साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचम्मका व्यक्तित्वहरू

Nepal Telecom ad

स्वाभिमान र सार्वभौमिकतामा अडेको मुलुक भन्दैमा अचेल स्वाधिन राष्ट्र तपाई मान्नुहुन्छ या हुन्न यो फरक बिषय बन्न सक्छ तर आजकल आसेपासेको आडमा ढाड कन्याउनेहरू धेरै नै देखिएका छन् । ढाँट, आँट र गाँठको राजनीतिले बिथिति पारेको बेला रीति सम्हाल्ने थितिको लागि यत्रै सिति भनेर मिति गनेर बस्ने अनि परदेशाय नम भनेर घुँडा धस्नेहरूको कथा झन् सुन्न र गुन्न लायकको हुन सक्छ । समाजमा गएर एकै जनाले भोटको लागि एकै दिन बाइबल, पुराण र नमाज पढिदिन सक्छ । वाह ! यो के काइदा हो बहुरुपी रङ्ग र ढङ्गमा देशमा उमङ्गको रङ्ग यसबाट के आउला र ? देशको छाला काढेर हलाल गर्ने दलालहरू देशको पानीमा ¥याल चुहाएर जनताका सपनाहरू कुहाएको भने पक्कै हो ।

यहाँ यत्रो कुरा कस्को गर्न ला’को होला तपाईले छनक पाई सक्नु भो होला, राष्ट्रलाई पटक पटक दनक दिने यिनीहरूको बखान गरेर गरि साध्य छैन । यिनीहरूको व्यक्तित्व अचम्मको हुन्छ । त्यसैले यहाँ यी बहुरुपीको चर्चा गर्न लागिएको छ ।

पहिलो हुन् कोदोरोल वाटरबाट मन्त्री क्वाटरसम्म पुगेका व्यक्तित्व । गाउँमा खुर्सानी बारीसम्म नहुने र हुति नभएकाहरू चाकडीको टुकडी नै बनाएर उच्च पदस्थ बनेका भनेर झ्याप्पै नभने पनि तपाईंले उनी कहाँ कसरी पुगे भन्ने जानिहाल्नु भएकै छ । आठ कक्षामा फेल भएपछि जालझेल गरेर राजनीतिमा थिति बसाल्न पुगेका यी व्यक्तित्वको मूलमन्त्र कमाउ र रमाउ रहेको छ । गत महिना यिनले नेपालको झण्डाको टेबलपोस बनाएर बियर र सेकुवाको बाह«मासे खेलमा सरिक हुन थालेछन् । अनि कमाउको धन्दाको डन्डा पनि राम्रैसँग चलेछ ।

अर्का व्यक्तित्व पनि उस्तै मार्काका हुन् । जो अगुवा उही बाटोमा हगुवा भने झैं जनतालाई पछुवा बनाउने अनि आफू चाहिँ कछुवा गतिमा हिँड्न रुचाउने यस्ता प्रवृत्तिका व्यक्तिसँग गुण रहेको हुन्छ । गाउँकै कुरा गर्ने हो भने यिनले मूल बाटोमा छापेको ढुङ्गा उप्काएर चप्काएछन्, पछि ढुङ्गा खै भनेर सोध्दा त मज्जाले हप्काएछन् । सुन्नुस् न गाउँमा ढुङ्गाको भ्रष्टाचार गर्ने आज त्यो कुर्सीमा बसेर के सदाचारको नारा लगाएको छ र ? ढुङ्गामा पनि लाटा बुङ्गाको देश सोचेर झम्काउनेले के के चम्काएको होला अनि राष्ट्रको डुङ्गा कसरी चलाएको होला हजुर ?

काउन्ट डाउनमा नम्बर घटेर आउँछ तर दुई नम्बरी धन्दा छाडेर राष्ट्र निर्माणको एक नम्बरी धन्दामा कहिल्यै आउन नसकिने सन्जालको जन्जालमा फसेका यिनी पनि सामान्य ब्यक्तित्वबाट माथि उठ्न नसकेका हुन् नै तर सङ्गठनको आडमा मुखमा माड लगाएर साहस बटुलेर अचेल राष्ट्रको ठेक्का पनि मैलाई देऊ भनेर ठेकेदार बन्ने हेक्का राख्दैछन् । गाउँका खेतीयोग्य जग्गा मासेर प्लटिङकोे कारोवार गर्नेहरू आज देशको लागि रोजगार पाएका यिनीहरू अब राष्ट्रकै प्लटिङ गर्छु भनेर तम्सिए भने केही उदेक लाग्ने कुरा हुने छैन । यिनीहरू त राष्ट्रिय झण्डाको ओछ्यान लगाएर बिदेशी रक्सीले कुल्ला गरेर हल्ला गर्न माहिर हुन्छन् ।

गैँडालाई खाग खतरनाक, सुन्दरतालाई दाग खतरनाक भए पनि यिनीहरूलाई आफ्नो नाक कहिल्यै खतरनाक लाग्दैन । किनकि टुप्पामा पलाउने नव धनाढ्यहरूलाई आफूले कमाएको इज्जतको मतलब हुँदैन भने अर्काले दिएको इज्जतलाई यिनीहरूले खेलको रुपमा सोचेका हुन्छन् । सुन्नु भो यिनीहरूलाई हामीले नै इज्जतिलो बनाइरहेका छौँ, लौ भन्नुस् त तपाईं यिनीहरूको इज्जत गर्दै हुनुहुन्छ भने तपाईं कतिको इज्जतिलो ? जदौ
बेँसीसहर, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x