साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरपाटी– जिन्दावाद

Nepal Telecom ad

चोरपाटी जिन्दावादको नाराले टोल थर्किएको सुनेपछि म आँखा मिच्दै बरण्डामा निस्कें । असङ्ख्य प्लेकार्ड बोकेका मानिसहरू थिए जुलुसमा । प्लेकार्डमा एक नजर लगाएँ ।
एउटा थियो घुससमूह । घुससमूहको ब्यानरमा सङगठितहरूको प्लेकार्डमा लेखिएको थियो, “घुसखान पाउनै पर्छ । कमिशनतन्त्र जिन्दावाद । भ्रष्टाचारलाई, सदाचार भन । घुस लिन्या र दिन्या असल नागरिक हुन् । असल नागरिकको कदर गर । घुसराज्यको घोषणा गर ।”
अर्को समूह थियो खल्ती खलास । उनीहरूको ब्यानरमा सङगठितहरूको प्लेकार्डमा लेखिएको थियो, “खल्ती काट्ने एक हौं । खल्तीखलास, मौलिक अधिकार हो । खल्ती खलासलाई संवैधानिक हकका रूपमा व्यवस्था गर । खल्ती खलास राज्यको घोषणा गर ।”
अर्को समूह थियो, डाकाको । उनीहरूको ब्यानरमा सङगठितहरूले देखाएको प्लेकार्डमा लेखिएका थियो, “हातहतियारका हामी मतियार, हामीसँग नेताहरू होसियार । हामी राजनीतिका पाना हौं, राजनीतिक नेताका दाना हौं । हुलहुज्जत जिन्दावाद, लाठी गोली जिन्दावाद । हाम्रो हक अधिकार देखियोस्, संविधानमा लेखियोस् । हाम्रो राज्य जिन्दावाद ।”
केहीबेर नारा लगाइसकेपछि उनीहरूले चौबाटोमा कोणसभा गर्न लागे । प्रमुख अतिथिले हात ठाडो पार्दै लालसलाम गरे । अतिथिहरू कसैले जयनेपाल भने त कसैले नमस्कार । कार्यक्रमका उद्घोषकले माइकमा ट्वाकट्वाक हान्दै उद्घोषण सुरु गरे ।
“कोही केटी चोर्छन्, कोही भेटी चोर्छन्, कोही दुबै चोर्छन् ।
कोही गाई चोर्छन्, कोही भाइ चोर्छन्, कोही दुबै चोर्छन् ।
कोही ढुकुटी खान्छन्, कोही सुकुटी खान्छन्, कोही दुबै खान्छन् ।
कोही पकेट काट्छन्, कोही लकेट काट्छन्, कोही दुबै काट्छन् ।
चोरैचोरको माझमा, चोरैचोरको गाँझमा,
सबैलाई चोर अभिवादन, लालसलाम, नमस्कार जयनेपाल, मधेश
भित्रभित्र हाम्रै राज, यसो भन्न के को लाज ।
आदरणीय पेसाकर्मी साथीहरू
खोरभित्र पस्नेले खोरपाटी जिन्दावाद भन्लान्, जोरपाटीमा बस्नेले जोरपाटी जिन्दावाद भन्लान् । ती सबै सा“गुरा नारा हुन् । फराकिलो नारा बनाउन त चोरपाटी जिन्दावाद भन्नुपर्छ । किनभने चोरपाटीमा कुनै क्षेत्र, वर्ण, धर्म, भूगोल तथा जातजातिको विभेद हुँदैन । तपाइ विहारको हुनुहोस् कि चोभारको, लगनखेलको हुनुहोस् वा जाउलाखेलको, दुधपाटीको हुनुहोस् कि भैसेपाटीको यो पाटीमा निर्वाध रूपमा सङगठित हुन पाउनुहुन्छ । चोरपाटीको महाअधिवेशन हुँदैन, महाअधिवेशनको प्रारम्भमा ठूलो र्याली भएको छ । हाम्रा प्रमुख अतिथि, अतिथि कामरेड, महानुभावहरू आइसक्नुभएको छ । यो सभालाई सम्वोधन गर्नुपूर्व हामी हाम्रा पेसाकर्मी साथीहरूले सिर्जना गर्नुभएको चित्र, फोटो आदिको प्रदर्शनी गराउछौं त्यसपछिमात्र हाम्रो आधिकारिक सभा सञ्चालन हुनेछ । सभा सञ्चालन गर्ने कार्यका लागि हाम्रा चोर सरदारहरूले रु एक करोडको सहयोग गर्नुभएको छ । हामी उहालाई पछि राइफल पड्काएर सम्मान गर्ने छौं ।” उद्घोषकले भने र फोटो तथा चित्र प्रदर्शनितिर लागे ।
‘प्रहरी ज्यादती’ लेखिएको एउटा चित्रमा प्रहरीले डा“कालाई हतकडी लगाएको चित्र देखाइएको थियो । ‘सामाजिक विकृति’को शीर्षकको चित्रमा समाजका मानिसहरूले पाकेटमारलाइ समातेर कुटिरहेको चित्र थियो । महिलाको घाटीबाट सिक्री छिनालिरहेको चित्रमा बहादुर साथीलाई सलाम लेखिएको थियो ।
‘चन्दा असुली’ गरिरहेको चित्रमा राजनीतिक दलको रातो झण्डा राखिएको थियो
ठेक्कापट्टा गर्ने कार्यमा मुन्द्रे मुसलेहरूले गरेको प्रदर्शनमा नेताहरूले हात हल्लाइरहेका थिए । एउटा हातले घुसलिएर अर्को हातले नेतागणलाई हस्तान्तरण गरिएको दृश्यलाई नेतागणले अभिरुचिपूर्वक हेरिरहेका थिए ।
मन्त्रीले प्रशासकलाई कुटेको फोटोको माथि ‘हाम्रा साहसी नेतालाई सलाम’ । न्यायालयले सजाय सुनाएका व्यक्तिहरूलाई ‘वीर पराक्रमी योद्घाहरू’ भनेर चिनाइएको थियो भने न्यायालयको ढोकामा बञ्चरोले हानिरहेको दृश्य देखाइएको थियो । सबै चित्र अवलोकन गरिसकेपछि अतिथि र प्रमुख अतिथिहरूले भाषण ठोके । प्रमुख अतिथिको भाषणको सार यस्तो थियो ।
आदरणीय साहसी वलिदानी साथीहरू
यो गौरवमय पार्टीको महाअधिवेशनको उद्घाटन गर्ने अवसर दिनुभएकोमा म हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु । वास्तबमा यो पार्टी महान छ यसमा कुनै संङ्किर्णता छैन । यो दललाई राज्य दिदा कुनै भौगोलिक सिमाना आवश्यक छैन र कुनै जातजातिको घेरा पनि आवश्यक छैन । संसारभरिका चोरहरू एक हौं भन्ने नाराको सार्थक प्रयोग यही दलबाट सम्भव हुन्छ । यस पार्टीमा लागेका हाम्रा योद्घाहरूले हाम्रो राजनीतिमा ठूलो गुन लगाउनुभएको छ । यद्यपि तपाइहरूले बेलाबखत हाम्रो इसारा नबुझ्ने वा बुझीबुझीकन अटेरी गरेर जनताको प्रहरी बन्ने महत्वाकांक्षा राख्नेहरूबाट प्रताडना भोग्नु परेको छ । हामीले निर्देशन दिएका छौं, सकेसम्म तपाइहरूले बारदात गरिरहेका बखत सुरक्षाकर्मीहरू नपुग्नुस् । कसैले समातेर जिम्मा लगाइदिए भने हिरासतमा राखेको र कार्बाही गरेको अभिनय त गर्नुस् तर साच्चै कार्बाही नगर्नुस् । कहिलेकाहीँ सञ्चारमाध्यमहरूले पनि रडाको मच्चाइदिएर तपाइहरूलाई मर्कामा पारिदिने गरेका छन् । हामी त्यस्ता सञ्चार साधनलाई ठीक पार्नेछौं । यसका लागि हामीले हाम्रै सञ्चारमाध्यम पनि बनाएका छौं । कहीलेकाहिँ हाम्रै सञ्चारमाध्यमले पनि तपाइहरूलाई गाली गरेका हुन सक्दछन् त्यसलाई यहाहरूले अभिनय सम्झीदिनुहोला ।
अन्तमा तपाइहरूको महाअधिवेशन सफल होस् र सक्षम डनहरूलाई कार्यसमितिमा चुन्न सफल हुनुहोस् । तपाइहरूकै सफलतामा हाम्रो अस्तित्व निर्भर गर्ने हुँदा हामी तनमन र धनले सहयोग गर्नेछौं । हवस् त धन्यवाद, लालसलाम, जयनेपाल, चोरपाटी जिन्दावाद ।”
प्रमुखअतिथिले भाषण समाप्त पार्दा झनै जोडले ताली बज्यो र हावामा खुडा, खुकुरी, बन्दुक र तलबार हल्लियो । ‘चोरपाटी जिन्दावाद’ लेखेको बेलुन हावामा उड्यो । म डरले लगलग काप्न थालें ।
ए किन कापेको हँ ? पत्नीको चर्को आबाजले सपना टुट्यो तर कानमा उही आबाजले साम्राज्य बनाइरह्यो, चोरपाटी जिन्दावाद
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x