साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरको अड्को

Nepal Telecom ad

आज एक्कासि उसले मेरो उमेर सोध्यो । चैतको चौपट्ट खडेरीमा भेलबाढीले सखाप पारेजस्तो उसको जिज्ञासाको जोसिलो चड्कन मेरा लागि सरासर अफाप भयो । ‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेझैं लगनको दिन निधो गर्ने अग्रिम शर्तमा भएको हाम्रो भेटको ‘लगन’ गेट नै लक भयो । ‘कोही बोलीमा रस र, कोही बोलीमा रिस…’ भएजस्तो, ‘बज्र परेझैं’ झरेको बोली गोली बनेर बिसायो ।
‘हुने हार दैव नटार’ आजसम्म त्यो ज्यानमा नआएको ज्ञान अत्तोनपत्तोसँग आइदियो । पर्वतारोहीको कुहिनो पहरामा ठोक्किएर पल्टा खाएझैं, बुढिइसकेको ज्यानको, छिप्पिइसकेको पहिलो प्रेमले पल्टा खायो । म विचारको बिस्कुन फि“जाएर जोखाना हेर्न थालें । हैन † कुनै कुटुनी बूढीले बेहाल बनाउन बनावटी जाल त बुनिन ? लालहीराको कथामा हीराले लाललाई बाबुको नाम भन्न बाध्य बनाएझैं उसले पनि उमेर भन्न बाध्य बनाएको त हैन ? ठीकै छ । उसकै कुमतिले खति गराउँछ भने म एकरति डराउँदिन । आखिर गति त दुवैको उति–उति नै बिग्रिने हो ।
हाम्रो पक्कापक्की प्रेम चलेको पनि पन्ध्र वर्ष भइसकेछ । भविष्यसम्म भरोसा लिने–दिने कुरामा सम्झौता पनि बकाइदा भएकै हो । हामीले एकअर्काको अभावमा अलपत्र परेर नबाँच्ने, अनेखन्नका कसमहरू, हसहस डेढ दशकमा डेढ लाखचोटि खायौं होला । तैपनि आजसम्म मैले जागिर र उसले उमेरको उन्मूलन हुन लागेको कुरो उक्काएनौं । त्यसैले म त पुरानो विचारले प्रभावित नयाँ मान्छे यस्तो प्रश्नको पर्खाइमा पटक्कै थिइनँ ।
हुन त हाम्रा चार आँखाको प्यार चल्दा पनि उमेरको उचाइ उत्तिको मिल्दैनथ्यो । आँखाको जम्काभेटसँगै उमेरको कुरो उक्काउँला भन्ठान्थें । यत्तिका दिनसम्म त्यत्तिका कुरा हुँदा पनि उसले यो कुरो कहिल्यै उकेलेन । आज एकैचोटि ‘माछो माछो भ्यागुतो’ भनेझैं अर्कै कुराको आशमा झण्डै मेरो सत्यनास भएन । अन्धो प्रेममा अन्धाधुन्द अघि बढेको बेला सालको पात सुकेर खङ््ग्रङ्ङ भएझैं, जाजुल्ले ज्ञानले मेरो लुखुरे ज्यान डङ्रङ््रग पछारियो ।
भनिन्छ नि, परिवर्तन चाहनेले त जातभात, ठूलोसानो, कालोगोरो केही भन्नुहुँदैन । म पनि परिवर्तन चाहनेमध्येकी अपरिवर्तनीय मान्छे हुँ । त्यसैले त्यो बेला ओठ निचोर्दा दूध आउने दौंतरी भए पनि नाइ“नास्ती गरिन“ ।
खाँट्टी कुरो नढाँटी भन्नुपर्दा म महिलावादी मान्छे हुँ । माझाघर माइला मुखियाले असी वर्षमा पचास वर्ष भएँ भनेर पन्ध्र वर्षकी मसिनेकी छोरी मिठ्ठेलाई बिहे गरे । ‘पाले त पुण्य मारे त पाप’ भनेर बालख छोरी बैता लाए । परिवर्तन चाहनेले त परम्परालाई यसरी पछ्याउनै हुँदैन । फेरि जताजतै अस्पतालबिनाका नर्स जस्तो विधवाको बिगबिगी बढ्छ । मिति पुगेका बूढासँगको जोडाले आजसम्म भएका घटनाहरू ताजै छन् । पछि गएर तिनै बेसहारा विधवाहरू बोक्सी हुन्छन् । रिस उठेका जतिलाई ‘काँचो मूला’ खाएझैं कड्याप्पै खान्छन् । यस्तो उत्पात मच्चाउने बोक्सीहरूको उर्लिंदो भेल रोक्न, मैले उसैसँग मेल गरें ।
मुलुकमा आमूल परिवर्तन ल्याउने मात्र भनेर हुँदैन । परिवर्तन गर्न त छिप्पेका केटीसँग कलिला केटाको बिहे गराउनुपर्छ अनि मात्र मुलुकमा आमूल परिवर्तन आउँछ । म अहिलेसम्ममा जम्माजम्मी पच्चीस वर्ष पुगें । पच्चीस वर्षका बरसँग हर कुरा मिल्छ । मैले अरूहरू सबैलाई भन्ने कुरोको चुरो यही हो । म त उसको साथ पाएपछि साथ नछोडी काखमै मर्न चाहन्छु । काखमा मर्न पाउने भेउ पाएरै, मैले उसैसँग बिहे गर्ने ह्याउ निकालेकी हुँ ।
अर्को कुरो, विधवाको बि“डो पनि विधुरले थाम्लान् भन्ठानेर नयाँ काममा नाम दराउने होडमा जोडसँग दौडेकी हुँ । त्यसैले त आजसम्म नाता नपर्नेलाई दादा भन्न भरसक भुल्दिन“ । लौन † आज अञ्जानमै उसको अडबाङ्गे अड्कोले मलाई अलमल्ल पा¥यो ।
‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छाबाउको अनुहार’ भनेजस्तो मैले आजसम्म नछाँटेको फोकट्या फुटानी कहिल्यै छाँटिन । सङ्कटकालको सङ्कटले घाँटी टनटनी कसिंदा पनि कसैलाई ढाँटिन । कसैले सुईंको नपाउने गरी सुटुक्क भन्नुपर्दा म पच्चीस वर्ष भएको, पच्चीस वर्ष भयो । पच्चीस वर्षपछि पटक्कै उमेर बढेन । सम्पूर्ण देशको राजनीतिक, आर्थिक, शिक्षा, स्वास्थ्य तथा भौतिक सुविधा केही अगाडि नबढेका बेला मेरो बिचरो उमेरमात्रै बित्थामा किन बढ्थ्यो त ! नत्र जसले सोध्दा र जहाँ लेख्नुपर्दा पनि किन तँछाडमछाड गर्दै पच्चीसै अघि आउँथ्यो त ?
हैन ! कुराको धुर मारेर, घरजमको सुर कस्ने बेलामा, ‘फर्सीघारीमा हराएको हँसिया’ जस्तो नाथे एउटै कुरामा के हराउनु ? आफू त अक्कले काकाको काखमा हुर्केको मान्छे । अक्कलले अप्ठ्यारोमा सक्कल बनाउन सकेकै छ । झ्वाँकी मान्छेले भको कुरो भन्नलाई केको आइतबार बार्नु भनेर भन्दिहालें– पच्चीस वर्ष भको पच्चीस वर्ष भो भनेर । मैले भनिसक्न नपाउँदै उसले सय प्रतिशत सहमति जनायो । उसको बुझाइले मलाई बिल्कुलै बिगारेन । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तो म बिनाबित्थै तर्सेछु । अन्तमा ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ भयो । आजसम्म जो जति उमेरको भए पनि अब उप्रान्त उमेरको गन्ती पच्चीस वर्षबाट गणना गर्दै जाने एकबुँदे सहमतिमा दुवैबीचको वार्ता टुङ्गियो । ऊ मलाई पाएर मख्ख पर्यो । म अब त आगौंदेखि छब्बीस वर्ष लाग्न पाइने भयो भनेर दङ्ग परें । यो आमूल परिवर्तनको पहिलो प्रयास सफल भयो । झिङ्गाको पित्त जत्रो चित्त भएको मेरो मरञ्च्याँसे मन मनग्ये रमाइरह्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x