भूपिन खड्कादशैंमा परदेशी सम्झेर
तिमी खाडी उडेपछि
अष्टमीको दिन काटिएको खसीझैं
छटपटाइरहेछु
सिकुवामा उम्रिन नसकेको जमराझैं
चाउरिएकी छु
विधवाको निधार पर्खिएको सेतो अक्षताझैं
बेरङ्ग भएकी छु
मेरो खसम
यसपाली त सँगसँगै मनाउँला भनेको दशैं
तिमी उडेपछि
जुठो बारिएको घरझैं
उदास भएकी छु ।
सम्झिरहेकी छु,
मान्छे बेच्ने कम्पनिको टिसर्ट लगाएर
जब तिमी उडेका थियौ
खाडीको आकाशतिर
मेरो सिमखेत आँखामा धेरैबेर
ती बाह्र नेपालीहरूको तस्बिर नाचिरहेको थियो
जो बिना कुनै कसुर
मारिएका थिए
इराकको तातो बालुवामा ।
त्यहाँ सेरिएको
घाँटी मेरै थियो
र गोलीले छेडेको एउटा लास तिम्रो थियो ।
हामी त त्यही दिन
मरिसकेका थियौँ विमानस्थलमा
तिमी मरेका थियौ
दशैंको च्याङ्ग्रोझैं बेचिएर
म मरेकी थिएँ
तिम्रो उडानलाई रोक्न नसकेर ।
मेरो खसम !
महंगीको मालश्री गाउँदै
पसेको छ दशैं सधैंझैं गाउँमा ।
सधैझैं रातोमाटो र कमेरो छ्यापेर
मैले घर चोख्याइसकेकी छु
तर कस्सम
मेरो आँखामा कुनै सुन्दर सपना छैन
तिमी उडेपछि
तिम्रो घरमा कुनै ढुकढुकी छैन ।
सिथिल भएको छ गाउँको पाखुरा
बिरुप भएको छ गाउँको सौन्दर्य
बुढाबुढीहरू भन्दैछन्–
तिमी उडेपछि
केटीचौरको लट्ठेपिङ छिनेर
भाँचिएको छ गाउँको मेरुदण्ड ।
तिमी उडेपछि
जुठो बारिएको घरझैं
उदास भएकी छु ।
नवलपरासी
Subscribe
Login
0 Comments
Oldest







































