परशुराम पराजुलीमेरो भुँडी
टन्नै खान्छु म दाल, भात, चटनी मानेर मीठो अनि
ठूलो हुन्न भुँडी अझै तलतलै घट्दै छ यो तैपनि
फर्सीझैँ बनियोस् म भन्छु जहिल्यै गोलो फुकेको भनी
भित्रै पस्छ हुँदैन पुट्ट बिचरो ! खाए पचाए पनि ।।१।।
माग्दा हुन्छ भने अहो ! भनिदिनुस् मागेर लिन्थो चुँडी
ठूलाठालुसँगै थिए गजबका घ्याम्पे र पुन्टे भुँडी
सासै फेर्न कठोर नै किन नहोस् खप्थो बडो गर्वले
भन्थो गर्छु म काम रत्ति नडगी के रोक्छ यो पेटले ।।२।।
पैसा छैन भने कतैतिर भुँडी तेर्स्याउँदा मान्दछन्
मान्छेका अघि पो परिन्छ जगमा ठूलै भनी गन्दछन्
नेता बन्न सकिन्छ मान–मनितो गर्छन् सबैले बुझी
जो भेटे पनि हाँस्छ भन्छ मनले आहा ! फुकेको भुँडी ।।३।।
पाकेका फलफूल, खीर, हलुवा खाएँ पचाएँ कति
धेरै हेर–बिचार गर्छु तर यो छाड्दैन घट्ने मति
इच्छा जाग्छ गणेशझैं उदर होस् ठूलो बनूँ लोकको
कुर्सी, मान मिलोस् र व्यञ्जन मिलोस् तृष्णा नहोस् भोकको ।।४।।
बिन्तीपत्र म हाल्छु हे शिवहरे ! ठूलो भुँडी भैदियोस्
हेप्ने छन् मकनै अझै कतिजना सेखी सबैको झरोस्
कोही छैन भुँडी बिहीन तर यो ठूलो कसैको नहोस्
मेरैमात्र बढोस् बिछट्ट गतिले ताली तमासा बनोस् ।।५।।
जुरोपानी –४, झापा
Subscribe
Login
0 Comments
Oldest









































