सुलसुलेदेवकोटाका कवितासहित विशेष कवितावाचन
काठमाडौँ, २७ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मिएको दिन कात्तिक २७ गतेका पारेर आज यहाँ देवकोटाका कविताहरूको प्रस्तुति तथा अन्य समसामयिक कविता वाचन कार्यक्रम सम्पन्न भयो ।
महाकवि देवकोटा साहित्य प्रतिष्ठान र नेपाल सांस्कृतिक सङघको आयोजनामा भएको कविगोष्ठीमा देवकोटाका ‘महाराणा प्रताप’ खण्डकाव्य र ‘मुनामदन’का अंश, ‘पागल’ लामो कविता र ‘यात्री’ तथा अन्य फुटकर कविता पाठ गरिनाका साथै २९ जना कविले राजनीतिक विसङगति, वैदेशिक रोजगारीको विवशता, महिला हिंसा र आत्महत्याको विरोध, बुढयाइँको नियति, साहित्यप्रति परिवारको नकारात्मक दृष्टि, संविधान निर्माण आदि विषयमा गद्यपद्य कविता र गजल वाचन गर्नुभएको थियो ।
रचना वाचन गर्नेमा नित्यराज पाण्डे, रमेश खकुरेल, शैलेन्द्रर साकार, भुवनहरि सिग्देल, कोशराज न्यौपाने, दीर्घराज प्रसाईं, रामबहादुर पहाडी, सनतकुमार बस्ती, प्रल्हाद पोखरेल, ब्रह्मप्रिय प्रेमस्वरुप, रत्ननिधि रेग्मी शुक्राचार्य, श्याम रिमाल, प्रकाश सिलवाल, दीपेन्द्र अधिकारी, नवराज पराजुली, श्यामराज पाठक, वैरागी जेठा, पुण्य गौतम विश्वास, सङगीता पनेरू, भाग्यशाली अधिकारी, उर्मिला पन्त पाण्डेय, ललिता दोषी, मेनका पोखरेल, शारदा पराजुली, बाजुराम पौडेल, वेदमणि गोविन्द, शुकदेव न्यौपाने, अच्युतप्रसाद चिन्तन र रश्मि रिमाल हुनुहुन्थ्यो ।
सो अवसरमा सांस्कृतिक सङ्घका कार्यकारिणी सदस्य अरविन्द रिमालले रुसको तासकन्दमा देवकोटाले दिएको मन्तव्यलाई आफूले नेपालीमा अनुवाद गर्दा निकै चर्चामा आएको बताउँदै कविहरू त्रिकालदर्शी हुुनुपर्नेमा जोड दिनुभयो ।
कवि साकारले देवकोटाले मृत्यु हुनुपूर्व व्यक्त गरेको ‘शून्य’ पूर्वीय दर्शनको उपज भएको र पछि यो पश्चिममा पनि प्रचलित भएको बताउनुभयो । कवि पोखरेलले शब्दसँग खेल्ने देवकोटासँग सिक्न कविहरूलाई आग्रह गर्नुभयो ।
सो अवसरमा आयोजक मध्येको प्रतिष्ठानले महाकवि देवकोटालाई सरकारी तहबाटै महाकवि पदवी दिनाका साथै राष्ट«िय विभूति घोषणा गर्न गराउन र कात्तिक २७ गते सार्वजनिक विदा दिन सरकारसँग अनुरोध गरेको छ ।
महाकवि देवकोटाका कतिपय प्रकाशित कृति वार्णिक छन्दका दृष्टिले अशुद्ध भएकाले सच्याउन एवं शुद्ध गर्न साझा प्रकाशनलाई सुझाव दिनाका साथै बाँकी अप्रकाशित तथा अप्राप्य कृतिको खोजी गरी प्रकाशनमा ल्याउन, महाकवि देवकोटाको जन्मस्थल र निवासलाई नेपाली साहित्यको तीर्थस्थलका रुपमा विकास गर्न, उनका कृतिलाई सम्भव भएसम्म अन्तर्राष्ट्रियकरण गर्न, नेपाली भाषामा हाल देखापरेको वर्णविन्यास र व्याकरण सम्बन्धी जटिलता र अन्योल हटाउनेतर्फ आवश्यक कार्य गर्न पनि अनुरोध गरिएको छ ।
कवि शुक्रराचार्यको संयोजकत्वमा विं.सं २०४८ मा आजकै दिन स्थापित भई कृष्णप्रसाद पराजुलीद्वारा उद्घाटित साहित्य प्रतिष्ठानले श्यामदास वैष्णव र नित्यराज पाण्डेलाई सम्मान गरिसकेको छ ।
रासस
Subscribe
Login
0 Comments
Oldest











































