हरि खनालखल्ती खलास
भर्खर काठमाडौं आउँदा बाले भन्थे, बसमा होस राखेर हिंड है पाकेटमारहरूले खल्ती खलास पारिदिन्छन् । बाबाको कुरा सुनेर बस चढ्दा ढक्क मुटु फुल्थ्यो । पैसोलाई पाकेटमा लेप्ने अनि दायाँ हातले चेप्ने काइदा गरेर मात्र हिंडिन्थ्यो । यदाकदा बसमा पाकेटमारले बिचल्ली पारेर रोइरहेका यात्रुहरू पनि देखिन्थे । रत्नपार्कबाट गुडेको साझा बसमा भद्रकाली नपुग्दै खल्ती खलास हुन्थ्यो र खल्ती खलास गर्नेलाई कण्डक्टर दाजुहरूको कृपा भएर होला रोक्नै नमिल्ने स्थानमा ढ्याक ढ्याक गरेर रोकिदिन्थे अलि पर पुगेर यात्रु रुन थाल्थे । यस्ता घटनाहरूले खल्तीमा चल्तीका दुई चार रुपैंयाँ हुने हामीजस्तालाई पनि दुखाउँथ्यो । अचेल त्यो धन्दा संगठित, व्यवस्थित र कानुनीसमेत भइसकेको छ । त्यस हिसाबले त्यतिबेला पाकेटमारी गरेर हिंड्ने दादाहरूलाई खोजीखोजी सम्मान गर्नुपर्छ भन्ने मेरो अभिमत । आउनुहोस् आज म तपाईंहरूलाई दुईवटा संस्थागत खल्ती खलास कम्पनीका करामत सुनाउँछु । एउटा शैक्षिक खल्ती खलास र अर्को स्वास्थ्य खल्ती खलास ।
लहडै लहडमा बिहे गरियो, स्वभाविक रुपमा बालबच्चा भइनै हाले । तोते बोली बोल्दैमा स्कुलमा घचेट्ने रहर लाग्यो । चिटिक्क परेको पोसाक लगाएर बच्चा भन्दा ठूलो ब्याग हातमा लिई स्कुल पठाउन पाए यो धर्तीको सबैभन्दा ठूलो मानिस भइन्छ भन्ने कुराले घर गरिहाल्यो । अङ्ग्रेजी स्कुलमा पढायो भने डाक्टर, इञ्जिनियर, पाइलट र त्यो पनि नभए बेलायतको जस्तो नेता वा अमेरिकाको राष्ट्रपतिजस्तो ठूलो मान्छे बन्छ, अंग्रेजीमा हात्ती अङ्क ल्याएर नेपालीमा शुन्यराम ल्याए आप्mनो सन्तानलाई हिरो मान्ने हाम्रो सिद्घान्तले गर्दा त्यस्ता विद्यालयमा पठाउनै प¥यो । नर्सरी केजी देखि तपाइँ हाम्रो खल्ती खलास सुरु भयो । खल्तीखलास गराउनेलाई के को जोखिम ? कसैले समात्छ भन्ने डर पनि भएन, कतै कर तिर्न पनि परेन । किन यतिका दाम हजुर भनेर सोध्ने अभिभावक त तल्लो स्तरको हो भन्ने अर्को रसिक सिद्घान्तले हामीलाई फनफनी घेरेकै छ । कम्प्युटर सुविधा छ भनेर कम्प्युटरको पैसा लिए पनि कवाडीघरबाट बिग्रेको कम्प्युटरको हार्डवेयर ल्याएर एउटा टेबिलमा राखिदिएपछि तपाइँ हामी ढुक्क । कट्टु खोलेर पिसाब गर्न नजानेको नानीको लागि हामी स्वीमिङ पुलका पैसा पनि तिर्छौैं र पुस्तकालय बापतको रकम पनि भर्छौं । तर ती चिज छन् कि छैनन् भनेर खोज्दैनौं । यस्ता कुराको खोजी गर्ने अभिभावक त गुड गार्जेन भित्र पर्दैन, अर्कोले प्याच्च भनिदिन्छ, कस्तो छोटो मान्छे रहेछ, नसक्नेले किन पढाउनु नि बोर्डिङ स्कुलमा ? वाह, क्या अच्छा अभिभावक ? कस्तो रमाइलो तरिका ? खल्ती खलास गर्न यहाँ कसैले खल्ती छाम्न आउनुपर्दैन, तपाइँ हामी आपैंm म्याराथुन गर्दछौं । भन्नुहोस् त यो खल्ती खलास गर्ने टेक्निक कम राम्रो छ ? यसलाई व्यवस्थित, संगठित भन्नु परेन त ?
अर्को तरिका छ खल्ती खलास गर्ने । यसमा धनी, गरीब, चोर, साधु, महन्त, सन्त कसैको बारबन्देज छैन, सबका सब सोहोरिएर खल्ती खलास हुन ओइरिन्छन् । विरामी भयो बाँच्न र बचाउन मन लागि हाल्छ । सरकारी अस्पताल जानुहोस् धाउँदा धाउँदै परमधाम । झर्को र फर्को चर्को भएपछि विरामीको बेथा आधाजति उसै बढ्ने अनि क्लिनिक र तर्सिङ होममा नगएर कहाँ जाने ? आउनुहोस् स्वास्थ्य क्षेत्रमा खल्ती खलास गराउने केही तरिकाहरू सार्वजनिक गरौं ।
तपाइँलाई रुघा लागेको छ, घरमा बेसारपानी पकाएर खाने जमाना गयो । त्यस्तो पट्यारलाग्दो काम गर्नुका साटो यसो अस्पताल तिर गयो, सेता कपडाहरूसँग भेट पनि हुने, खल्ती चेट पनि हुने । रुघा त्यसै लाग्छ ? तपाइँको रगतमा खराबी हुन सक्छ– रगत जाँच गर्ने प¥यो । पिसाबमा खराबी हुन सक्छ– पिसाब जाँच गर्ने प¥यो । आधुनिक खाना हो खानमा खराबी हुन सक्छ–दिसा जाँच गर्ने प¥यो पानी त कुरै नगरौं । रुघा हो कतै नाककै खराबी पनि हुन सक्छ–नाकको एक्सरे जाँच गर्ने प¥यो । लागेको रुघा हो तर कतै रुघा लाग्नु डायबेटिजको सङ्केत त होइन ?– सुगर जाँच गर्ने प¥यो । पर्खनुस्, यो अल्सर र क्यान्सरले पनि निकालेको हुन सक्छ– भिडियो एक्सरे जाँच गर्ने प¥यो । रगत खराब भएको भए मुटुमै पनि समस्या हुन सक्छ– मुटुसम्बन्धी जाँच गर्ने प¥यो । रुघा लाग्दा फोक्सोमा पनि केही न केही समस्या हुन्छ– छातीको एक्सरे जाँच गर्ने प¥यो । मुटु र फोक्सोमै समस्या भएपछि कतै मष्तिष्कमा पनि त्यसको प्रभाव हुन सक्छ– एकपटक सिटिस्कयान जाँच गर्नै प¥यो । डाक्टरसाहेबले लामै अनुसन्धान गर्दछन् ।
के गर्ने मर्न भन्दा बौलाउन निको, तपाइँँ खेतबारी बन्दकी राखेर भए पनि साराका सारा परीक्षण र औषधि उपचारमा खर्चनुहुन्छ । अस्पतालमा परीक्षणले कमाउने कुरा त छँदैछ, औषधि बेच्नेलाई पनि त त्यतिकै काम दिनु पर्यो नि । रुघा लागेको एउटा औषधिले हुन्छ ? तपाइँलाई जीवाणु प्रतिरोधात्मक औषधि दिनु प¥यो नि । मेरी बास्सै त्यस्तो औषधि खाँदा भिटामिन खानुपरेन ? भिटामिन लेखिदिएको छु भनेपछि तपाइँँ पनि खुस, औषधि पसल पनि खुस । त्यतिले कहाँ पुग्छ र ? तपाइँले भविष्यमा जमाउने खल्तीलाई खलास गर्ने निरन्तरता चाहियो नि, त्यसकारण तपाइँलाई सातदेखि पन्ध्र दिनसम्मको तारिख बोकाइन्छ । कति सजिलो तरिका खल्ती खलासको । तपाइँलाई खल्ती खलासको अर्को घटना सुनाउँछु, यो सुटुक्क सुनाइएको हो अरु कसैलाई नभन्ने सर्तमा । आजभोलि प्रसूती हुनेहरू धेरैका अपरेशन गर्नुपर्ने हुन थालेको छ । सामान्य सुत्केरी गराएर अस्पताललाई के फाइदा ? सरकारी अस्पतालमा जानुपर्छ । सामान्य सुत्केरी गराउन, जीवाणु संक्रमण भएर उहीँ चट हुने डर भएपछि प्राइभेट अस्पतालमा नगएर कहाँ जानू ? प्राइभेट अस्पतालमा सुत्केरी जाँच गराउने धेरैका अपरेशन केश हुन थालेको छ । जोखिम छ है भनेपछि नमानेर भयो ?
लौ हेर्नुहोस् त खल्ती खलासका बाटाहरू । हो यसै गरी खल्ती खलास गर्दागर्दै जिन्दगी खलास, अनि के को तलास ? ए बसमा खल्ती खलास गर्दै हिंड्ने मित्रहरू ! किन गर्नुहुन्छ त्यो रामधुलाई हुने खल्ती खलास बरु तपाइँँहरू पनि एकदुई बोर्डिङ नाम गरेका अङ्ग्रेजी स्कुलको तलास गर्नुहोस्, मिलेरै भए पनि एकाध अस्पतालमा लगानी गर्नुहोस् । खल्तीहरू आपैंm खलास हुन आइपुग्छन् । सर्प पनि मर्छ लट्ठी पनि जोगिन्छ कि कसो ?
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































