सर्वज्ञ वाग्लेदादागिरी सपना…
दादा– भन्नाले कमराको आदरवाची शब्द र दाजु, दाइ, दाज्यै भन्ने बुझिन्छ । गिरी भन्नाले बल र अभिमानका भरमा अरुलाई हप्काउने वा हैकम चलाउने भन्ने बुझिन्छ । दादागिरीसँग बलको पनि त्यतिनै तादाम्य रहेको देखिन्छ । बल पनि श्रीरमा सञ्चित हुने शक्ति वा तागत हो । अरूलाई गरिने भरथेग वा आडभरोसा सहयोग मद्धतलाई पनि बल भनिन्छ । यसमा सेना–फौजलाई पनि बलको रूपमा लिइन्छ । पहिलेको जमानामा महाभारतका एक प्रसिद्ध व्यक्ति, कृष्णका दाजु बलभद्रलाई बलको पनि संज्ञा दिइन्थ्यो । उनलाई बलराम पनि भनिन्थ्यो । बलरामको डरले श्री कृष्णले महाभारतको युद्धमा दाजुलाई तीर्थ घुम्न पठाएका थिए । बलरामले दुर्योधनलाई माया गर्ने भएकाले कृष्णले त्यस्तो छल गरेका थिए । त्यसबेला बलरामको पनि निकै दादागिरी चल्ने गरेको रहेछ ।
बललाई औसानी वा बलि पनि भनिन्छ । बललाई नै खुट्टामा हातले हिर्काएर खेलिने, रबर आदिले बनेको र छालाले मोहोरिएको वस्तु, भकुण्डो वा फुटबल पनि भनिन्छ । ब्राम्हणले सुरुमा खाना खानु अगाडि नै दूध वा घीउ हालेर खाना भूमिलाई होम गरेर मात्रै ५ गाँस खाने कार्यलाई पनि बल हाल्ने भनिन्छ । यसरी एउटै शब्दलाई खेलाएर, दादागिरी बनाएर जित्ने काम पनि गर्न सकिन्छ, यसलाई शब्दको दादागिरी भनिन्छ ।
दादागिरी बलियो, लठक, मूर्ख, यी सवै काम नहुनेहरूमा हुने गुण हुन् । मूर्ख पनि साह्रै कम बुद्धिभएको वा बुद्धिनै नभएको नासमझ, बेवकुफ, मूढलाई भनिन्छ । यिनीहरू लेखपढ गर्न नजान्ने अशिक्षित वा अनपढ हुन् । दादागिरी गर्न पनि मूर्ख हुनुको फाइदाबाट नै नाम कमाइन्छ । जसलाई विनाजुक्ति बुद्धिको पटमूर्ख भनिन्छ । तर्क एउटा बुद्धिमान मानिसले कुनै कुरा कसैलाई बुझ्न बुझाउनका लागि गरिने यु्क्तिपूर्ण कुरालाई भनिन्छ । यिनीहरू अरुको मत वा विचारहरू बुझाउन प्रस्तुत गरिने तथ्य प्रमाण सहितको बुँदानै दिन्छन् । तर त्यो कुराको दादागिरीलाई वा मूर्खहरूलाई विश्वास लाग्दैन । र उनीहरू अडकल, अनुमान, वादविवाद वा कल्पनाभन्दा पनि पाखुरा र बन्दुक देखाएर विश्वास जित्न खोज्छन् । दादागिरी हुँदाहुँदै अरु कुराको कष्ट पनि उठाउन नपर्ने र विश्वास पनि नहुने ।
त्यसैले होला आजकलका सरकार, मन्त्री, नेता, पार्टी, देश र विदेशी ताकतले पनि दादागिरी गरेकै छन् । सद्दामको दादागिरीलाई अमेरिकाले सिध्यायो । अमेरिकाको दादागिरीलाई, टुइनटावरमा हानेर विनलादेनले धुलो चटाएर पनि धुँवाको मुस्लो पेटभरी खुवायो । अमेरिकालाई थर्काएर पनि आफू लुकेरै भए पनि आफ्नो नामको दादागिरीको प्रचार गर्न पछाडि परेनन् ।
पाकिस्तानमा भुट्टोलाई नवाजसरिफले दादागिरी देखाए र अपदस्तै गराए भने नवाजसरिफलाई मुसरफले सैनिक बलमा दादागिरीनै देखाए । उनी आजसम्म दादागिरी नै चलाइरहेका छन् । यो दादागिरी घरमा समेत चल्ने गरेको छ । एउटा लठुवा लोग्नेले अफिसजाने बेलामा पेटी नपाएर स्वास्नीलाई चड्कन हानेछ । स्वास्नीको पालो छोराले मोजा हराएको रिसमा छोराकै गालामा दादागिरी देखाइछन् । आमाको चड्कन सहन नसकेर छोराले कुकुरलाई एक लात बजाई दादागिरी देखाएछ । कुइँ–कुइँ गर्दै बाहिर निस्केको कुकुरले बाख्राको पाठोलाई टोक्नपुग्यो । यसरी विनसिँत्तिमा पाठो पो चेपुवामा परेछ र मरेछ । पेटी नपाएको लोग्नेको रिस घुम्दाघुम्दै निरीह पाठोसम्म पुगेछ ।
संसारमा दादागिरी चल्दोरहेछ भन्ने थाहा पाएपछि मैले पनि आफ्नै देश नेपालतिर नियाल्न थालेँ । राणाहरूको सरकारको दादागिरी, त्यो भन्दा पनि अगाडि नियाल्दा बाइसे चौविसे राज्य व्रिटिस राज्यले नेपालमा देखाएको दादागिरी, सानो देशले कति सास्ती खेप्यो होला ? प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध र घुम्दा ! घुम्दा !! मेरो दिमाग पनि खुब घुम्यो– पञ्चायती व्यवस्था ! त्यसपछि २०४६ सालको आन्दोलनमा पनि दादागिरीकै भरमा पञ्चायतलाई टिकाउन खोजिएथ्यो तर क्यै गरे टिकेन ।
ओहो दादागिरी सबैभन्दा राम्रो रहेछ भनेर यसैको बलमा मलाई पनि ठूलो मानिस बन्ने रहर पलाइरहेको थियो । त्यसैले मैले पनि एउटा पार्टी खोल्ने निर्णय गरेँ । दादागिरी पनि सुद्ध दादागिरी ! अब मेरो पाखुरा मेरा मानिसका पनि पाखुरा, त्यसलाई पनि हेरेनन् भनेर भाटे कारवाही गर्ने ! त्योबाट पनि डराएनन् भने खुँडा, भाला, खुकुरीबाट कारवाही गर्ने ! चक्कु ! त्योबाट पनि डराएनन् भने ! बन्दुक यस.एल.आर. एके फोर्टिसेवेन, थ्रीनट थ्री, राइफल र त्यसबाट पनि नभए सेसिनगनबाट दादागिरी गर्ने विचार भयो ।
ओहो मैले त आफ्ना साथीलाई पनि खुब बन्दुकलगायत धेरै हात हतियार बाँडे ! विदेशीले त बाहिर एउटा कुरा भित्र अर्को कुरा गर्दा रहेछन् । हाम्रो देशलाई कमजोर बनाउन र हामीलाई फुटाउ र राज्य गर ! आहा कस्तो राम्रो सूत्र । हामीलाई ठूलो राज्य बनाउन सय टुक्राउन राज्य बनाउने अनि खुब विकासै विकास गराउने । झन् तुमेव माता, च पिता तुमेव ! तुमेव बन्धु च सखा तुमेव !! तुमेव विधा द्रविणम तुमेव !!! तुमेव सर्वम् मम देवदेव !! भनेपछि त झन् कति हो कति पैसा आउने रहेछ ! कति हातहतियार आउने रहेछ !! ला ….! देशै विक्री गर्ने … । विदेशीको पाउमा राख्ने ….। सर्त पो गर्छन् बा !
हुन त उसले सहयोग गरेको पनि त आफू दादागिरी बन्नलाई त होलानि ! मेरो दादागिरी त आफन्तको नाश गर्न मात्रै रहेछ । अरुको त गुलाम पो भइएछ ! म त आत्तिएँ ! आखिरमा त मलाई पनि बेच्न पुगेछु । मेरा आमाबुबा !! छोराछोरी !!! श्रीमती !!… र बन्धुवान्धव सवैलाई पो ! र देशलाई पनि … के… । माथिबाट पितृदेवता सवै रिसाउँछन् । म त मरेछु र मरेपछि पनि बस्ने ठाउँनै पाइन बा ! … म त झन् उकुसमुकुस सवै बन्द । वहाँहरू सवैले कलाई अठ्याउन खोजे … उठ्नुस् त …चिया ! म …त झस्याङ्ग भए । मेरो श्रीरभरी पसिनै पसिना … म … त निन्द्रामै रहेछु । ओ… हो… सपना ..! मेरो दादागिरी त चट्… ।
‘फित्कौली’ अङ्क १७ बाट
Subscribe
Login
0 Comments
Oldest







































