सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छेपारो

Nepal Telecom ad

हामीकहाँ एउटा मीठो टुक्का छ– ‘छेपाराको उखान ।’ छेपारो समेतको चरित्रलाई जनबोलीमा उतार्न सक्ने नेपाली पूर्खाको भाषिक पौरखलाई पारख गर्नै पर्दछ । आजै गर्नु पर्ने काम भोलि पुग्यो, भोलि पनि फत्ते नभए पर्सिलाई पर्खनु पर्यो, दुई चारओटा पर्सि पनि बिति सकेपछि नेपाली जिब्रो फ्याटृ फट्कारिन्छ– ‘छेपाराकै उखान भो ।’ साँच्चि, यो उखानभित्र एउटा गज्जवको आहान लुकेको छ । हिउँदको चिसो जाडोमा कक्रक्क परेको छेपारो रातभरि कल्पना गर्छ– पखेस् न भोलि उज्यालो त होस् विहे गरेर घरजम नगरी कहाँ छोडौंला र जब साँच्चै बिहान हुन्छ, सुकेको रुखको हाँगामा आइपुगेको घामको न्यानो रापमा ऊ मग्न हुन्छ । दिनभरि तातोमा टहलिँदा टहलिँदै दिन भुसुक्कै बित्छ अनि बेलुकीको चिसोले जब छेपारोको छाला छेड्न थाल्छ तब ऊ कल्पना गर्छ– पखेस् न, भोलि त … । भोलि बिहान फेरि उस्तै.. । त यो आहानले अज्माएको उखान पूर्खेली जिब्रोले जति बखाने पनि तिनै पूर्खाका शाखा सन्तान ‘भालि त …’ भन्ने छेपारो बनि रहेका छन् । खसोखासै भन्नुपर्दा आजको औसत नेपाली विल्कुल त्यही छेपारो हो । जो आजै गर्नु पर्ने कामलाई भोलि भोलिको रट्मा चट् पारी रहेको छ ।

छेपारे प्रवृति आजको हाम्रो मौलिक संस्कृति हो । संस्कारले बृहद् आकार ग्रहण गरेपछि संस्कृति बन्छ भन्छन् संस्कृतज्ञहरू । यो सोचाई सोह्रैआना सत्य छ । सायद यसैले होला यो मुलुकको बर्तमान छेपारोमय बनेको छ । राजनीतिमा छेपाराहरू छ्याप्छ्याप्ती छन्, साहित्यमा छेपाराहरूकै विगविगी छ, शिक्षा स्वस्थ्य, समाजसेवा सबैतिर छेपाराहरूकै वाहुल्यता देखिन्छ । कुर्सीमा छेपाराहरू विराजमान छन्, टेबिलमा छेपाराले टाङ पसारी रहेको छ, घर्रा, र्याक, दराज र दराजभित्रका फाइल फाइलमा छेपाराहरूकै राईदाइँ छ । यसरी पद्, कुर्सी, प्रमोसन, सत्ता, भत्ता र वजेटदेखि गजेटसम्म छेपारोको प्रभाव विस्तारले घरजम गरी सकेको हुँदा मुलुक छेपारोमय बन्न पुगेको हो भन्दा फरकै पर्दैन ।

तपाइँ हामी सवैलाई थाह भएकै कुरा हो कि छेपारोले मौसम अनुसार रङ्ग बदल्ने गर्छ । छेपारो प्रवृतिको मानिसले चेपारो मात्र पार्दैन, उसले पनि समय परिस्थिति र तात्कालिक स्थिति अनुरुप आफ्नो रङ्ग बदल्छ । प्रसङ्गले अर्को अर्थ नलगाई भन्नुपर्दा रङ्ग भनेकै ढङ्ग हो । ढङ्ग अन्तरगत मानिसका यावत क्रियाकलाप पर्दछन् । बोल्नु मात्र होइन हात मोल्नु र आफ्नोमात्र होइन कोढीको पाउ मोल्नु, जुसको रुपमा घुस ख्वाएर खुसखुस आफ्नो काम पट्याउनु, नेताको पछि पुच्छर डोलाउँदै नीजि उन्नति बोलाउनु, कोशेली कमिसनको कुम्लो कोल्ट्याएर ठूलो ठूलो ठेक्का कुम्ल्याउनु, चुक्ली र चाकरीको भरमा खुस्की सकेको जागिर जोगाउनु अथवा त्यो पुर्याउन नसक्दा खाइपाई आएको जागिरमा गिर खेलाउनु, यी सबै कुरा रङ्ग अनुसारकै ढङ्गका ढर्राहरू हुन् ।

रङ्ग सँगसँगै ढङ्ग बदलिने प्रक्रिया पनि बडो गजबको न छ । मेरो एउटा अन्तरङ्ग मित्र सरकारी सेवामा अधिकृत जागिर खान्छ । ०४६ सालको अन्दोलन शुरु हुँदा नहुँदै ऊ स्थायी अधिकृत हुन पुगेको थियो । आन्दोलनले जोड पकड्न थालेपछि ऊ कार्यरत विभागका कर्मचारीहरू विभागीय बोर्ड नै लिएर सडकमा ओर्लिएका थिए । मेरो अधिकृत मित्र भने त्यो बेला बोर्ड झिकेर सडकतिर घिसार्ने कर्मचारीको नाम नामेसी बोकी केही बेरमै मन्त्रालय पुगेको थियो । खैर, उसको बाबुको केही दैया चलेन, पञ्चायतको चारवटै टायर पन्चट भए । तथापि उसको अधिकृत पद चौपट भएन । ऊ पनि आफ्नो पुरानो रङ्ग खुर्की–खार्की गर्नेतिर निर्लिप्त भएरै लाग्यो । संसदको पहिलो निर्वाचन भएर नया“ मन्त्री मण्डल बन्दा नबन्दै मेरो अधिकृत मित्र आफ्नो अभिवादन शैली र शव्दमा आमूल परिवर्तन गर्न सफल बन्यो । ‘जय नेपाल’ त्यो परिवर्तित अभिवादनको नया“ शव्दावली यही थियो । त्यसपछिका अरु तीन वर्षमा मेरो अधिकृत मित्रले आफूलाई परापूर्व कालदेखिकै ‘जय नेपालवादी’ हुँ भन्ने देखाउन र लेखाउन कुनै कसर बाँकी राखेन । यही अवधिमा ऊ एक तह माथि पदोन्नति पनि भयो ।

त्यसपछि असमयमै मुलुकमा अर्को चुनाव ओइरियो । चुनावको परिणाम जे जस्तो देखापरे पनि ‘लाल सलामवाला’ दलले सरकार बनाउने छेकछन्द आउनासाथ मेरो अधिकृत मित्र लालसलाम दलको केन्द्रीय कार्यालयतिर टोलाउन पुगिसकेको थियो । उसको त्यो बेलाको लेनिनकट दारी र हातमा सयर गरी राखेको टोपी हेर्न लायक देखिन्थ्यो ।

नौ महिनाको अवधिमा अधिकृत मित्र आफूले रोजेको विभागमा सरुवा पनि भयो । नयाँ मन्त्रीहरूको क्वाटर र हेड्क्वाटरतिर धाउनु र धद्दाउनु उसको दिनचर्या बन्नुमा कुनै अस्वाभाविक थिएन । छोटै अवधिमा जो कसैको विश्वास जित्न सक्ने उसको खुवीलाई मुक्तकण्ठले प्रशंसा गर्नै पर्दछ । बडो शान–शौकत र मोजमस्ती मै उसका दिनहरू बित्दै थिए । अचानक एक दिन उसलाई लेनिनकट दारी सफाचट गरिएको र सफा लबेदा सुरुवालमा भेटियो । हातमा झुण्डिइरहने टोपी आइरनले मचक्क भाँचेको डाम आलै थियो । उसलाई त्यो रुपमा देख्नासाथ मैले सजिलै अनुमान गरें मुलुकमा कुनै फेरवदल हुँदैछ । नभन्दै भोलिपल्टै प्रष्ट भयो, मुलुकमा सरकार परिवर्तन भई मेरो अधिकृत मित्र कायर्रत रहेको विभाग स्याहार्ने गरी हलो दलका भू.पू. पञ्चले पो मन्त्री पदको सपथ ग्रहण गरे । मेरो अधिकृत मित्र स्वादसँग जागिर खाइरहेको छ । ती अमूक मन्त्रीका पिए त देखाउने दाँत मात्रै हुन्, खाने दाँत भने अहिले त्यही छेपारो अधिकृत बनेको छ । रङ्ग सँगसँगै मनुवाले ढङ्ग बदल्ने प्रकृया गज्जब लाग्दो छैन त ?

छेपारो वर्गका भित्ती, गोही, माउसुली जस्ता घस्रने जीवहरूका चार हात पाउ विशिष्ट किसिमका हुन्छन् । भित्ती वा माउसुली भित्ता वा पर्खालबाट लडी मरेको आजसम्म कसैले देखे सुनेको छैन । छेपारो वा गोहोरो रुखको हाँगाबाट खुटृा चिप्लिएर खसेको कसैलाई थाह छैन । यो विशेषता छेपारो प्रवृतिका मनुवाहरूमा जस्ताको तस्तै सरेको हुन्छ । यस खाले मनुवाहरू छेपारो वा गोहोरो जस्तै घस्रन औधि खप्पिस बनेका हुन्छन् । शिर्फ घस्रिएकै भरमा उनीहरू आसमान छुन पुग्छन, अन्तरीक्ष पुग्न सक्छन् । मन वचन र कर्ममा छेपारे प्रवृति बोकेकाहरूले कहिलै तल झर्नु पर्दैन, पछारिनु पर्दैन । घोडा चढ्ने मनवा लड्न सक्छ तर छेपारोको रङ्ग र सोही अनुरुपको ढङ्गसँग चल्ने मनुवा कहिलै लड्नु पर्दैन ।

छेपारोले रङ्ग बदले जस्तै आफ्नो ढङ्ग बदल्न नचाहने लठुवा लठेव्राहरू यस धर्तीका मूर्खका पनि महामूर्ख हुन् । जमाना छेपाराहरूको हो भन्ने कुरा ती विचराहरूले कहिलै बुझ्न सकेनन् । समय स्वयं छेपारो हो, छेपारोले जस्तै रङ्ग बदली रहेको छ भन्ने कटु यथार्थलाई नबुझ्ने बबुराहरूको सुदिन कहिलै फिर्नेवाला छैन । यदि त्यस्तो मूर्ख कुनै जागिरमा छ भने ६/६ महिनामा जनकपुर टु जुम्ला तथा पाल्पा टु डोल्पा गरी रहनु पर्छ । यसको ठीक विपरित सज्जन छेपारो भने डोल्पा टु पाल्पा तथा जुम्ला टु जनकपुर गर्न सक्ने हैसियत राख्छ । त्यति मात्र होइन यदि ऊ लम्पसार पर्यो भने फुडिल्काकै आदेश मार्फत सुनको धन्सार मानिने एयरपोर्टको भन्सार वा दोस्रो भन्सार भनेर चिनिने रेडियोको संसारतिर हाम्फाल्न पनि सक्छ । त्यसकारण जँड्याहा हुनुको मज्जा जँड्याहाले थाहा पाए झैं छेपारो हुनुको मज्जा छेपारोले मात्र थाह पाउँछ । च्याउ नखाएको बाहुनले के स्वाद पाओस् ?

संसारमा मानिसका दुई जात लोग्ने मान्छे र स्वास्नी मान्छे भए जस्तै यो मुलुकमा वृद्धिजिवी दुई जातका छन् । एउटा जात हो सरकारी र अर्को जात हो गैरसरकारी । तर जातमा जे सुकै भए पनि बुद्धिजीवी आखिर बुद्धिजीवी नै हो । बुद्धि बढेको होस्, घटेको होस् या थोपै नहोस् टि. यु. ले प्रदान गर्ने गरेको लकेट जे जसरी होस्, लफन्याउन सकेको छ भने ऊ वुद्धिजीवीमा दरिएकै हुन्छ । यहींनेर सम्झना हुन्छ, यो मुलुकका वौद्धिक छेपाराहरूको । यसखाले छेपाराहरूको रङ्ग झन गाढा र मिहिन पो हुन्छ त ! हत्पती चिन्न र छुट्याउन नै सकिन्न । कुन चैं बुद्धिजीवी छेपारो हो र कुन चाहिँ छेपारो होइन भनेर जाँच्न एउटा साँचो निर्माण गर्न सकिन्छ । साँचो भनेको एउटा प्रश्न हो । ‘बुद्धि पहिले जन्मियो कि बुद्ध ?’ यो प्रश्नको बल्छी तपाई कुनै पनि बुद्धिजीवी तर्फ तेर्स्याउनुु्स् त, वौद्धिक छेपारो चाहिँ तपाइँको बल्छीमा बुद्धिको चारा हाल्दै तपाइँतिर तानिई हाल्छ । वौद्धिकताका भयङ्कर भयङ्कर विचरा यी भकारीहरूलाई कतिपय बज्रस्वाँठहरू कुनै विचारै नगरी वौद्धिक बेश्यावृत्तिको मिथ्या आरोप लगाई दिन्छन् । यो त सोह्रैआना बेठिक कुरा हो र जुन कुराप्रति बेश्यावृत्तिको आरोप लगाइन्छ, त्यो वुद्धिजीवीहरूको व्यवशाय हो, पेशा हो । अनि व्यवशायले व्यवहार बढाउँछ र पेशाले पैसा फलाउँछ । बस् बौद्धिक छेपाराहरू यसरी नै बुद्धि चलाई रहेका छन् । कसैले टाउको फोरेर के हुन्छ ?

जेहोस् मुलुकको मुटु मुठ्याउने बौद्धिकहरू नै छेपाराको अनुकृति बनिरहेका छन् भने छेपारे संस्कृतिले विकास गर्नु अवस्यंभावी हुन जान्छ । जुन मुलुकमा संस्कार–संस्कृति, वृत्ति–मनोवृत्ति सबै छेपारो प्रवृत्तिमा बाँधिएको, छाँदिएको र खाँदिएको छ भने कुन मनुवा यसको वाघपञ्जाबाट मुक्त र अलग्गै हुन सक्ला । अत म छेपारो, तिमी छेपारो, तपाइँ छेपारो, उहाँ छेपारो । तपाइँ हामी सबै एक से एक छेपाराहरू हौं । जो समय अनुसार रङ्ग बदली रहेछौ, ढङ्ग बदली रहेछौं र आवश्यक पर्दा अङ्ग बदल्न पनि हर्दम तयार भइरहेछौं ।

‘चम्चा चिन्तन’ हास्यव्यङ्ग्य निबिन्धसङ्ग्रह– २०५५ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad