विश्व विनोदमास्टरसापको इमान्दारिता
बेला बेलामा मास्टर सापसँग कुराकानी हुन्छ । उठबस गरिन्छ । तर आजकाल मास्टरसापको उठबस इमान्दारिताको हनुमान चालिसा बनाउँ कि जस्तो पो लाग्न थालेको छ त । इमान्दारितामा आजकालका गुरुजीहरू असाध्यै इमान्दार भेट्टाउँछु । आजकालका गुरुजीहरू स्कुल भन्दा घर परिवारप्रति असाध्यै इमान्दार भएको भेट्टाउँछु । अरे बाबा, गुरुजीको घर छ, परिवार छ, अनि घर परिवारलाई समय दिनु परेन त । अझ गुरुहरू घर पायकको जागिर खाएर घर परिवारको काममा इमान्दार हुनु भएको छ नै । त्यसो नहुँदो भने खालि पिरियडमा घरमा भैंसी ब्यायो कि ब्याएन भनेर घर पुग्नु भएकै छ । बिहान गोबर सोहर्न बिर्सेका मास्टर साबले दिउँसो हाफटाइममा एक मुरी गोबर हुइँक्याएर आएछन् । ती मास्टर साप गोबर नधोइकन कक्षामा छिरेछन् अनि हेडसरले किन गोबरै सहित हो सर कक्षामा भन्दा उन्ले भनेछन्— के गर्नु सर विद्यालयको काममा बफादार हुनु नै प¥यो नि, गोबर फाल्दा फाल्दै घण्टी बजिसकेछ त्यसैले इमान्दारिता प्रकट गर्न झ्वाट्ट कक्षामा पसिहालेंँ सर ।
नीतिले घरपायकको बनाएर उहाँलाई राज्यले लायकको नायक बनाई रहेछ । बिहान धान काट्न गए पनि, झाँट्न गए पनि, अर्काको मेलामा गए पनि, पार्टीको भेलामा गए पनि मास्टरसाप अन्तिम पिरियडसम्म भने पनि हाजिर गर्न आएर विद्यालयमा सबै दिन हाजिर भएर हाजिरकापीमा इमान्दारिता देखाइरहनु भएको छ । पार्टीको भेलामा मास्टरसापकै विद्यालय डे«समा गएर म विद्यालयको शिक्षक भए पनि पार्टीको काममा दत्तचित्त भएर लागेको छु है भनेर उहाँले इमान्दारिताको लक्षण दिइरहनुभएको छ । पार्टिको काममा दिनभर फुलटाइमा जुलुस, संगठन निर्माण, धर्नामा लाग्नेले विद्यालयको भर्नामा पार्टटाइम चिन्तन देखाएर इमान्दारिता पार्टी र विद्यालय सबैमा खरो इमान्दार देखिनुहुन्छ ।
विद्यालयमा आफ्ना मान्छे भर्ना गर्न उहाँ इमान्दार हुनुहुन्छ । आखिर समाज र पार्टी पनि आफ्नै न हो । एस.एल.सी. परीक्षाको बेलामा गार्ड नबस्ने मास्टरसाबहरू इमान्दारिता अझ बढि देखाएको पाइन्छ । शिक्षक डे«समै परिक्षा केन्द्रको वरिपरि गिद्दले सिनो घेरे झैं, विद्यार्थीलाई चिट चोराएर पनि पास गराउन सकिन्छ भनेर उहाँ विद्यार्थीप्रति अत्यन्तै इमान्दार देखिइरहनु भएको छ । इमान्दारितामा पुरस्कृत गर्नुपर्छ भने उहाँहरूलाई नै गर्नुपर्छ किनकी उहाँ रक्सी खाएर पनि पढाउन आउनुहुन्छ । अरे रक्सि खाएर घरमै सुतेको भए के लाग्थ्यो र कमसेकम पेट तिनपानेले भरेर त आउनु भएको छ । आखिर पेट, विद्यालयप्रति इमान्दार त उहाँ हुनुहुन्छ रक्सी नै खाए पनि । उहाँ यति इमान्दार हुनुहुन्छ भने उहाँले बिदेशी रक्सी खानुहुन्न, उहाँ त गाउँमै बनेको कोदोरोल वाटर नै बुत्याउनु भएर देशप्रति र नेपाली कोदो प्रतिको राष्ट्रिय आस्थामा इमान्दारिताको छनक दिएर अराष्ट्रिय विदेशी रक्सी खानेलाई दनक दिई रहनु भएको पाइन्छ ।
सोमबार विद्यालयमा हाजिर भएर बिहिबारसम्म पढाएर शुक्रबारदेखि आइतबारसम्म उहाँ घरकै काममा व्यस्त भएर पनि हाजिर कपिमा पूरै हप्ताको हाजिर धस्काएर शिक्षा कार्यालय र नेपाल सरकारप्रति इमान्दारिता र नैतिकताको लागि जम्नु भएको छ । शिक्षाले तालिममा बोलाएको बेला सदरमुकामा दश वटा अफिसको काम बोकेर आएर तालिम अवधि भर व्याङ्क, शिक्षा कार्यालय, छोरा पढेको निजी बोर्डिङ, आफन्त भेटघाट, घरको मालसामान किनमेल सबै भ्याएर सबै संघ संस्था र परिवार प्रतिको इमान्दारिता प्रकट गर्न हाम्रा मास्टरसापलाई कसैलाई सक्दैन । उहाँ तालिममा निदाएर निद्रादेवीको इज्जत राखेर इमान्दारिता देखाउनुहुन्छ । साथि भाइप्रति उहाँ असाध्यै इमान्दार हुनुहुन्छ, बेला मौकामा बजारका चुलाचौकामा बाह्रमासे मिटिङमा तिन बुक खेलेर, कोदोरोल वाटर पेलेर साथीभाइको करकापलाई शिरोपर गरेर इमान्दार बन्नुहुन्छ । पाँच बर्ष अघि खाएको भट्टिको पैसा पसलेले बिन्तीभाउ गर्दा अहिले तिरेर पनि इमान्दारिता देखाउनु उहाँको अर्को विशेषता हो ।
विद्यालयका निरिक्षक त परै जाओस् स्रोत व्यक्ति पनि आफ्नो कार्यकालमा नपुगेको ठाउँमा बसेर विद्यालय हप्ताको चार दिन चलाएर कतिपय मास्टरसापले कमसेकम स्रोत व्यक्ति र विद्यालय निरिक्षक भन्दा बढ्ता इमान्दारिता देखाउनु भएको सोह्रै आना हो । तर एक दिन एकजना मास्टरसापकोमा एकजना विद्यालय निरिक्षक पुगेछन् त्यति बेला ती शिक्षक मस्तले निदाइरहेका रहेछन्, पछि विद्यालय निरिक्षकले किन कक्षामा निदाउनु भएको भनेर सोध्दा उन्ले यस्तो जवाफ दिएछन्– कहाँ निदाउनु सर, रामायण पढाउँदै थिएँ, कुम्भकर्ण कसरी निदाउँछ भनेर विद्यार्थीलाई देखाएको पो हो त ।
यहाँ स्थायीले अस्थायीको सरुवा गर्दा पनि मास्टरसाबहरू इमान्दार बनेर सरुवाको करुवा बोकेर हिँडिरहनु भएको छ, आखिर हरूवा मास्टरलाई अस्थायीले पनि जिल्ला शिक्षा समितिमा बसेर घुँडा धसेर धपाउदा पनि इमान्दार मास्टरसाबहरू गाउँमा शिक्षाको लागि जानु इमान्दारिता नै हो । निजामतिमा धेरै काम गर्नेलाई दीर्घ सेवा पदक दिइन्छ तर शिक्षण पेशामा त्यो लागु नहुन पनि सक्छ । तपाइँलाई थाहा नै होला यहाँ कति शिक्षकहरू दीर्घ सेवा पदक पाएर सुगमबाट दुर्गमको सरुवा पाउनु भएको छ । तर पनि इमान्दार बनेर मास्टर साबहरू संघ संगठनको झण्डाको हावाले कावा खाइ रहनु भएको छ ।
सदरमुकाम नजिकका पायक पर्ने ठाउँमा नेताका श्रीमती मास्टर्नी भएर आउँदा विस्थापित हुने मास्टरसाबहरू पार्टीको निर्णय भनेर इमान्दार र बफादार पार्टीप्रति भएको पनि बग्रेल्ती उदाहरण पाइन्छ । कुनै बेला नेताको घरमा पैसा पु¥याएर जागिरको थमौती गरेका यिनीहरू आज जागिरलाई बपौतिको रुपमा लिइरहेका छन् । भारतीय सर्टिफिकेट ल्याएर पनि जिल्ला शिक्षा कार्यालयमा पेस गरेर कमसेकम शैक्षिक योग्यताको प्रमाण पत्र त पेस गरेर इमान्दारको कसि लगाउने र विद्यालयमा मसि लाउने गर्नु भएकै छ ।
एक दिन एक जना मास्टर साबले विद्यालयको कापि आफ्नी आठ पासकी श्रीमतीलाई चेक गर्न दिएर इमान्दारिता देखाउनु भएको रहेछ । आखिर परीक्षाको कापि नै चेक नगरि विद्यालयमा विद्यार्थीको टाउको हेरेर नम्बर हाल्ने शिक्षकको दाँजोमा उहाँ त कमसेकम आफ्नी श्रीमतीलाई कापि चेक गर्न त लगाउनु भएको छ । अर्का एक जना मास्टरसाब त कापी चेक गर्दा कापिको सबै लाइनमा रातो कलमले चिन्ह लगाउँदै अन्य शिक्षकसँग राजनीतिक गफ गर्दा रहेछन्, पैतालिस मिनेटको एक खालि पिरियडमा त माड्साबले पैतालिस वटा नै कापिमा रातो धर्कोको रेजा लगाएर कापि चेक गरेको पुष्ट्याँइ गरेछन् । कमसेकम उहाँ पनि इमान्दार हुनुहुन्छ किनकी परीक्षाको कापि नै चेक नगर्ने मास्टरसाव भन्दा त उहाँ इमान्दार देखिनु भएको छ कापीमा रातो रङ्ग खर्चनेमा । उहाँ गोजीप्रति इमान्दार देखिनुहुन्छ कारण पैसा नै सबै थोक हो भनेर उहाँलाई मज्जाले थाहा छ त्यसैले उहाँ वर्षको एक पटक रातो कलम किनेर पु¥याउनु हुन्छ । धार्मिक दृष्टिकोणले उहाँ निकै इमान्दार देखिनु भएन र भन्या किनकी उहाँ गणेश भगवान र लक्ष्मी माताप्रति धन रक्षाको रुपमा इमान्दार देखिनु भएको छ ।
विद्यालयमा थोरै विद्यार्थी भएपछि खेल्ने सामग्री कसले चलाउने, तर यस कुरामा हाम्रा मास्टर साहेबहरू ती खेल सामग्रीप्रति निकै इमान्दार हुनुहुन्छ किनकी उहाँले ती शैक्षिक तथा खेल सामग्री घरमा लगेर आफ्ना छोरा छोरीलाई लगेर दिनु भई छोराछोरी प्रतिको इमान्दारिता प्रकट गर्नु भएको छ । विद्यालयमा चाहिने पाठ्यक्रम र शिक्षक निर्देशिका नभए पनि मास्टर साहेबहरू शिक्षा नीतिको पुस्तक भने खोजेर ल्याई इमान्दारिताको प्रमाण जुटाउनु हुन्छ तर उहाँ शिक्षा नीतिको अन्य पेज भन्दा बिदा लेखिएको पेज र सेवा सुबिधाको पेजमा उहाँ असाध्यै सामिप्यता राख्नुहुन्छ र ती कुराप्रति निकै इमान्दार हुनुहुन्छ । उहाँ बन्द प्रति इमान्दार हुनुहुन्छ । गाडीमात्र बन्द गर्दा उहाँको स्कुलमा गाडि नै नपुगे पनि विद्यालय बन्द गरेर आन्दोलनकारीप्रति इमान्दारिताको नमुना बनिदिनुहुन्छ । उहाँलाई क्यालेण्डरप्रति असाध्यै मोह छ । यदि मिल्ने भए धेरै बिदा लेखिएको क्यालेण्डर उहाँको विद्यालयमा झुण्डिन्थ्यो होला । र उहाँ क्यालेण्डर प्रतिको इमान्दारिता प्रकट गरिरहनु भएको छ । जदौ !
लमजुङ
Subscribe
Login
0 Comments
Oldest








































