकहरूले पनि जुँगाको महिमा गाउन थाल्नेछन् । माथि उल्लेख गरिएका तीन जुँगेहरूलाई कर्यापच्याप्प समातेर एकै ठाउँमा राखौं र खुइल्याइदिऊँ, त्यसपछि आउने नयाँ जुँगा पाल्न लगाऊँ, हामी पनि त्यसै गरौं । आउनुहोस् ठूलाठूला जुँगा प्रतियोगिता गरौं । जुँगाको गीत लेखुँ, कविता लेखूँ, सायरी लेखूँ । यसो गर्न सकिएन भने सबै जुँगाहरूले भूमिगत भएर बाँच्ने दिनमात्र आउन सक्छ है ।
दुम्सीकाँडे जुँगाको वयान, गर्दागर्दै म भएँ हैरान ।……

धादिङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x