फित्काैली डटकम‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’का लागि निबन्ध पठाउने अन्तिम मिति आश्विन १४ सम्म
विद्यालय तहका विद्यार्थीलाई हास्यव्यङ्ग्य साहित्यमा प्रोत्साहन दिने उद्देश्यले स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ का लागि बाङ्गा अक्षरले निबन्ध माग गरेको हो।
काठमाडाैं । ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ का लागि निबन्ध बुझाउने मिति आश्विन १४, २०८३ हो। यो मिति आउन अब ७ (सात) दिन बाँकी छ। विद्यालय तहका विद्यार्थीलाई हास्यव्यङ्ग्य साहित्यमा प्रोत्साहन दिने उद्देश्यले स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ का लागि बाङ्गा अक्षरले निबन्ध माग गरेको हो।
‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका निबन्धकार राजेन्द्र कार्कीले स्थापना गरेको यो पुरस्कारको राशि प्रथम रू. २०,०००, द्वितीय रू. १०,००० र तृतीय (दुई जनालाई) —जनही रू. ५,००० रहेको छ।
प्रतियोगितामा कक्षा १२ सम्मका जुनसुकै देशका नेपालीभाषी विद्यार्थीले भाग लिन सक्नेछन्। भाग लिने विद्यार्थी कुन कक्षामा पढ्दै गरेको हो भन्ने जानकारीका लागि विद्यालयका प्रधानाध्यापकले लेखेको सिफारिसपत्र निबन्धसँगै पठाउनुपर्ने छ।
हास्य र व्यङ्ग्यको सन्तुलनसहित निबन्ध मौलिक र कतै प्रकाशित नभएको हुनुपर्नेछ। निबन्ध बढीमा १५०० शब्दको हुनुपर्ने र देवनागरी लिपिमा टाइप गरेर पठाउनुपर्ने छ।
निबन्ध जुनसुकै विषयमा पनि लेख्न सकिन्छ। निबन्धले प्रवृत्तिप्रतिको व्यङ्ग्य गरेको हुनुपर्ने तर कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय र लिङ्गलाई लक्षित गरी गालीगलौज नगरिएको हुनुपर्ने छ।
एक प्रति फोटो र छोटो व्यक्तिगत विवरणसहित निबन्ध आश्विन १४, २०८३ सम्ममा bangaakshar@gmail.com मा पठाउनुपर्नेछ। निबन्ध पठाउँदा preeti font फाइलमा पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले हास्यव्यङ्ग्य लेखनलाई निरन्तरता दिनेछन् भन्ने बाङ्गा अक्षरले अपेक्षा राखेको छ।
धेरैभन्दा धेरै विद्यार्थीलाई यो प्रतियोगितामा भाग लिन प्रेरित गरिदिन अभिभावकहरू, साहित्यानुरागी र सम्बद्ध सम्पूर्णमा बाङ्गा अक्षरले अनुरोध गरेको छ। आफ्ना सम्पर्कमा रहेका विद्यालय र विद्यार्थीहरूमाझ यो सूचना उपलब्ध गराइदिनसमेत बाङ्गा अक्षरले अनुरोध गरेको छ।
प्रतियोगिताका लागि प्राप्त भएका निबन्धहरू बाङ्गा अक्षरद्वारा नियुक्त निर्णायक मण्डलले अध्ययन गरेर उत्कृष्ट रचनाहरू पुरस्कारका लागि सिफारिस गर्नेछन्। पुरस्कार एक कार्यक्रम आयोजना गरी अर्पण गरिने छ।
०००
Subscribe
Login
0 Comments
Oldest







































