साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बबुरो बेरोजगारको बेलिबिस्तार

Nepal Telecom ad

राजधानीका लाखौँ बेरोजगारमध्येकै एउटा बेरोजगार हो मि. लखरठ्याक । साह्रै दुःख गरेर उसले डिग्री तहसम्मको पढाइ पनि पूरा गरेको छ । मान्छे निकै चल्तापुर्जा पनि हो । उसको चालढाल र डाल हेरेर कसैले पनि बेरोजगार भन्नै सक्दैन । तर ऊ राजधानीको पक्का बेरोजगार हो । दुई कौडीको आम्दानी हुने उसको कुनै पेसा वा व्यवसाय छैन । दिनभरि सडकतिर डुल्नु, ऊजस्तै बेरोजगार साथीहरू जम्मा भएर मेलो न मेसोका गफ चुट्नु, चियापसलमा पसेर पसलेको गालीसँगै उधारो चिया सुक्र्याउनु उसको दैनिकी बनेको छ ।
लखरठ्याक पहिलोपटक राजधानी पस्दा एक्लै थियो । एक्लो ज्यान पाल्दै पढ्न उसलाई त्यति असजिलो लागेको थिएन । रहँदा बस्दा उसले बि.ए. मात्रै होइन, बिहेसमेत गरेर आफूसँग अर्को एउटा बेरोजगार जीवनसाथी थप्यो । ससुराली आर्थिक रूपले कमजोर नै त थिएनन् तर छोरीले आफूखुसी वर छनौट गरेको कुराप्रति बाबुआमाको असहमतिले लखरठ्याकलाई अहिलेसम्म नकारात्मक प्रभाव पारी रहेको छ । ससुरा बा उपसचिव हुँदा उनैको मातहतको एउटा संस्थानमा लिइएको सेवा आयोगको परीक्षामा लखरठ्याक फेल भयो । त्यो पनि लिखितमा चार नम्बरमा नाम निकालेर अन्तर्वार्तामा फेल हुनु कम नमज्जाको कुरो थिएन । उपसचिव ससुराले वास्तै गरेनन् । छोरी नै लगिसक्यो भने यसरी उसलाई वास्ता नगर्नु मनासिव त छँदै थिएन तर भयो त्यस्तै ।
लखरठ्याकका अहिले दुईवटा छोरा र एउटी छोरी छन् । ऊ र उसकी पत्नीसमेत पा“चजनाको परिवार राजधानीमा कसरी प्राण धान्दैछन् यो उदेकलाग्दो एउटा प्रसङ्ग हो । फर्केर दूरदराज गाउँको घर जान पनि ऊ सक्दैन । गाउँमा गएर झन पाइन्छ नै के र ? उताका त यतै ओइरिरहेका छन् । विगत आठ वर्षदेखि राजधानीमा खुलेका सबै सरकारी वा संस्थानीय आयोगका परीक्षामा ऊ सामेल भएको छ । लिखितमा नाम निकालेकै छ तर अन्तर्वार्तामा पास कहिल्यै भएन ।
प्रमुख राजनीतिक पार्टीहरूमध्ये कुनै पार्टीको सदस्यता उसले लिएको छैन । राजनीतिलाई ऊ एकदमै आदर गर्दछ तर पार्टीको सदस्य भएर त्यसको धर्म निर्बाह गर्नु चानचुने कुरो लागेन उसलाई । अरु सबै योग्यता भएर पनि कुनै राष्टि¬य पार्टीको सदस्य नहुनु उसको सबैभन्दा ठूलो अयोग्यता साबित भयो । आयोग खुल्दा एउटा पार्टीको सरकार हुन्छ त त्यही आयोगको परीक्षा र परिणाम घोषणा हुने बेलासम्ममा अर्कै पार्टीको सरकार बनिसकेको हुन्छ । सरकार पार्टीको हुने भयो अनि लखरठ्याकको नाम कुनै पार्टीको सदस्यता सूचीमा परेको हुँदैन । लौ भन्नोस् त यस्तो स्थितिमा उसले जागिर कसरी फेला पारोस् ? त्यसो त पार्टीका कार्डहोल्डरहरू, चुनावमा आफ्नो पार्टीको उम्मेद्वारलाई जिताउन ज्यान फालेर लागिपर्ने खाँटीखाँटी कार्यकर्ताहरूलाई समेत रोजगारी दिन सकिरहेका छैनन् पार्टीवालाहरूले भने अरुको कुरै के भयो र ?
रोजगारका निम्ति अहिले गैरसरकारी क्षेत्र पनि निकै चम्केको छ । लखरठ्याकले त्यता पनि निकै जोरजुलुम प्रयत्न नचलाएको कहाँ हो र ? त्यता झन अर्कै खालको उखरमाउलोले लखरठ्याकलाई अत्यायो । नाताको लहरो त्यता झन लहराएको र व्यक्तिवादी झण्डा झन् औधी फहराएको देख्यो । आयोगको अन्तर्वार्ता पास गर्नुभन्दा कठिन लाग्यो उसलाई गैरसरकारी क्षेत्रका गैरसरकारी कार्यालयहरूमा काम पाउन । रगतको साइनो नभै त्यता त झन् चिहाउनै नपर्ने ओहो ! बेरोजगारी अन्त्य गर्ने सरकारी घोषणा सुनेर लख्ठ्याकको मुटुमा प्राणवायु सञ्चार भयो । लौ अब चाहि“ केही हुने भो । त्यस दिन सडक नाप अभियानबाट अलि छिटै फुर्सद लिएर ऊ डेरा पुग्यो ।
ऊ डेरा के पुगेको थियो अरिँगालको गोलोभित्र पसे झैं भयो । उधारो दूधवाला, उधारो खाने गरेको पसलको पसले, नौ महिना अघिदेखि तीन हजार सापट लिएको सापटी साहू र यस्तै अन्यान्य सरोकारवालाहरू लखरठ्याकको डेरामा धर्ना र अनशनमा जुटेका थिए । उनीहरू सबैको एक सूत्रीय नारा थियो– “बेइमान लखरठ्याक मुर्दावाद ! मुर्दावाद !!” “हजुर ! म मुर्दा हैन ज्यूँदै छु । तपाईंहरू कसैको बाँकी, उधारो र सापट वा ऋण फच्चे नगरी म कहाँ मर्छु र !” लखरठ्याकले यत्ति भन्न के भ्याएको थियो सबकासब धुरिएर कराउन थाले– लौ अहिले तिर, दूधको यति, पसलको यति, कपडा पसलको यति, मासु पसलको यति, पत्रिका पसलको यति….अदिआदि । “त्यसो भए म सबैको बाँकी उधारो अहिले नै तिर्छु, लौ मलाई भित्र पस्न देओ ।” सबैले उसलाई बाटो छोडिदिए ।
लखरठ्याक सटासट भित्र पस्यो– भित्र उसकी पत्नी दराजबाट केटाकेटीका स्कुल फी, ड्रेस, कितावकपि आदिका उधारा विलहरू झिकेर अध्यारो मुख लगाई जोड्दै रहिछन् । उसलाई देख्नासाथ चिच्याइन्– बाइस हजार सात सय चौँतिस् । डेराको ढोका बाहिर खैलाबैला चलिरहेकै छ– ए लखरठ्याक छिटो बाहिर निस्क पैसा लिएर, छिटो बाहिर निस्क । उनीहरू आज यत्तिकै लखरठ्याकलाई छोड्ने मुडमा थिएनन् । “ज्यान बचे देखा जाएगा” उसले निकै सोचविचार गरी एउटा निष्कर्ष निकाल्यो– “कुनै पनि हिसावले म यहाँबाट उम्किनै पर्दछ ।” ऊ तुरुन्तै ग्रिलबेगरको झ्यालको खापा खोलेर ज्यापुको काउलीबारीमा हाम्फाल्यो र बारीबारी बेतोडस“ग दगु¥यो । धर्नाधारीहरूले सुईंकोसम्म पनि पाएनन् । त्यसपछि लखरठ्याककी पत्नीले के कस्तो परिस्थिति बेहोर्नुपर्यो होला यो अवर्णातित छ ।
यसरी यनकेन ज्यान बचाएर लखरठ्याक त्यस दिन त उम्कियो । तर सधैं यसरी उम्किन सम्भव थिएन । स्थायी समाधानका निम्ति जागिर पाउन अन्तिम दम लगाएर एउटा प्राइभेट कम्पनीको डाइरेक्टरसमक्ष उपस्थित भयो । बडो सहानुभूतिका शब्दहरूमार्फत डाइरेक्टरले उसलाई विदा गरे– “तपाईंको बायोडाटा छोडेर जानुहोस्, त्यसैमा तपाईंलाई सम्पर्क गर्न सकिने ठेगाना र फोन पनि उल्लेख गर्नु होला । म तपाईलाई आफै खबर गर्ने छु ।” लखरठ्याक भने निकै आश्वस्त भएर त्यहीं टेबुलको रफ कागज लिई आफ्नो बायोडाटा तयार पार्न थाल्यो :

बायोडाटा
नाम : लखरठयाक् आजीवन बेरोजगार
उमेर : ३५ वर्ष पुग्न ६१ दिन बाँकी
ठेगाना : प्रायजसो सडक, चियापसल र कहिलेकाही ज्यापुको काउलीबारी
शैक्षिक योग्यता : दुईदुई विषयमा डब्बल एम्.ए.
अनुभव : विगत आठ वर्षदेखि राजधानीमा खुलेका कुनै पनि सरकारी वा संस्थानका सेवा आयोगहरूका लिखित परीक्षामा लगातार सामेल भई लिखितमा कहिल्यै फेल नभएको र अन्तर्वार्तामा कहिल्यै पास नभएको ।
सम्पर्क फोन : ४४२०१८८ ………

कलङ्की, काठमाडौँ
narnath@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x