साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहृदय वेश्याको प्रेममा

Nepal Telecom ad

मैले उसलाई गरेको प्रेम
श्री ३ ले नानीहरूलाई जताएजस्तो अनुराग होइन ।
जस्तो कि तपाईंलाई थाहा छ–
मेरुदण्ड दान गर्ने दधिचिझंै
यो देशको हरेक परिवर्तनमा
आफ्नो रगतको एक अंश दान गरेको
साधारण मानिस हुँ म
जिन्दगीका सहस्र घुच्चीका लेकहरूमा पनि
इमान र नैतिकता
सुरक्षित राखेको छु मैले आफ्नो मुटुजस्तै ।
तर, कहाँ के बिग्रियो ?
मेरै रगतले सिँचिएको यो देश आज
मलाई चाँदीका आँखा जडेर नदेखेझैं गर्छ ।
त्यस्तो के भयो ?
झ्यालिन्चा र लाखेको लुकामारीजस्तो
यही परिवर्तन
छल गरेर मलाई आज बेग्लै आँखाले हेर्छ ।
सबभन्दा छिटो दौडेर
गन्तव्यमा सबभन्दा ढिलो पुग्ने धावकझैं
म कहाँ अलमलिएँ ?
मलाई एक्ल्याएर
सबभन्दा बढी आनन्दित हुन्छन् आज मेरै सहयात्री ।
ज–जसलाई हृदय तप्काएर
प्रतिच्छायाँझैं मैले प्रेम गरेँ
ज–जसलाई खोला तार्न
बुढो मास्टरझैं मैले आफ्नो पिठ्युँलाई पुल बनाएँ
ज–जसलाई विश्वास गरेर
करियाझैं मैले आफूलाई फुटबलको मैदान बनाएँ
ज–जसलाई आदर्श मानेर
सूतपुत्रझैं मैले तिनको लडाइँमा रगत दिएँ
तिनैले निमोठे मेरो गर्धन
तिनैले भाँचिदिए मेरा हातपाउ
उचालेर मेरो हृदयमा आत्महीनता
सु¥याए तिनैले मलाई आत्महत्या गर्न ।
आज किन यो देश उल्टो पिरामिडझैं
उभिएको छ टाउकाले टेकेर ?
पक्कै पाटपुर्जा नमिलेको मेसिनझैं
यो देशको स्वास्थ्यमा भइरहेको छ ठूलै गडबडी
पक्कै यो परिवर्तनमा कहीँकतै केही नमिलेकै छ ।
र, आज काठमाण्डुको मुटुमा थुप्रने फोहोरझैं
मेरा वरिपरि
यति धेरै भँगालाहरू छन्
यति धेरै अन्यायहरू छन् कि
लाग्छ, तिनलाई पन्छाउन
अब एउटा सिस्टम ढल्नैपर्छ ।
जस्तो कि धेरै मान्छे
फुटेर झ¥यामझुरुम कसीझैं
भएका छन् धराशायी
फाल हालेर निराशाको तलाउमा
भएका छन् कति खतरनाक हत्यारा
वा कति हिँडेका छन् आत्मघाती यात्रामा
धुपछायाँझैं यस्तो अनिदो आत्महीनताको वातावरणमा
पनि तपाईंले चाहेजस्तो फाल्न सक्दिन म हातखुट्टा
निर्जर वनमा एकलव्यझैं
अझै सङ्घर्षमा छु म
किनभने मेरा रक्षाकवच हुन् नैतिकता र इमान ।
मान्छेलाई आत्मसम्मान साथ
बाँच्न दिने कुनै कुरा छ भने
त्यो माकुराको ममताझैं निष्पाप प्रेम हो
यस्तो अनिदो आत्महीनताको वातावरणमा पनि
म बाँचेँ आत्मसम्मानसाथ
एउटी विद्रोही युवतीको
निस्वार्थ प्रेममा
जो तपाईंको दृष्टिमा एउटी पतित वेश्या हो ।
(तपाइँ मान्नुस्, नमान्नुस्, हरेक वेश्या
अन्धो सत्ताको नाकमा प्रहार गर्ने
एक अनुपम विद्रोही हो ।)
तपाईं आफैं भन्नुस्,
इमानको यस्तो मसानघाटमा
एउटी सहृदय वेश्यालाई छाडेर
तपाईं कसलाई भेट्नुहुन्छ प्रेमको पात्र ?
एउटी सहृदय वेश्याको प्रेममा परेर
म सोच्दैछु–
जुन विन्दुमा विघटित हुन्छ इमान
त्यही बिन्दुमा धसिन्छ क्रान्तिको रथ ।
जहाँ हरेक स्वाभिमानी मान्छे
बाँच्न बाध्य छ आँगनमा आकाश ताकिरहेको
एक्लो पिखालोखीजस्तै
जहाँ हरेक सही मान्छे
अपमानित छ सूद्रपुत्र कर्णजस्तै
ए सुन, मेरो देशका महान् स्वप्नद्रष्टा,
जिन्दगीमा कहिल्यै बेइमान नभएको एउटा युवक,
एउटा भूतपूर्व छापामार
एक विद्रोही युवतीसँगको
प्रेमको बिन्दुबाटै
गर्न चाहन्छ सम्बन्धहरूको विनिर्माण
हो, त्यही बिन्दुबाटै
गर्न चाहन्छ सहस्र क्षेप्यास्त्रहरूको सञ्चय
र, ढाल्न चाहन्छ
मकाएको काठझैं त्यहाँ चलिरहेको एउटा व्यवस्था ।

भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x