डा. दामाेदर पुडासैनी किशाेरसाला सरकार !
मध्य वर्षातमा
त्यसै छाडेर खेतका समाबाट
अनमोल ओरालै ओरालो बगिरहेको
एक घट्ट सम्भावना बोकेको पानी,
ब्याडमै सुकिरहेको
एक मुट्ठी भविष्य–धानकोे बिऊ,
उमारेर–उम्रनै नपर्ने
दुःखका झ्याम्टा झारहरू,
तरतरी पसिना काढेर
झमझम वर्षिरहेको झरीमा,
पल्टाउँदैन एक चपरी पनि हिलो माटो
र ब्युँझेर दिवास्वप्नदेखि
हेरेर
खिया लागेको कोदाली
मुखको तीतो फाल्छ—
‘साला सरकार !’
दिनदिनै जमाएर युवा जोश
जेठादाइको हटलेमन चुस्किमा
अलिकति कम्प्लेक्सभित्रकी पार्लरवालीको नखरा,
अलिकति स्कुलरोडमा हिँडेकी कलेजगर्लको फेसन,
अलिकति शहरको नवधनाढ्यकी छोरीसँगको
आफ्नै काल्पनिक लभ अफेयर,
अझ मिसाएर
गल्फबाट तेस्रो लभर हाउसमेडको कोसेली आइफोन
युकेमा मामाको छोराले चलाइरहेको ल्यापटप
अनि जागिर नपाएको झोंकमा
म्यानपावरमा भिसा पर्खिहेको एमआरपी
जब संविधानमा आएर अडिन्छ गफ
अनि फुत्त निस्कन्छ–
‘साला सरकार !’
हो, यो साला सरकार नै त हो,
महँगी बढ्यो– साला सरकार
घुसखोरी भयो– साला सरकार
बाटो भत्क्यो– साला सरकार
बत्ती बलेन– साला सरकार
युवा विदेश भासिए– साला सरकार
मुलुक बेलगाम भो–साला सरकार
साला
नागरिक पो कहाँ छ र !
Subscribe
Login
0 Comments
Oldest





































