साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दादागिरी सपना…

Nepal Telecom ad

दादा– भन्नाले कमराको आदरवाची शब्द र दाजु, दाइ, दाज्यै भन्ने बुझिन्छ । गिरी भन्नाले बल र अभिमानका भरमा अरुलाई हप्काउने वा हैकम चलाउने भन्ने बुझिन्छ । दादागिरीसँग बलको पनि त्यतिनै तादाम्य रहेको देखिन्छ । बल पनि श्रीरमा सञ्चित हुने शक्ति वा तागत हो । अरूलाई गरिने भरथेग वा आडभरोसा सहयोग मद्धतलाई पनि बल भनिन्छ । यसमा सेना–फौजलाई पनि बलको रूपमा लिइन्छ । पहिलेको जमानामा महाभारतका एक प्रसिद्ध व्यक्ति, कृष्णका दाजु बलभद्रलाई बलको पनि संज्ञा दिइन्थ्यो । उनलाई बलराम पनि भनिन्थ्यो । बलरामको डरले श्री कृष्णले महाभारतको युद्धमा दाजुलाई तीर्थ घुम्न पठाएका थिए । बलरामले दुर्योधनलाई माया गर्ने भएकाले कृष्णले त्यस्तो छल गरेका थिए । त्यसबेला बलरामको पनि निकै दादागिरी चल्ने गरेको रहेछ ।

बललाई औसानी वा बलि पनि भनिन्छ । बललाई नै खुट्टामा हातले हिर्काएर खेलिने, रबर आदिले बनेको र छालाले मोहोरिएको वस्तु, भकुण्डो वा फुटबल पनि भनिन्छ । ब्राम्हणले सुरुमा खाना खानु अगाडि नै दूध वा घीउ हालेर खाना भूमिलाई होम गरेर मात्रै ५ गाँस खाने कार्यलाई पनि बल हाल्ने भनिन्छ । यसरी एउटै शब्दलाई खेलाएर, दादागिरी बनाएर जित्ने काम पनि गर्न सकिन्छ, यसलाई शब्दको दादागिरी भनिन्छ ।

दादागिरी बलियो, लठक, मूर्ख, यी सवै काम नहुनेहरूमा हुने गुण हुन् । मूर्ख पनि साह्रै कम बुद्धिभएको वा बुद्धिनै नभएको नासमझ, बेवकुफ, मूढलाई भनिन्छ । यिनीहरू लेखपढ गर्न नजान्ने अशिक्षित वा अनपढ हुन् । दादागिरी गर्न पनि मूर्ख हुनुको फाइदाबाट नै नाम कमाइन्छ । जसलाई विनाजुक्ति बुद्धिको पटमूर्ख भनिन्छ । तर्क एउटा बुद्धिमान मानिसले कुनै कुरा कसैलाई बुझ्न बुझाउनका लागि गरिने यु्क्तिपूर्ण कुरालाई भनिन्छ । यिनीहरू अरुको मत वा विचारहरू बुझाउन प्रस्तुत गरिने तथ्य प्रमाण सहितको बुँदानै दिन्छन् । तर त्यो कुराको दादागिरीलाई वा मूर्खहरूलाई विश्वास लाग्दैन । र उनीहरू अडकल, अनुमान, वादविवाद वा कल्पनाभन्दा पनि पाखुरा र बन्दुक देखाएर विश्वास जित्न खोज्छन् । दादागिरी हुँदाहुँदै अरु कुराको कष्ट पनि उठाउन नपर्ने र विश्वास पनि नहुने ।

त्यसैले होला आजकलका सरकार, मन्त्री, नेता, पार्टी, देश र विदेशी ताकतले पनि दादागिरी गरेकै छन् । सद्दामको दादागिरीलाई अमेरिकाले सिध्यायो । अमेरिकाको दादागिरीलाई, टुइनटावरमा हानेर विनलादेनले धुलो चटाएर पनि धुँवाको मुस्लो पेटभरी खुवायो । अमेरिकालाई थर्काएर पनि आफू लुकेरै भए पनि आफ्नो नामको दादागिरीको प्रचार गर्न पछाडि परेनन् ।

पाकिस्तानमा भुट्टोलाई नवाजसरिफले दादागिरी देखाए र अपदस्तै गराए भने नवाजसरिफलाई मुसरफले सैनिक बलमा दादागिरीनै देखाए । उनी आजसम्म दादागिरी नै चलाइरहेका छन् । यो दादागिरी घरमा समेत चल्ने गरेको छ । एउटा लठुवा लोग्नेले अफिसजाने बेलामा पेटी नपाएर स्वास्नीलाई चड्कन हानेछ । स्वास्नीको पालो छोराले मोजा हराएको रिसमा छोराकै गालामा दादागिरी देखाइछन् । आमाको चड्कन सहन नसकेर छोराले कुकुरलाई एक लात बजाई दादागिरी देखाएछ । कुइँ–कुइँ गर्दै बाहिर निस्केको कुकुरले बाख्राको पाठोलाई टोक्नपुग्यो । यसरी विनसिँत्तिमा पाठो पो चेपुवामा परेछ र मरेछ । पेटी नपाएको लोग्नेको रिस घुम्दाघुम्दै निरीह पाठोसम्म पुगेछ ।

संसारमा दादागिरी चल्दोरहेछ भन्ने थाहा पाएपछि मैले पनि आफ्नै देश नेपालतिर नियाल्न थालेँ । राणाहरूको सरकारको दादागिरी, त्यो भन्दा पनि अगाडि नियाल्दा बाइसे चौविसे राज्य व्रिटिस राज्यले नेपालमा देखाएको दादागिरी, सानो देशले कति सास्ती खेप्यो होला ? प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र घुम्दा ! घुम्दा !! मेरो दिमाग पनि खुब घुम्यो– पञ्चायती व्यवस्था ! त्यसपछि २०४६ सालको आन्दोलनमा पनि दादागिरीकै भरमा पञ्चायतलाई टिकाउन खोजिएथ्यो तर क्यै गरे टिकेन ।

ओहो दादागिरी सबैभन्दा राम्रो रहेछ भनेर यसैको बलमा मलाई पनि ठूलो मानिस बन्ने रहर पलाइरहेको थियो । त्यसैले मैले पनि एउटा पार्टी खोल्ने निर्णय गरेँ । दादागिरी पनि सुद्ध दादागिरी ! अब मेरो पाखुरा मेरा मानिसका पनि पाखुरा, त्यसलाई पनि हेरेनन् भनेर भाटे कारवाही गर्ने ! त्योबाट पनि डराएनन् भने खुँडा, भाला, खुकुरीबाट कारवाही गर्ने ! चक्कु ! त्योबाट पनि डराएनन् भने ! बन्दुक यस.एल.आर. एके फोर्टिसेवेन, थ्रीनट थ्री, राइफल र त्यसबाट पनि नभए सेसिनगनबाट दादागिरी गर्ने विचार भयो ।

ओहो मैले त आफ्ना साथीलाई पनि खुब बन्दुकलगायत धेरै हात हतियार बाँडे ! विदेशीले त बाहिर एउटा कुरा भित्र अर्को कुरा गर्दा रहेछन् । हाम्रो देशलाई कमजोर बनाउन र हामीलाई फुटाउ र राज्य गर ! आहा कस्तो राम्रो सूत्र । हामीलाई ठूलो राज्य बनाउन सय टुक्राउन राज्य बनाउने अनि खुब विकासै विकास गराउने । झन् तुमेव माता, च पिता तुमेव ! तुमेव बन्धु च सखा तुमेव !! तुमेव विधा द्रविणम तुमेव !!! तुमेव सर्वम् मम देवदेव !! भनेपछि त झन् कति हो कति पैसा आउने रहेछ ! कति हातहतियार आउने रहेछ !! ला ….! देशै विक्री गर्ने … । विदेशीको पाउमा राख्ने ….। सर्त पो गर्छन् बा !

हुन त उसले सहयोग गरेको पनि त आफू दादागिरी बन्नलाई त होलानि ! मेरो दादागिरी त आफन्तको नाश गर्न मात्रै रहेछ । अरुको त गुलाम पो भइएछ ! म त आत्तिएँ ! आखिरमा त मलाई पनि बेच्न पुगेछु । मेरा आमाबुबा !! छोराछोरी !!! श्रीमती !!… र बन्धुवान्धव सवैलाई पो ! र देशलाई पनि … के… । माथिबाट पितृदेवता सवै रिसाउँछन् । म त मरेछु र मरेपछि पनि बस्ने ठाउँनै पाइन बा ! … म त झन् उकुसमुकुस सवै बन्द । वहाँहरू सवैले कलाई अठ्याउन खोजे … उठ्नुस् त …चिया ! म …त झस्याङ्ग भए । मेरो श्रीरभरी पसिनै पसिना … म … त निन्द्रामै रहेछु । ओ… हो… सपना ..! मेरो दादागिरी त चट्… ।

‘फित्कौली’ अङ्क १७ बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x