फित्काैली डटकमप्रजातन्त्र जात्रा
सूत्रधार : दर्शकवृन्द ! जात्रा संस्कृत भाषाको यात्रा भन्ने शब्दको नेपाली जनजिब्रोसँग ठ्याक्क मिल्ने उच्चारण हो । यात्रा एक ठाउँबाट अर्का ठाउँतिर विभिन्न प्रयोजनले बेग्लाबेग्लै बाहनका साथै हिँडेर पनि बाटो काट्न सकिन्छ भने जात्रा कुनै विशेष घटना वा व्यक्तिलाई सम्झिनका लागि निश्चित ठाउँमा सहभागी भएर, फन्को मारेर वा तोकिएको ठाउँमा मञ्च बनाएर थरिथरिका उट्पट्याङ्गे पात्रहरूको प्रदर्शनी गरेर रमाइलो गर्दै मनाइन्छ । हाम्ले यसपटक प्रजातन्त्रजात्राको थालनी गरेका छौँ । यस जात्रामा प्रजातन्त्रका सक्कली, नक्कली, जनप्रिय, जनद्रोही साथै छापे र अछापे पात्रहरूको वर्षेनी प्रदर्शनी गर्ने छौँ । यस्ता पात्रहरूले एकतर्फी रूपमा आफ्नो स्वमूल्याङ्कन प्रस्तुत गर्ने छन् । स्वमूल्याङ्कन श्रवण गर्ने, पचाउने वा विश्लेषण गर्ने तपाईंको मानवअधिकार भित्र पर्छ । प्रश्न गर्न र ढुङ्गामुढा गर्न आजै निष्काशित गरिएको अध्यादेशद्वारा निषेध गरिएको छ । जदौ !
प्रजातन्त्र बाजे : म प्रजातन्त्रको स्वघोषित बाजे हुँ । दलीय राजनीतिमा मभन्दा जेठो, पाको र राजनीतिमा लागेर जिउँदै हिरकजयन्ती मनाएको बाजे धुइँपत्ताल गरे पनि फेला पार्न सक्नुहुने छैन । प्रजातन्त्र एउटै खाले हुँदैन । ग्रिसबाट प्रजातन्त्रको बीऊ उमारेर नेपालमा परीक्षणको क्रममा छ । ग्रिस नगरराज्य भएकोले त्यहाँ प्रत्यक्ष प्रजातन्त्र हलक्कै पलाएको थियो । हाम्ले युरोपेली प्रजातन्त्रको अप्रत्यक्ष संस्करण हुर्काउने जमर्का गरेका छौँ । युरोपतिर उदारप्रजातन्त्रको वर्णशङ्कर सर्वव्यापी छ । त्यहाँ आवधिक नेतृत्व र उत्तरदायित्व बहन गर्ने संस्कार स्थापित भएको छ । हामीतिर प्रजातन्त्र शास्त्रीय तहमा छुनुमुनु गर्दैछ । राजाझै राजनीतिमा एकपल्ट नेता बनेपछि मसानघाटमा खरानीमा परिवर्तन नभएसम्म निरन्तर नेताको आशनमा विराजमान हुन सकिन्छ । जस्तोसुकै दुर्घटना भए पनि आशनको परित्याग गर्ने बिन्तीपत्रमा सहीछाप गर्नैपर्ने हुँदैन ।
त्यति मात्र कहाँ हो र ! बहुमत एकपल्ट छलछामद्वारा कुम्ल्याएपछि निरन्तर त्यसलाई संरक्षण गर्न सकिन्छ । त्यसैगरी राजनीतिक दलमा एकपल्ट अल्पमतमा परेपछि स्वर्गलोक नपुगेसम्म अल्पमतकै नेता भइरहनुपर्छ । ग्रिसेली प्रत्यक्ष प्रजातन्त्रमा कुनै विशेष निर्णय गर्नुपरेमा बहुमत र अल्पमत छुट्याएर बहुमतअनुसार निर्णय हुने गर्दथ्यो । हाम्रोतिर बहुमतमा विवेक कहिल्यै प्रवेश गर्दैन । जहिलेसुकै छलछामद्वारा बहुमत प्राप्ति गरेपछि स्वच्छन्द निर्णय गर्न सकिन्छ । यही भेऊ पाएर होला बौद्धिक गोत्रका अगुवा सुकरातले बहुमतलाई स्वार्थी वा भेँडो भनेको हुनुपर्छ ।
यस्तो चिमोट्याइँप्रति हाम्लाई पटक्कै वास्ता छैन । हामी निरन्तर बहुमतकै भक्ति गर्छौँ, जस्तोसुकै सङ्कट आइपरे पनि बहुमतकै भजन गर्छौं । बहुमतकै भक्ति र भजनको प्रभावले सत्ताको नौनी अरूलाई खिसी गर्दै कुपुकुपु खान्छौँ हामीतिर प्रजातन्त्रको एउटा नयाँ कल्मी पनि विकसित गरिएको छ– जसलाई अपुतालीको राजनीति वा प्रजातन्त्र मानिन्छ । यस्तो प्रजातन्त्रमा राजतन्त्र झैँ बाबुको सेखपछि छोरोले नेतृत्वको बिँडो थाम्छ, छोरोको आपूर्ति नभएमा स्वास्नी, भतिजा, छोरी जो पनि नेतृत्वका हकदार हुन सक्छन् । हिन्दुधर्ममा कुशको बाहुन बनाए झैँ परम नेताको परलोक गमनपछि अपुतालीको थरिथरिका नेताको अवतरण हुन्छ । म पनि राजनीतिक योग्यताबाट नभएर अपुतालीकै कसीबाट तौलिएर महानेता भएको हुँ । अपुताली, टीके र मन्त्रिएका नेता एक दोस्राका पूरक हैनन्, अपुताली नेता रक्तसम्बन्धसँग गाँसिएको हुन्छ, टिकेनेता भक्ति भजनबाट प्राप्त हुन्छ । मन्त्रिएको नेता काम सञ्चालन गर्न प्रयोगमा ल्याइन्छ ।
नेतृत्वको शिखरमा पुग्न परिश्रम र लगनशीलता पटक्कै चाहिँदैन । शिक्षा र पूर्वाभ्यासको पनि आवश्यकता पर्दैन । मञ्चमा उभिएर नेतालाई ठसठसी कन्न, उटपट्याङ्ग अङ्ग्रेजी शब्द प्रयोग गर्न, कामदारका साक्खै ठूल्दाइ घोषित गर्न, किसानका माइलोबा हुन र कर्णकटु भाषण भट्याउन विशेष छुट हुन्छ ।
शास्त्रीय प्रजातन्त्रमा विधानपालिका, कार्यपालिका र न्यायपालिका संविधानका लिखतपत्रमा मात्र स्वतन्त्र हुन्छन् । व्यवहारमा प्रधानमन्त्री, मन्त्री र तिनका अर्धाङ्गनीहरूका धुपौरे, घण्टे, चन्दन घोटुवा र चम्मर बोकुवाको भूमिका निस्फिक्रीसँग निर्वाह गर्छन् । प्रहरीसेवा, लोकसेवा र संस्थान–सेवामा योग्यताको खाँचो नपरेर भनसुन र बजारको भाउअनुसार दाम खर्च गर्नुपर्छ । मन्त्रीहरूलाई चिल्लो, पिरो, गुलियो परिकार र उम्दा ठर्रा हजम गर्नुप¥यो भने दलले वैयक्तिक स्वविवेकमा ठाडो हस्तक्षेप ग¥यो भनेर सल्लाहकार, विशेषज्ञ र अह्रौटे–भरौटे आफ्नै दिव्यदृष्टिको निर्णयबाट राख्न सकिन्छ । दल समूह हो, निर्णय समूहको हुन्छ र मन्त्री पनि समूहकै कसीबाट बनिएको हुन्छ भन्ने परम रहस्यलाई बुझ्ने, मनन् गर्ने र कार्यान्वयन गर्ने झन्झट नै आइपर्दैन । वैयक्तिकता नै प्रजातन्त्र हो भन्ने फलाको निरन्तर भट्याउन सकिन्छ ।
अन्त्यमा एउटा गुह्य रहस्य खोल्छु । हामी महासामन्तको पगरी खोस्न जेठो माइलो, अन्तरे र जन्तरे विक्रेतामा रूपान्तरण हुँदैछौँ । महासामन्तमा भएका विकृतिहरू कुम्ल्याउँदै र उसमा हुँदै नभएका आधुनिक विकृतिहरू पनि टाँस्दै छौँ भने हामी कसरी महासामन्तबाट फरक हुन सक्छौँ, हामी त पुड्के, बामपुड्के र लिलीपुट सामन्त नै देखिन्छौँ । लौ भन्नुस्, दश रुपियाँमा मत बेच्ने जनता जनार्दनले कि हाम्ले नै प्रजातन्त्रको सर्वनास गरेका हौँ ?
समानताढिस्को : म समानताको ढिस्कोको सालनाल काट्दै नगदीको छापे थकाली हुँ । सामाजिक विभेदीकरणमा यस्तो अवसरलाई थोपरिएको भूमिका भन्ने गरिन्छ । सामन्ती रजाइँमा यस्तो भूमिकाप्रति मरिहत्ते गरिन्थ्यो । हामी समानता र जनवादका पुच्छरे भए पनि “एकपल्ट थकाली जीवनभरि थकाली” भन्ने सुमधुर उक्ति अस्मीकरण गरी व्यवहारमा उतार्न कहिल्यै नाइँनास्ती गर्दैनौँ ।
हाम्ले समानताको रानजीतिमा एउटा नयाँ कार्यक्रम बहुमतद्वारा पारित गरेका छौँ जसलाई “नेताको एकलौटी जनवाद” भन्ने गरिन्छ । यो कार्यक्रम हाम्रै पुर्खाबाट अपुतालीको रूपमा प्राप्त भएको हो । नेताको एकलौटी जनवादको अधिकतम कार्यक्रम भनेको “नेतावाद” को स्थापना र विस्तार हो । निश्चित समयमा राजनीतिक दल, समाज र सरकारमा नेता मात्र अस्तित्ववान् हुनु यसको विशेषता हो । यो लामो समयको फड्कोपछि प्राप्त हुने निश्चित छ । तपाईंले यो कार्यक्रमको अध्ययन गरेपछि यहाँ सामन्तवादको प्रवेश भयो भनेर अटेर गर्न सक्नुहुन्छ । अल्पमतका कार्यकर्ताझैँ होहल्ला पनि मच्चाउन सक्नुहुन्छ । हेर्नुस् तपार्इंले विज्ञानको मद्धत लिनुभएको हो भने विज्ञान विषयगत र सकारात्मक गरी दुइै किसिमका हुन्छन् । हामी विषयगत विज्ञानको ठम्याइअनुसार नेतावादको स्थापना गर्छौं ।
अर्को तथ्यतिर ध्यान केन्द्रित गर्नुहोस् । हाम्रो न्यूनतम कार्यक्रम भनेको छिर्केमिर्के कार्यकर्ताका जनवाद स्थापना गर्नु हो । छिर्केमिर्के कार्यकर्ता अन्तर्गत ल्याइने मठ्याहा, तिहुँन चखुवा र घरघर डुलुवा आउँछन् । यस्तै कार्यकर्ताका काँधमा हाम्रो दल अडेको हुन्छ । यिनीहरूको सर्वकल्याण गर्नु नै हाम्रो न्यूनतम कार्यक्रमको सफलता मान्नुपर्छ ।
हाम्रो न्यूनतम कार्यक्रमको प्राप्तिबारे तपाईहरूले शास्त्रीय सिद्धान्त कण्ठ गर्दै “क्रान्ति” भन्दै उत्तर दिनुहोला । तर यो सरासर गलत ठम्याइ हो । हाम्ले यसबारे अमूर्त चित्र र कविता झैं ब्याख्या गर्ने अधिकार परमप्रिय कार्यकर्तामाथि सुम्पिएका छौँ । अमूर्त चित्र र कविताका अर्थ पाठकले मनःस्थितिअनुसार लगाए झैँ हाम्रा कार्यकर्ताले पनि लगाउने निश्चित छ ।
कुनै कार्यकर्ताले खु्रश्चोवका शब्दहरू पैँचो लिँदै यसलाई शान्तिपूर्ण संक्रमण पनि भन्न सक्छन् । सोभियत सङ्घका हिंस्रक भक्षक गोर्वाचोवका तालुको नापजोख गर्दै यसलाई पुनर्संरचना र खुल्लापन भन्न पनि बेर लगाउने छैनन् । त्यसैगरी शास्त्रीय नेतृत्वलाई मनन गर्दै ‘क्रान्ति’ भन्न पनि सक्छन् । संसदमा दुईतिहाई बहुमतको चिट्ठा परेर पनि छिर्केमिर्के कार्यकर्ताका जनवाद आउन ढिलो हुन सक्दैन ।
ध्यान दिनुस्, हाम्रा कार्यक्रमका थरिथरिका विशेषताहरू छन् । अर्थ पनि त्यही अनुरूप रङ्गविरङ्गी हुन सक्छन् । यही नै हाम्रो मौलिकता हो । हामी समयअनुरूप क्रान्तिकारी, तटस्थ, मौकावादी र दक्षिणपन्थी रूपमा सजिलै रूपान्तरण हुन सक्छौँ । हामी जुनसुकै प्रजातन्त्रका भँगालामा विलिन मात्र होइन, एकीकृत पनि हुन सक्छौँ ।
हाम्रो रणनीति भनेको सम्पूर्ण नौनी थकालीको सर्वाङ्गीण विकास गर्नु हो । यो चरण छिचोल्न संसदको एक अवधिको समय लाग्छ । कार्यनीति अन्तर्गत पोष्टर टाँस्नु, भाडामा जम्मा गरिएका जनसमूहको प्रदर्शन गर्नु, समय–समयमा विदेशको सयर गरेर वक्तव्य बमको विस्फोट गराउनु, विदेशीदाता अगाडि लम्पसार पर्नु आदि हुन सक्छन् । कार्यकर्ता सम्बन्धमा हाम्रो नीति पारदर्शी छ । सुविधाको खँडेरी लाग्दा हाम्रा कार्यकर्ताहरूलाई जताततै मुखमार्न, उन्नतिको फड्को मार्न, अन्तर्राष्ट्रिय गुमस्ता सेवा गुठी (अगुसेगु)का साथै राष्ट्रिय गुमस्ता सेवा गुठी (रागुसेगु) का सक्रिय पदाधिकारी र सदस्यको सूचीमा नाम लेखाउन कार्यकर्ता स्वतन्त्र हुन सक्छन् । कार्यकर्ता सिकारू, छाडा र अपारदर्शी हुनुमा नै हाम्रा कार्यक्रमको प्राप्तिमा योगदान हुन्छ ।
सूत्रधारको मञ्चमा पुनः प्रवेश र आब्हान : हामीले, प्रदर्शनीका सञ्चालकका नाताले दलीय राजनीतिका दुई टाकुरेहरूलाई आत्मालोचनाको शैलीमा प्रस्तुत गर्यौं । अब प्रजातन्त्रजात्राका केही दाँती र किल्लाकाँटालाई प्रस्तुत गर्दैछौँ । हेर्नुस् र सुन्नुस् ।
बौद्धिक थुप्रो– म बौद्धिक थुप्रोको सक्कली प्रतिनिधि हुँ । थुप्रो शब्दको श्रवण गर्नासाथ तपाईहरू जिल्लाराम हुनु स्वाभाविकै हो । हाम्रो थुप्रोबाट सद्बुद्धि, कुबुद्धि, प्रमाणपत्रे बुद्धि, सृजनात्मक बुद्धि, चिम्टे बुद्धि, सत्ताप्रबुद्ध, सत्ताहीन प्रबुद्ध जस्तोसुकै बुद्धि प्रयास गरिएमा फेला पर्न सक्छ । म चिम्टे बुद्धि अन्तरगत पर्दछु । बाजे र थकालीले राजनीतिक चिम्टाको प्रयोग गरेर मलाई बौद्धिकताको शिखरमा पु¥याएका छन् । ममा सृजनात्मक सक्षमता पटक्कै छैन, प्रमाणपत्रका थाक मैले सकेसम्म सङ्कलन गरेको छु ।
समानता थकाली चित्त नबुझेपछि मलाई “अर्ध–सामन्तवाद”को मानसिकता बोकेको उल्लू भन्छन् । म पनि तिनलाई सर्वहाराको प्रतिनिधि नभएर निम्नमध्यम वर्गका साक्खै ठूल्दाइ भन्दिन्छु । त्यसपछि टीकाटिप्पणी स्वतः बन्द हुन्छ ।
प्रजातन्त्रबाजे पनि कम छैनन् । उनी मलाई प्रजातन्त्रका कुल्ली भन्न असाध्य मन पराउँछन् । म पनि तिमीले अपुतालीको राजनीतिक जडौरी भिरेका छौ अगाडि नै भन्दिन्छु । त्यसपछि तै चुप, मै चुप जस्तो वातावरण देखिन थाल्छ ।
फेरि बुद्धितिर नै जाऊँ । गाँठी बुद्धिजीवीहरूलाई सृजनाका बिस्कुन फिँजाउन, प्रयोगशालामा घोत्लिरहन र कुनै आविष्कारको अस्तित्व स्थापित गर्न फुर्सद नै हुँदैन । त्यसैले म जस्तो प्रमाणपत्रे बुद्धिजीवीको दलीय राजनीतिमा सहकाल बढेको बढ्यै छ । पूँजीवादीहरू हाम्लाई तयारी माल भन्छन्, तर हामी तिनीहरूलाई विक्रेताको गरिमा प्रदान गर भन्छौँ । निश्चित नाफा प्राप्त गरेर जे पनि बेच्न तयार हुने सरह नै हामी हौँ । पश्चिमेलीहरू बुद्धिजीवीमा विवेक हराएमा प्रजातन्त्रमा भीषण अनावृष्टि हुन्छ भन्छन् । हाम्रो के तर्क छ भने फितलो मुलुकमा प्रजातन्त्र स्थापित हुनुहुँदैन । भयो भने प्रमाणपत्रे बुद्धिजीवीका सहकाल जान बेर नै लाग्दैन ।
महिला बिसौनी— हेर्नुस् दर्शकवृन्द, पुरुष समूहले हाम्लाई जुराइदिएको बिसौनी भन्ने नाम मलाई पटक्कै मन पर्दैन । हाम्रो समूहका राजनीतिक नेतृ, भाष्यकार र नेताका श्रीमतीहरूलाई पनि यो नामले काउछो झैँ भतभती पोल्छ । हामी बिसौनी हुँदैहोइनौँ । हामी सृष्टिदात्री, पालनकत्रृ, संस्कृति संरक्षिका र शान्तिदात्रृ हौँ । समाजका हरेक पक्षमा महिला आधीका हकदार हुन् । हाम्लाई राजनीतिमा ३ प्रतिशतमा झुण्ड्याएर अन्याय गर्दै ९७ प्रतिशतमा पुरुष एकाधिकार स्थापित गरेका छन् । निश्चित योजना निर्धारण गरेर र समय तोकेर महिलालाई हरेक क्षेत्रमा आधीको हाराहारीमा नपु¥याएसम्म प्रजातन्त्रबाजे र समानता ढिस्कोले सास खुस्किसकेको मुर्दा प्रजातन्त्रलाई बिउँताउने परकल्पना नबनाए पनि हुन्छ ।
गाँठी प्रजातन्त्र कहाँ छ ? खुरूक्क देखाउनुस् त । जताततै पुरुषप्रधान प्रजातन्त्रकै सुनामी चलेको चल्यै छ । नेपालमा निरङ्कुशताको अठ्याइै समय–समयमा बालप्रजातन्त्रको घाँटीमा बेरिए झैँ पुरुषप्रधान प्रजातन्त्रकै विश्वमा राइदाइँ चलेको छ । अमेरिकामा पुरुषप्रधान प्रजातन्त्रकै बाढी उर्लिएको छ । त्यहाँका घनटाउके पुरुषहरू अनुदारवादतिर ढल्कँदै आजको एक्काइसौँ शताब्दीमा पनि महिला राष्ट्रपति बनाउन सिकसिको मान्छन् । समानताको ढिस्कोतिर पनि महिलाप्रति क्षुद्र व्यवहार हाक्काहाक्की गरिन्छ । महिलालाई कुनै क्षेत्रमा पनि शिखरमा पुग्न र्छिके लगाइन्छ । पश्चिमकै सृजनात्मक बुद्धिजीवीका ठम्याइमा त्यतातिर महिलालाई सकेसम्म नङ्ग्याइन्छ भने पुरुषलाई पहिरनको ढिस्को उचालेर पुरिन्छ । पुरुषप्रधान प्रजातन्त्रको मलामी जाऔँ र दुईतर्फी प्रजातन्त्रको आगमनको लागि बाटो खनौँ । मेरो यही मूल फलाको हो ।
विद्यार्थी जमात— प्रजातन्त्रबाजे र समानता ढिस्कोको अस्तित्व हाम्ले जोगाए पनि हाम्लाई विचारमन्थन गर्न अन्तिममा राखिएकोले हाम्रो घोर विरोध छ ।
वर्गीय समाजमा शिक्षा वर्गीय हुन्छ भनिन्छ । हामी प्रजातन्त्रको यस फलाकोलाई व्यवहारमा रूपान्तरण गर्न कम्मर कसेर लागेका छौँ । सरकारी क्षेत्रका विश्वविद्यालय, महाविद्यालय र विद्यालयमा आगो सल्काएर, शिक्षा शुल्क न्यायपूर्ण किसिमले नतिरेर र अनुशासनको घाँटी निमोठेर नीजि क्षेत्रका विश्वविद्यालय, महाविद्यालय र विद्यालयका गुणस्तर झन्झन् उकास्दै वर्गीय फाटो प्रष्ट रूपमा विस्तारित गर्दैछौं ।
ढुक्क हुनुहोस्, नीजि क्षेत्रका अध्ययन केन्द्रहरूमा तस्कर, भ्रष्टाचारी र घूसप्रेमीका छोराछोरीहरू नै यस मुलुकका नेता, अभिनेता, थोकविक्रेता, चिकित्सक, प्रबन्धक र सत्ताप्रबुद्ध बन्ने ध्रुवसत्य छ । चौकीदार, पाले, टहलुवा र बगैँचे हामी सरकारी क्षेत्रका शिक्षालयबाट निरन्तर आपूर्ति गर्न सहयोग गरिरहने छौँ । हाम्रो यस प्रयासबाट समाजमा हुनेखाने र दरिद्रहरू माझ लेनदेन, सेवा र जडौरी भिर्ने ब्यापार फस्टाउने पक्का छ ।
सावधान ! केहीले विद्यार्थीलाई वर्ग होइन समूह भन्ने गर्छन् । हामी सरकारी शिक्षालय क्षेत्रमा भाँडभैलो गर्ने विद्यार्थीहरू वर्ग नै हौँ । गुणरहित शिक्षा प्राप्त गरेर हामी जहिलेसुकै दरिद्र भइरहने भएकाले हामी वर्ग नै हौँ । हाम्रा सुविधा उस्तै हुन्छ । हामी दलीय राजनीतिका किल्लाकाँटा नै हौँ । हाम्ले विश्व बजारमा उधोमुन्टी लगाउनुपर्ने हुनाले हाम्रो एक मात्र सहारा राजनीतिक दलहरू नै हुन् । हाम्लाई न्याय र सत्यप्रेमी पनि भनिन्छ । विशेष परिस्थितिमा फेरबदल हुन्छ । तर यस कथनसँग हामी सहमत छैनौँ । हामी शिक्षाको गुणस्तरबाट लोप्वा लगाइएकोले निरन्तर राजनीतिको बाटोतिर डोरिनु बाहेक अर्काे विकल्प नै छैन ।
दर्शक क्षेत्रबाट भोक लाग्यो, भोक लाग्यो, मर्नै लागियो भन्ने पीडादायक क्रन्दन झन्झन् विस्फोटक हुन्छ ।
एकजना राजनीतिक कवि क्रन्दनलाई मत्थर पार्न एउटा रङ्ग न ढङ्गको कविता सुनाउँछन् :
मागेर ल्याएर खुवाओ, भोक लाग्यो
सन्धि गरेर ल्याएर खुवाओ, भोक लाग्यो
मुलुक बन्धकी राखेर ल्याओ, भोक लाग्यो
ऋण ल्यायो, भोक लाग्यो
कस्तो बेसोमती पेट, भोक लाग्यो
कस्तो अलिच्छिनी पेट, भोक लाग्यो
केही छैन, अन्त्यमा प्रजातन्त्र नै खाओ ।
भोग्य लाग्यो, भोक लाग्यो क्रन्दन निरन्तर सुनिन्छ । प्रजातन्त्रलाई आहारा बनाएपछि जात्रा पनि समाप्त हुन्छ ।
कोटेश्वर, काठमाडौं ।
Subscribe
Login
0 Comments
Oldest






































