साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैंमा परदेशी सम्झेर

Nepal Telecom ad

तिमी खाडी उडेपछि
अष्टमीको दिन काटिएको खसीझैं
छटपटाइरहेछु
सिकुवामा उम्रिन नसकेको जमराझैं
चाउरिएकी छु
विधवाको निधार पर्खिएको सेतो अक्षताझैं
बेरङ्ग भएकी छु
मेरो खसम
यसपाली त सँगसँगै मनाउँला भनेको दशैं
तिमी उडेपछि
जुठो बारिएको घरझैं
उदास भएकी छु ।

सम्झिरहेकी छु,
मान्छे बेच्ने कम्पनिको टिसर्ट लगाएर
जब तिमी उडेका थियौ
खाडीको आकाशतिर
मेरो सिमखेत आँखामा धेरैबेर
ती बाह्र नेपालीहरूको तस्बिर नाचिरहेको थियो
जो बिना कुनै कसुर
मारिएका थिए
इराकको तातो बालुवामा ।
त्यहाँ सेरिएको
घाँटी मेरै थियो
र गोलीले छेडेको एउटा लास तिम्रो थियो ।

हामी त त्यही दिन
मरिसकेका थियौँ विमानस्थलमा
तिमी मरेका थियौ
दशैंको च्याङ्ग्रोझैं बेचिएर
म मरेकी थिएँ
तिम्रो उडानलाई रोक्न नसकेर ।

मेरो खसम !
महंगीको मालश्री गाउँदै
पसेको छ दशैं सधैंझैं गाउँमा ।
सधैझैं रातोमाटो र कमेरो छ्यापेर
मैले घर चोख्याइसकेकी छु
तर कस्सम
मेरो आँखामा कुनै सुन्दर सपना छैन
तिमी उडेपछि
तिम्रो घरमा कुनै ढुकढुकी छैन ।

सिथिल भएको छ गाउँको पाखुरा
बिरुप भएको छ गाउँको सौन्दर्य
बुढाबुढीहरू भन्दैछन्–
तिमी उडेपछि
केटीचौरको लट्ठेपिङ छिनेर
भाँचिएको छ गाउँको मेरुदण्ड ।

तिमी उडेपछि
जुठो बारिएको घरझैं
उदास भएकी छु ।

नवलपरासी

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x