बिचरा बा !
सन्तानकै लागि बनेर अभागी
लोभ र लाभले नखाई नलाई
गर्दै सधै काँई काँई
नव लोक झरे
न पाप गरे
न पुन्य गरे
नर्कमा परे कि स्वर्गमा परे
बिचरा बा खै कहाँ परे ।
भन्छन्
कोही स्वर्ग जान्छ
कोही नर्क जान्छ
कोही फेरि यहीँ
जन्मिन्छ अरे
तर थाहै भएन
स्वर्ग परे की नर्क परे
बिचरा बा खै कहाँ परे ।
बाउको भबिष्य हेर्न
नाङलोमा खरानी हाली
दैलोमा राखे
नाडलोमा के छ भनि
मुसाहरू आउदा
मुसालाई खान
बिरालो धाउदा
मुसा बिरालोले
डामाडोल गरे
स्वर्ग परे की नर्क परे
बिचरा बा खै कहाँ परे ।
लोभी पनि हदै लोभी बुढा
न आफु खान्थे न खान दिन्थे
सके त बिचरा
बाटो खर्च बाँधेर लगुटीमै लान्थे
आज पुन्य तिथिमा
सयौ कागहरू काँकाँ गरे
तर कुरो बुझिएन
स्वर्ग परे की नर्क परे
बिचरा बा खै कहाँ परे ।
न तिर्थ जान्थे
न बर्त मान्थे
न चुरोट तान्थे
न रक्सी खान्थे
पैसा चोर्यो भने
कोर्रै कोर्रा हान्थे
कात्रैमा खल्ती हुन्छ की जस्तो बुढाले ठान्थे
बाको नाममा
तिथि गरे श्राद्द गरे
स्वर्ग परे की नर्क परे
बिचरा बा खै कहाँ परे ।
पंडितले भने पछि
बाको लागि
तर्पण दिए अर्पण दिए
बाकै नाममा
पंडितलाई पनि खर्पण दिए
पंडितनीलाई समेत
धोती चोली दर्पण दिए
बैतर्णीको निम्ती बाकै लागी
गौ दान गरे
सौ दान गरे
स्वर्ग परे कि नर्क परे
बिचरा बा खै कहाँ परे परे !
दाङ, हाल काठमाडौं