दीपेन्द्रसिंह थापासिमसारको सङ्गीत
मूल्यबिनाको मेलसँगै
जालझेलमा खेलेको खेलसँगै
सपनाहरू त कतै सती नै गइसके सायद
संवेदनाहरू त कतै स्खलित नै भइसके सायद
नत्र किन अग्लँदैछ
पीडाको पिरामिड
नत्र किन फैलँदैछ
सिमसारको सङ्गीत !
गुन्जँदैछ अझै कानकानमा
सडक सडकले गाएको जिन्दावाद
रक्तिम नै छ अझै मनमनमा
आस्थाको उज्यालो भएर
पोतिएको सहादत
आदर्शले एउटा आकार लिनुपर्ने होइन यो बेला
आकाङ्क्षाले एउटा उचाइ छुनुपर्ने होइन यो बेला
किन बिहानको ठाउँमा साँझ
किन चराको कलरबको ठाउँमा झ्याउँकिरी ?
एउटा कुसन्दर्भ हटे पनि
कुसंस्कार नहटेपछि
परिवर्तन रटे पनि
पीडा नघटेपछि
खै के नै अनौठो मान्नु छ र
आज पनि उस्तै उस्तै
विसङ्गत नै देखियो बस्ती भनेर
खै के नै आश्चर्य ठान्नु छ र
आज पनि उस्तै उस्तै
बिब्ल्याँटो नै भोगियो वर्तमान भनेर ।
सम्भावना बिनाको संयोगजस्तो
उपलब्धि बिनाको उपयोगजस्तो
अर्थहरू कतै अनर्थ नै भइसके सायद
तर्कहरू कतै व्यर्थ नै भइसके सायद
नत्र किन अग्लँदैछ
पीडाको पिरामिड
नत्र किन फैलँदैछ
सिमसारको सङ्गीत !
‘नव प्रज्ञापन’ साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६३
Subscribe
Login
0 Comments
Oldest







































