साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्रको तत्वज्ञान

Nepal Telecom ad

“तपाईंहरुले त उधुम मच्चाउनुभएछ। भयङ्करै अत्याचार गर्नुभएछ। तर, केन्द्रबाट आदेश आयोभने त मैले कार्यवाही चलाउनुपर्ने हुन्छ।” डिएसपीले जनाउ दिए।

“माथिबाट दबाब आउँदैन, ढुक्क हुनुहोस्। हामीले यातायात व्यवशायी राष्ट्रिय महासङ्घको केन्द्रीय पदाधिकारीसँग सल्लाह गरेरै यो काम गरेका ह्वौं। उहाँहरुले प्रधानमन्त्रीलाइ भनिसक्नुभयो होला। यही सम्झनुहोस् न, यसअघिका काण्डमा माथिबाट दबाब आएको थियो र ?” यातायात व्यवसायी समिति, गोरखाका महासचिव सुरेन्द्र कुँवरले भने।

कात्तिक १० गतेका दिन बिहान १० वजे नै गोरखाका डिएसपी रमेश थापा आफ्नो कार्यकक्षमा बसेर काम गर्न थालिसकेका थिए। यातायात व्यवसायी समितिका पदाधिकारीहरु निलोफर आँधिसरह भित्र पसे। डिएसपीको टेबुलअगाडी सोफामा उपर्खुट्टि लाएर बसे। र, कसरी एउटा बसको तोडफोड कार्य सम्पन्न गरियो भनेर ब्रिफीङ गर्दैथिए।

“तपाईंहरुले भर्खरै तोडफोड गरेको ना५ख ५१९६ नम्बरको बस हैन ?” डिएसपीले सोधे।

“हो, तर तपाईंले कसरी थाहा पाउनुभयो ? त्यहाँ (गोरखा नपा, खोलखोलेमा) त वरीपरी कतैपनि प्रहरी थिएनन्।” समितिका महासचिवले सोधे।
“यो त सामान्य व्यक्तिले पनि वुझ्ने बिषय हो। केही समय अघिदेखि तपाईंहरु हात धोएर यो बसको पछि लाग्नुभएको थियो। बरु यो भन्नुहोस्, यत्रो महान कार्य सम्पन्न गर्न तपाईंहरु को-को जानुभएको थियो ?”

“म आफैं थिएँ। उहाँ हाम्रो समितिकै बस व्यवसायी संयोजक दीपक खनालजी र उहाँ समितको पूर्वअध्यक्ष रामहरि केसीजी गएका थियौं।” दुबैजनातर्फ औंल्याउँदै सुरेन्द्र कुँवरले भने।

“तपाईंहरुबाट असुरक्षा, थ्रेट भएकोले बसका मालिकले बसमा केही मानिसपनि राखेका थिए। बसमालिक आफैं थिए। ड्राइभर, खलासी त हुने नै भए। यो स्थितिमा तपाईंहरु तीनजना गएर सजिलै, आरामले विध्वङ्स मच्चाउन सक्नुभएछ त ?

“डिएसपी साहेबलाइ थाहै छ, यस्तो तोडफोड र ढुङ्गामुढा गर्न तथा हुलदङ्गा मच्चाउनको लागि भाडाका गुण्डा पाइन्छन्। हामीले पनि २५ जनाजति भाडाका गुण्डा प्रयोग गरेका थियौं।” सुरेन्द्र कुँवरले भने।
“भाडाका गुण्डा प्रयोग गरेको होभने त त्यो बसलाइ ध्वस्तै बनाएहोलान् ?” डिएसपीले जिज्ञाशा राखे।

“त्यही त, सीसा त धुलोपिठो नै बनाए। भित्र पसेर धेरै भत्काए। बसमा आगो लगाउन खोजेका थिए, त्योचाहीं हामीले रोक्यौं। आगो लगाउन नपाएको झोंक पोख्न बसभित्र पसेर सिटहरु भाँचभुँच गरे।”
“यो ना५ख ५१९६ नम्बरको बसमाथि तपाईंहरुको रिसइबिचाहीं के कारणले हो ?”
“रिस यो बसमाथि हैन, बसका मालिक ताराबहादुर खँड्कामाथि हो। गोरखामा चल्ने यातायातका सम्पूर्ण साधनहरु हाम्रो अधीनस्थ हुनुपर्छ र हाम्रो खटनपटनमा चल्नुपर्छ भन्ने हाम्रो आग्रह हो। यस्मा उहाँको थोरै फरक मत देखियो। यसरी फरक मतलाइ छुट दिंदैजाने होभने त अहिले हाम्रो जुन एकाधिकार र एकलौटी छ त्यो खण्डित हुन पुग्छ र भोलि हाम्रो एकाधिकार कायम नहुने स्थितिसम्म पुग्नसक्छ। हाम्रो यो एकाधिकारमाथि कुनै असर नपुगोस् भनेर यो कार्यवाही गर्न जरुरत परेको हो।” सुरेन्द्र कुँवरले बेलिबिस्तार लगाए।

“ताराबहादुर खँड्काजीले त तपाईंहरुको समितिमा आवद्ध हुनको लागि निवेदन पेश गरेका थिए त। समितमा आवद्ध हुन आएका बसमालिकलाइ समितमा आवद्ध नगरी उल्टै बस तोडफोड गर्नु कसरी विवेकशील र बुद्धिमानी कार्य भयो ?”

“ताराबहादुरजीले समितिमा निवेदन दिनुभएको हो। सधैं सिण्डिकेटको विरोध र आलोचना गर्दैआउनुभएकोले उहाँको निवेदनलाइ हामीले स्वीकार नगरेका ह्वौं।” सुरेन्द्रजीले भित्री कारण बताए।

“तपाईंहरु नै एकातिर ‘लोकतन्त्र’ भन्नुहुन्छ, अर्कोतिर ‘सिण्डिकेट’ कायम राख्न मरिहत्ते गर्नुहुन्छ। ‘सिण्डिकेट’ भनेको एकाधिकार हो। यो भनेको चरम सामन्ती चलनव्यवहार हो। यो त आफैंमा विरोधाभासपूर्ण भएनर भन्या ?” डिएसपीले अर्को कौतुहल राखे।

“यो देशमा जस्ले जति चर्कोसँग लोकतन्त्रको नारा उरालिरहेका छन् तिनैले एकाधिकार सिण्डिकेट लादिरहेछन्। पहिलो सम्बिधानसभा निर्वाचनको पूर्वसन्ध्यामा एकदिन ७ दलका शीर्षस्थ ७ जना नेताहरु एउटा बन्दकोठाभित्र बसेका थिए। उनीहरुलाइ नेपाललाइ सङ्घीय संरचनामा लैजाने रहर लाग्यो। यस्तो सनक के पैदा भएको थियो, उनीहरुले हुकूमप्रमाङ्गी शैलिमा घोषणा गरिदिए। एउटा पार्टीलाइ ‘जात-जातको एकाधिकार’ हुनुपर्छ भन्ने सनक उठ्यो त्यही एकाधिकार व्यवस्था कायम गर्ने कसरत गरिरहेछन्।‘लौ त, सम्बिधान सभामा लोकतान्त्रिक विधिप्रकृया चला त !’ भनेर धम्की दिइरहेछन्। ‘लोकतान्त्रिक विधिप्रकृया अनुसार कामकार्यवाही गर्न खोज्ने होभने हुल्याहाहरु अघि सारेर देशैभरी विध्वङ्स मच्चाइदिन्छौं’ भनिरहेकै छन्। यति वुझ्नुहोस्, माथिदेखि तलसम्म सबैतिर सिण्डिकेट छ। सबैतिर कार्टेलिङ छ। यो लोकतान्त्रिक एकाधिकार हो।” सुरेन्द्रजीले स्थिति छर्लङ्ग पारे।

“ल ठीक छ, आ-आफ्नो ठाउँमा सिण्डिकेट, कार्टेलिङ र एकाधिकार कायम गरे। तर, यो राजमार्ग त तपाईंहरुको ह्वैन नि ? यो राजमार्ग निर्माण र मरम्मतसम्हारमा तपाईंहरुको योगदान त छैन नि ? आफ्नो पनि ह्वैन र योगदानपनि नभएको राजमार्गमा तपाईंहरुले आफ्नै एकलौटी विर्ताजस्तो गरेको सुहाएन नि ?

“हामी यहाँका लोकल भयौं नि त। लोकल भएको नाताले हाम्रो स्वत हक बन्छ। त्यही हकअधिकारलाइ अलिकति बढाएर एकलौटी बनाएका ह्वौं।”
“ताराबहादुर खँड्काजी पनि त लोकलै हुन्। उनको चाहीं हकअधिकार बन्दैन ?”
“हामी सङ्गठित छौं। उनी एक्लै छन्। यो ‘सिण्डिकेट लोकतन्त्र’ मा असङ्गठितको लागि कुनै स्थान छैन भन्ने यथार्थ, सत्यलाइ उनले वुझ्नुपर्छ र सोहीअनुरुप व्यवहार गर्न सिक्नुपर्छ। हाम्रो एकाधिकार सत्ता त्यत्तिकै कायम भएको छैन। कांग्रेस, एमाले र माओवादीलाइ गच्छेअनुसार हिस्सा प्रदान गरेका छौं। केही महिनाअघि ३२वटा बस थप गर्दा उनीहरुलाइ दरवन्दीवमोजिम प्रसाद पुर् याएका थियौं। पार्टीहरुको आशिर्वाद हामीलाइ प्राप्त छ। तराबहादुर खँड्काजीहरुले केही लछारपाटो लाउन सक्दैनन्।”

नेपालमा लोकतन्त्रको अभ्यास कसरी भैरहेछ र कस्तो लोकतान्त्रिक संस्कृति निर्माण भैरहेछ भन्ने तत्वज्ञान भएपछि रमेश थापाजीले अब अरु वुझ्न आवश्यक ठानेनन्। चिया खुवाएर बिदा गर्दाभए।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x