अनिल कोइरालाकाठमाडौँ, माइक्राेबस र सास्ती
एउटा विचारगोष्ठीमा आफ्ना अचारजस्ता विचारहरू ओकलेर म ठ्याक्कै नेपाल वायुसेवा निगमको भवननेर चोकैमा भोकभोकै ठिङ्ग उभिएको थिएँ । ‘नेपाली टाइम’ भन्दै दुईघण्टा ढिलो पुग्दा नास्ता छुटेछ । गाडी नपाइने चिन्ताले हतार–हतारमा सडकपेटीका फलामे बार नाघ्दै यहाँ आइपुग्दा साढेचार बजेको थियो । यै ठाउँमा चारबजेपछि मान्छे र गाडीबाहेक अरु चीज देख्न त तुरुन्तै आँखा अस्पताल गैहाल्नुपर्ने भएको हुनुपर्छ । तर सबैकुरा बिर्सेर ‘पूरा घुम’ गर्ने हो भने नेपाल वायुसेवा निगमको सुर्लुक्क परेको भवनले हामीलाई नै पुर्लुक्क हेरिरहेको देख्न सकिन्छ । विचरो के गरोस् ! यतिधेरै मान्छे देख्दा उसको मन खिन्न हुँदो हो । त्यसमाथि गाडी नपाएर तानातान र हानाहान भएको देख्दा आफ्नै अपमान भएको भान हुँदो हो, तुरुन्तै सबैलाई वायुसेवा टक्र्याएर मेवा खाने इच्छा हुँदो हो तर आफ्नै सेवाले हावा खाइरहेको स्थितिमा के नै पो गरोस् र ! बस् कोलाहल र धुलो–धुवाँको बिचमा बसेर टुलुटुलु हेरिरहने मात्रै न हो !
निगमलाई विचरा भन्दै यात्रु र खलाँसी करा’को ठाउँतिर आँखा हुत्याएँ । पाँचजनासम्म आरामले बस्न मिल्ने तीनजनाको सिट प्याक भैसकेछ । बाह्रजनासम्म अट्ने माइक्राेबसमा अठार जनाले त दलहरूले जस्तो वाध्यात्मक सम्झौता गरिसकेछन् । ढोकाबाहिर छत्तीसजनाले तालमेलको राजनीति गर्न खोजेका रहेछन् । खलाँसी साहेबले झर्किंदै र चर्किंदै चिच्याइरहनुभएको थियो–“अलि भित्र जानुस् न ! त्यत्रो खाली छ ।” कुनचाहिँ खलाँसी बोल्नुहुन्छ र हाँसी हाँसी । धन्न वाध्यताले भएपनि सुन्नैपर्ने शब्दहरू ओकल्नुभएन । म पनि आफ्नो गन्तव्यमा पुग्न त्यही भव्य भिडभाडवाला गाडीमै अट्नुपर्छ । आफू ठिटी भएको भए त कुनै ठिटोको काखमै बसेर गैदिन्थेँ । आफूलाई काखमा को मुर्खले राखोस् ! यत्तिकैमा गाडीभित्रबाट आवाज आयो–“हैन ! टाउकामा राख्ने हो कि क्या हो ?” खलाँसी साहेबले झन् चर्को स्वरमा अर्को वाक्य थप्नुभयो–“एक्लै जाने हो भने ट्याक्सीमा जानुस् !” बिचरी महिला चुप लागिन् । बोर्डिङ स्कुलकी शिक्षिका होलिन् ! एक महिनाको तलबले डेढ महिनालाई माइक्राेकाे भाडा पुर्याउनु पर्छ भन्नेकुरो दिनदिनै हातभरि टन्न पैसा बोक्ने खलाँसी साहेबलाई के थाहा ?
कसैले काँध थापिदियो भने त गैहालिन्छ नि भन्दै म पनि धकेलाधकेल ठेलमठेल गर्दै पुगेँ ढोकैमा । मेरो खप्पर बलियो रहेछ, दुईजना यात्रु ‘हेत्तेरिका !’ भन्दै ओर्लिए । त्यै मौका छोपेर मैले चौका हानिहालेँ । टाउको बङ्ग्याउँदै भित्र हुलिएँ । पछि कुरो बुझ्दा बल्ल थाहा भयो यहीँ ओर्लनुपर्ने विचराहरू उक्लने मान्छेले ठेलेर ओर्लनै सकेनछन् । महिला ट्राफिक नानीले तिरिरिरि पारेको मैले ठ्याक्कै सुनेँ । गुरु महोदयले सुन्नुभयो कि भएन मैले मेसो पाइन तर उहाँले ट्राफिक नानीलाई आँखा झिमिक्क पार्दाखेरि ट्राफिक नानी मुसुक्क हाँसेको चाहिँ मेसो पाएँ । कर्मथलो एउटै भएकोले होला शायद राम्रै चिनजान रहेछ । पुनः दुईचारचोटि सिट्टि तिरिरिरि पारिन् । गाडिभित्र थुनिएका बाहेक अरु कसैद्वारा सुनिएन । बेकारमा ध्वनिप्रदूषण बढाउनलाई मात्र किन ट्राफिकको व्यवस्था गरिएको होला जस्तो लाग्यो । ढोकामा भिड गरेका लगभग आधाजति अटाएपछि खलाँसी साहेबले गाडीको ढोका ठटाउनुभयो । ट्राफिक नानीको सिट्टिले समेत नगुडेको गाडी खलाँसी साहेबको दुई थप्पडले कुदिहाल्यो । ट्राफिक नानीले भनेको नमानेपनि खलाँसी साहेबले भनेको झ्याप्पै मान्नुभयो गुरु महोदयले । यस अर्थमा खलाँसी साहेबहरूलाई नै ट्राफिक बनाइदिए काइदा होलाजस्तो लाग्यो ।
यत्तिकैमा पुनः खलाँसी साहेब चिच्याएको आवाज आयो–“अर्को दिनुस् त ! यो खुइलिएकोे नोट म लिन्न ।” यात्रुले भने–“गाडीमै हिँड्दा पाएको नोट हो, त्यै लिनुपर्छ, मैले पनि अर्को दिन्न ।” यो प्लास्टिकको नोटले साह्रै झ्याऊ गराउँदोरहेछ । प्लास्टिकको प्रयोग कम गर्ने विकसित राष्ट्रहरूलाई चकझिल पार्न हामीले प्लास्टिककै नोट बनाइदियौँ । “उहिलेका कुरा खुइले” भन्ने उखानलाई समेत पछार्दै अहिलेकै चलनचल्तीका नोटहरू खुइलिएर अनुहारै नचिनिने भैदिन्छन् । मसँग पनि त्यस्तै खुइलिएको नोट रहेछ । उनीहरूको झगडाको बीचमा आफू तगडा बनेर सुटुक्क दिएँ त्यही नोट । धन्न केही प्रतिव्रिmया आएन । मेरो दश रुपैयाँ चल्यो, अत्यन्तै हर्षित भएँ । एउटा हातले झ्यालको सिसा समातेपनि अर्को हातचाहिँ पाइन्टको पछिल्तिरको खल्तीमा राखिरहेँ । “पाकेटमारदेखि सावधान” लेखेको रहेछ ढोकामाथि, त्यसैलाई अनुशरण गरेँ । “काठमाडौँमा मान्छे धेरै छन् कि गाडी ?” भनेर कसैले सोध्ने साहस ग¥यो भने कसले उत्तर बजार्न सक्ला र ! तर यो भीडलाई देख्दा पनि अचम्म लाग्छ । मान्छे र गाडी बराबर भएपनि नपुग्ने ।
लगभग दुईघण्टापछि मैले दिएको भाडाको काम तमाम भएछ । चारजनाको बीचमा च्यापिएको श्रीर तान्न खोज्दै खलाँसी साहेबलाई ढोकामा एक थप्पड हान्न लगाएँ । “ह्याँ रोक्न मिल्दैन” भन्दै गुरु महोदय चिच्याउनु भयो । मान्छे चढाउन पो मिल्छ जहाँ पायो त्यहीँ, ओराल्न कहाँ मिल्छ त ! मलाई थाहा त थियो तर ‘स्टप’ लेखेकै ठाउँमा ओर्लन खोजेको मात्र हुँ । गाडी दुईसय मिटर अगाडि पुगेर एक यात्रुले हात उठाएको ठाउँमै ठ्याक्कै रोकियो । लगभग अढाई घण्टामा आफ्नो गन्तव्यमा आइपुगेँछु । हिँडेरै आएको भए त यतिखेर पक्कै सुत्ने बेला भैसक्थ्यो ।
‘फुरौला’ हास्यव्यङ्ग्य सङ्ग्रह २०६७
Subscribe
Login
0 Comments
Oldest







































