फित्काैली डटकममेरो चस्मा
मेरो चस्मा अहिले टेबुलमै बसिरहेको छ । आँखा कमजोर छ, तर घरको कोठामा लगाइरहन अप्ठेरो लाग्छ । चस्मा चेन्जेबल छ र अलि अलि घाम पनि छेक्छ । गगल्स लगाउनेसँग मेरो तुलना हुनै सक्दैन । गगल्स लगाउनेहरू आफ्नो कुटिल आँखा अरुले नदेखून् भन्ने ठान्दा हुन् । नत्र किन त कुनै सेमिनार हल वा बैठक कोठामा पनि गगल्स लगाएर मानिसहरू गजधम्म बस्छन् ? गगल्सले आफ्नो व्यक्तित्व उठाउने पनि ठान्दा हुन् ती । म भने कालो चस्मा लगाएर ती हामीलाई घुरेर बसिरहेको अनुमान गर्छु ।
हामी जस्ता मानिसलाई चस्मा लगाउनु र नलगाउनुले केही फरक पर्दैन ठूलाबडाका अघिल्तिर । त्यसमा पनि पावरदार चस्माको के इज्जत हुनू ? मलाई ठूलो चस्मासँग पनि डर लाग्छ । बरु गान्धी चस्माले अङ्ग्रेज पल्टायो । लेखनाथको चस्माले ‘सत्यसन्देश’ दियो ।
चस्मामा शक्ति छ र सत्ता छ । शक्ति र सत्ता हुनेले तपार्इँ प्रायः चस्मा नै लगाएको देख्नुहुनेछ । राजा त्रिभुवन, महेन्द्र, वीरेन्द, ज्ञानेन्द्र, युवराज धीरेन्द्र, दीपेन्द्र, पारस तथा नेपालका प्रायः हरेक प्रधानमन्त्री राजनीतिज्ञले चस्मा लगाए, लगाउँदैछन् । यो चस्माको शक्ति हो कि सत्ताले दिएको व्यक्तित्व हो, भन्न सकिन्न । दमदार चस्मा लगाउनेसँग जम्काभेट भयो भने हच्किनु नै पर्ने हुन्छ । अझ ठूलाबडाका अगाडि कमजोर भनिनेले कालो चस्मा लगाउन नहुने उर्दी लाग्छ । लाहुरेहरू भरिया अगाडि पछाडि लगाएर चुरोट तान्दै चस्मा र घडी ढल्काएर बाटो हिँड्दा घर घरबाट हेर्नेको धुइरो लाग्थ्यो जमानामा ।
चस्माले दृष्टि शक्ति त बढाउला तर वस्तुलाई ओझेलमा पनि पारिदिन्छ । चस्माले मलाई धेरैजसो धोका दिएको छ । कहिले नजिकको मान्छे नदेख्ने कहिले टाढाको । नजिकको पावर लगाउँदा टाढाको नदेख्ने, टाढाको लगाउँदा नजिकको । कहिलेकाहीँ यसलाई त्यसै फालिदिऊँ जस्तो पनि लाग्छ । चस्मा नलगाउँदा बरु सजिलो छ । नाकको डाँडीमा ग्लास अड्याएर कानमा घुसार्दा निकै अप्ठेरो लाग्ने । नलगाए आँखा धमिलो हुने त छँदैछ, आँखाबाट तुरुरु आँसु बहने ।
बाल्यकालमा हजुरबाको चस्मा लगाउन मन लाग्थ्यो तर आँखा नै तिरिमिरी झ्याइँ पाथ्र्याे । पछि बुवाको लगाउँदा पनि रिँगटा लाग्ने भयो । स्कुलमा चस्मा लगाउनेहरू कतिपय लाजले पानी पानी हुन्थे । तही चारआँखे भनिएन बालककालमा किनकि मैले त तीस नाघेपछि नै चस्मा लगाउन थालेको हुँ । चस्मा लगाउनेहरू बूढो मानिने चलन थियो त्यस बखत । गगल्स वा रेब्यान त तन्नेरीकै वर्चस्व भइहाल्यो । चस्मा मन नपर्ने त त्यतिबेला नै हो तर अहिले आफैँले लगाउनुपर्दा झन्झट बेहोर्नुबाहेक केही काम भएन । कति स्याहार गर्नुपर्ने भने कतै झर्ला कि कतै कुल्चिएला कि कतै फुकालेर राख्दा बिर्सिएला कि अथवा कसैले लगिदेला कि । चिया खाँदा पनि त्यसको बाफ छुटेर ग्लास नै छोपिदिन्छ ।
म चस्मा लगाउँछु र मानिसहरूलाई पढ्छु । तिनको मनोभावना पत्ता लगाउन खोज्छु । मानिसहरूको आँखाले के हेर्न र जान्न खोजेका छन्, थाहा पाउन खोज्छु । अन्तर्दृष्टि खोल्छु, हृदयको आँखा खोल्छु । कतिपय मलाई कुटिल नजर लगाउँछन्, कतिपय घृणा गर्न खोज्छन्, कतिपय हात मिलाउन खोज्छन् र एकैछिन पनि आँखा नजुधाई अन्तै दृष्टि फ्याँक्छन् । मेरो आँखा र चस्माले तिनलाई चिनिहाल्छ । तिनलाई मप्रति रिस र ईश्र्या छ जो कामभन्दा हाकिमकहाँ बढी समय बिताउँछन् । कतिपयलाई मेरो अनुहार मन पर्दैन किनकि तिनलाई मेरो इमानदारीबारे राम्ररी थाहा छ । ती मेरा चस्मासँग पनि डराउँछन् किनकि मेरो चस्मा सफा छ र आँखाले स्पष्ट देखिरहेको छ ।
म चस्मा त्यति लगाउन खोज्दिन । मेरो धमिलिएको दृष्टि म चस्मा नलगाएरै पुनःस्थापना गर्न चाहन्छु । चस्मा नलगाई कम्म्युटरमा काम गर्न गाह्रो भइसकेको छ तर पुस्तक पढ्न र लेख्न मलाई मेरै नाङ्गो आँखा चाहिन्छ । चस्मा दोषी बनिदिन्छ मेरो किताबी ज्ञान आर्जन र लेखनका लागि ।
सबै चस्मे वा चस्मावाल वा चस्माधारी मेरा वर्गीय मित्र होइनन्, न सबै नाङ्गा आँखाहरू शत्रु हुन् । संसारलाई सदैव द्वन्द्वात्मक भौतिकवादी चस्माले नियाल्न खोज्दा मेरा केही मित्रहरू मलाई जडसूत्रवादी भनिदिन्छन् । र, संसारलाई नयाँ चस्माले हेर्न खोज्दा उत्तरआधुनिकतावादी भनिदिन्छन् । उत्तरआधुनिकता माक्र्सवादको विरोधी भनिन्छ क्यारे । नयाँ चस्मा पनि लगाउनुहुन्न पुरानो पनि हुन्न, किनकि मेरा सबैथरि मित्रहरू छन् जोसँग मैले मिलेर बस्नु छ ।
म चस्माको सौखिन पनि होइन, र अति हिफाजत गरेर राख्ने मानिस पनि होइन । थोत्रै भए पनि फेरीफेरी हिँडिरहने पनि होइन । चस्मासँग न मेरो कुनै सम्झनलायक घटना छ न कुनै किस्सा नै । बरु कहिलेकाहीँ बस, माइक्रोबसमा धकेलाधकेल हुँदा ग्लासको छेउ फुटेको छ वा फ्रेम दुन्नेको वा कुच्चिएको छ । ग्लासको छेउ फुटेकै चस्मा लगाएर हिँडिरहेको छु आजसम्म । चेन्जेबल ग्लास भएकाले घाम आँखामा पर्नबाट त जोगिन्छ तर कहिलेकाहीँ नजिककै वस्तु वा मानिस देख्न गाह्रो पर्छ ।
साउनमा आँखा फुटेको गोरु सधैँ हरियो देख्छ रे । सुकेका पहेँला घाँस नखाने गाईवस्तुलाई हरियो चस्मा लगाइदिए मजाले घाँस खाने ठट्टा पनि गर्छन् मानिसहरू । मानिसलाई पनि त्यस्तै चस्मा लगाइदिनुपर्छ जसले तिनको गुमेको विवेक फिर्ता ल्याओस् । त्यस्तो चस्मा बनेको होला र के संसारमा ? बरु लगाएपछि आफूले देख्न चाहेको मान्छे सबै नाङ्गो देखिने चस्मा बेच्दै हिँडिरहेका छन् धनगढीतिर केही फटाहाहरूले । कथाकार किशोर पहाडीले यस्तै कथा ‘मधुपर्क’मा लेखेर एक पल्ट उधुम मच्चाएका थिए । हाम्रै धीरेन्द्र शाहसँग त्यस्तो चस्मा थियो भन्ने पनि सुनिन्छ । अहिले ती थ्रिडी मात्र होइन एटडी चस्मा लगाएर चलचित्र हेर्नेको धुइरो पनि देखिन्छ सिनेमा हलमा ।
मेरो आँखाको दृष्टि मैले फिर्ता ल्याउनु छ, फेरि डा रुइतकहाँ जानु छ र जाँच गराउनु छ, जसले मलाई यसअघि चस्माको सिफारिस गरेका थिए । चस्मा त एक पल्ट फेरिसकेँ तर पनि अझै चिलाउँछ, धमिलिन्छ र दुखिरहन्छ । कहिले चिप्रा लाग्छ कहिले आँसु चुहिन्छ ।
अहिले यो निबन्ध लेख्दा लेख्दै आज बिहानदेखि नै मेरो चस्मा हराएको छ । चस्मा खोजेको खोज्यै छु । चस्मा, घडी, मोबाइल टेलिफोन, रुमाल, काइँयो, कलम, पर्स, नोटकपी साना चिज भएकाले हराएको हरायै गर्छ । अरु त भैहाले, चस्मा नै हराएपछि त आँखै हराइगो नि । धमिलो आँखाले कम्प्युटरमा काम गर्दैछु । चस्मा सम्झिरहेछु र बेलाबेला ध्यान चस्मा खोज्नमै लगाएको छु । एक पल्ट एक परियोजनाका सिलसिलामा दोलखा जाँदा बाटामा पर्ने सिन्धुपाल्चोकको सिम्लेमा खाजा खान बस्दा टेबुलमा फुकालेको चस्मा ठाउँको ठाउँ हरायो । आफूलाई चस्माको मूल्यभन्दा आँखाको मूल्य थियो । धेरैबेर हल्लीखल्ली भयो । पछि अर्कै टेबुलमा दारु आदि खान बसेको अर्काे समूहलाई डराई डराई सोध्ने आँट गरियो । आखिर एक जनाले आफ्नो दारु खाने साथीकै होला भनी सुरक्षित राखिदिएको रहेछ । एक घटना हो यो । चस्माको मूल्य यहाँ पनि पाइयो । अर्काे समूहले साथीका लागि राखिदिनुमा चस्माको महत्व देखिन्थ्यो भने आफू चस्मा हराउने हुस्सु बनेकामा चिन्ता थियो ।
अहिले बुवा चस्मा लगाउनुहुन्छ तर हराएको हरायै, फुुटेको फुट्यै । छोरीको चस्मा पनि बिग्रिएको छ । उसको पनि बनाउन भ्याएको छैन । बाबुआमाले दिएको सग्ला आँखा छाडेर चस्मा लगाउनुपर्ने यो कस्तो बाध्यता ? प्रकृति छाडेर अन्ततिर लाग्दा मान्छेले दृष्टि, विवेक, धर्म, इमान, जमान, तन, मन सब गुमाउँदो रहेछ । हरियो सागपात, गोलभेंडा, पहेंलो फर्सी जस्ता भिटामिन ए खान छाडियो होला, ग्रहण लागेको सूर्य हेरियो होला, आँखा राम्ररी सफा गरिएन होला, धुलो धुवाँबाट बचिएन होला । हरियो परियो पनि खानु कसरी जबकि ९० प्रतिशत जैविक हालिन्छ बारीमा । उल्टो अनेक रोगको सिकार हुुनुपर्छ कलकलाउँदो सागपातले । व्यास, वाल्मीकि वा अष्टावक्रले चस्मा लगाउनुपरेन । सबभन्दा पढैया वा लेखन्ते रजनीशको पनि चस्मा देखिएन । आँखाको स्याहार गर्न नजान्दा पावरवाला चस्माको झन्झट बेहोर्छ मान्छे । बोक्रे भलाद्मी बन्न या नक्कली व्यक्तित्व देखाउन कालो वा रङ्गीन चस्मा लगाउनेसँग कोही तर्सनुपर्दैन । बरु अन्तर्दृष्टिले हामीलाई भित्रसम्म नियालिरहेकाहरूसँग जोगिनुपर्छ सतर्क भएर । अर्र्काको चस्मा लगाएर अर्कैको दृष्टिले व्यक्ति, समाज वा देशलाई हेर्नेहरू पनि खतरनाक हुन्छन् । यहाँ अर्काको चस्मा लगाएर अर्कालाई हेर्नेहरूको कमी छैन । तिनको विवेक हुँदैन ।
मेरै चस्माको कुरा गर्दा पनि मैले चस्मा लगाएर खासै केही गहिरो ज्ञान पाए जस्तो लाग्दैैन । मानिसको दृष्टि चस्माले फेरिने पनि होइन होला ? दुनियाँलाई खराब देख्नुअघि आफ्नो चस्मा सफा राख्नुपर्छ भन्ने पनि पढेको छु ।
कपन, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































