फित्काैली डटकमअर्धङ्गीका अगाडि उभिँदा
म यस्तो समाजमा बाँचिरहेको छु जहाँ अधिकांश अर्धङ्गीहरूको बाहुल्य छ । किसिमकिसिमका अर्धङ्गी हुलहरू मेरा दायाँबायाँबाट बुर्कुसी मारिरहेछन् । तिनीहरूको न कुनै विषयमा सूझबुझ छ, न त व्यवस्थित र रुचिपूर्ण ढंगले कुनै पनि सन्दर्भमा चासो लिने आदत छ । तर सर्वत्र तिनीहरूकै नियन्त्रण र हालिमुहाली छ ।
ती अर्धङ्गी कस्ता छन् भने जसका चालचलन, रीतिथिति र गुणचरित्रको बयान गर्न एक भन्दा बढी जिब्राहरू भएका नेपालका सण्ड नेताहरूको त हविगत छैन भने म जस्तो मनुवाको के हुन्थ्यो । तर पनि यसो कनिकुथी विचार्दा– झडङ्गको गोलाबारुदी मिजास भएको, आफ्नो फाइदामा गाला कानमै पुगी च्यातिन खोजेझैँ अट्टहास हाँस्न सक्ने, तिलको गेडाको नोक्सानीमा करिब करिब प्राण पखेरु समेत खुस्क्याउन खोज्ला जस्तै गरी प्रस्तुत हुने खुबी भएको, निमुखा र कमजोरलाई ठुँडे गिद्धले चल्लालाई अत्याएझैँ अत्याउन सफल, घरीघरी तपस्वी विश्वामित्रलाई बिर्साउलाझैँको मौनब्रती तर याम कुयाममा धोद्रे स्वरमै बौलाइहाल्ने, अरु मतहरुलाई ठाडै इन्कार गरी चुहिन पनि नदिने, मौका मिलाईमिलाई छिमेकी तथा परचक्रीका घरघडेरी र श्रीसम्पत्ती स्वाहा पार्ने, कुन खाल्डामा हाली विरोधीहरुको इहलीला स्वाहा पारेर भर्सेलीको ढाडेबिरालो बनौँला भनी षड्यन्त्र रची ढुकी बस्ने, बडेबडेमानका नेता अभिनेता सबलाई मात गर्न सक्ने खालका क्षमताले शोभायमान भएका देखिन्छन् ।
एक समय म आफ्नो नित्य विद्या पार गरेर यसो टहलिँदै फर्किरहेको थिएँ, बाफ रे ! त्यहाँको कुनै घागडान अर्धङ्गीले एउटा अक्किल सुझाएछ ‘लौ हाम्रो गाउँमा एउटा अक्कासे टावर बनाऊँ अनि युवा र युवती पठ्ठापठ्ठी सबलाई त्याँ चढ्न लगऊँ, टावर चढा’को पैसा मज्जाले असूलौँ, रातारात मालामाल !’ अर्धङ्गीका रउसे चाटुकारहरूले उसका कुरा भुइँमा खस्न नपाउँदै थपडी मारेर समर्थन जनाएछन्, नजनाऊन् पनि किन ? नत्र कसको खैराँत रहन्थ्यो र फेरि !
अर्धङ्गीले हुकुम जारी गर्दै गयो, आसेपासे र नाफाखोरहरूले निहित स्वार्थका लागि उसको हुकुम तामेल गर्दै गए । थुप्र्रै पसिनापोखकहरूले मुटुमा रगत जम्नेगरी अर्धङ्गीको सपना साकार पारिदिन श्रीखण्डझैँ हाड घोटे । कतिपय श्रमिक निर्माणमा तल्लीन हुँदा एकअर्कालाई सोध्ने गर्थे ‘हैन, दुःख गरेर खानुपर्ने गाउँमा पनि यस्तो टावर किन चाहिया हँ ? चढ्नै मन लागे त हाम्रा देशमा भीमसेन धरहरा छँदै छ नि ! अर्कोले भन्थ्यो ‘चुप् ! अहिले अर्धङ्गीले सुन्यो भने … बेकार किन बोल्नु … भैगो ।’
मेहनती श्रमिकका कलापूर्ण सोच र कठिन मेहनतले अन्ततोगत्वा एउटा सौन्दर्ययुक्त टावर बन्यो पनि ।
‘टावरको उद्घाटनमा कसलाई ल्याउने त ?’ सबैले जिज्ञासाको नजर तेस्र्याए । छ फिटमाथि बुरुक्क उफ्रिँदै अर्धङ्गी टावरको टुप्पातिर सुइँकियो र टुप्पामा पुगेर तिघ्रा र कुम हल्लाई हल्लाई गर्जन गर्न थाल्यो ‘सुन सबै मनुवाहरू ! यो यस्तो टावर हो जसका अगाडि पेरिस टावर पनि फुच्चे ठहर्छ । छ कोही दुनियाँमा यस्तो टावर रच्न सक्ने “डन” ? यो मैले रचेँ, देखाएँ । मैले पुर्ब–पस्युँको दुनियाँ चहार्दै यस्तै टावरको इन्जिनियरिङमा डिग्री लेर आको थेँ । अब मैले यसै टावरको निर्माणबापत डाक्टरी पगरी पनि पाउनुपर्छ, बुझ्यौ ? यो टावर मैले एक्लै बनाको हुँ ।’
सम्पूर्ण श्रमिकहरू मुखामुख गर्न थाले । उसैले बनाएको भने पनि कम्तीमा हाम्रो सामान्य सहयोग लिएको सम्म भनेको भए चित्त काटिँदैनथ्यो नि ! एउटा कालिगढले मुख खोल्यो ‘होइन महामहिम अर्धङ्गीज्यू ! तपाईंलाई केही त हामीले पनि सघाएका हौ नि, होइन र ?’
‘इस् सघाइस् तिमेर्ले ! के भनिस् फेरि बोल् त !’
कालिगढ चुप लागेर भिडतिर घुस्यो ।
अर्को अलि कटिलो खालको अगाडि देखियो– ‘हैन अर्धङ्गीज्यू, तपाइँले कहाँ र कुन विश्वविद्यालयबाट इन्जिनियरिङमा डिग्री लिनुभएको त, खै सर्टिफिकेट ?’
‘अरे ! तेरो यत्रो आँट ! पख् म तल ओर्लेर सर्टिफिकेट देखाउँछु ।’ अर्धङ्गीले फाल हालुँलाझैँ ग¥यो, त्यो व्यक्ति पनि भिडमै घुसेर आफूलाई बचायो ।
सबै नतमस्तक बने । वारि गाउँ पारि गाउँ मात्र होइन सहरसहर, गल्लीगल्ली, बस्तीबस्तीदेखि उक्त टावर अवलोकन गर्न र चढ्न मानिसहरू आउन थाले । अर्धङ्गीले टावरका सम्पूर्ण पक्ष र त्यसको वैधानिकतामा समेत शासन शक्ति जमाएको थियो । कसैले पनि उसको प्रतिवाद गर्न सक्ने स्थिति थिएन । टावरको अकूत आम्दानीले पुगिसरी आएपछि अर्धङ्गीले केही बचेखुचेका इमान्दारलाई नेटो कटाई सम्पूर्ण अर्धङ्गीहरूको भिड बटुल्दै टावरलाई एकलौटी बनाएर एकछत्र भोग गर्न थाल्यो ।
उसलाई मैले पनि पटक पटक सुझाव दिएँ– ‘अर्धङ्गीज्यू यो जीवन केका लागि ?’
‘खानका लागि पिउनका लागि ।’
अर्धङ्गी अरु थुप्रै भाषण दिन्थ्यो– ‘संसार यति बित्ताको छ, चन्द्रमा यति फड्कोमा पुगिन्छ, वृहस्पतिमा यसरी कुद्नु पर्छ ।’
‘हे सर्वज्ञानी अर्धङ्गी ! त्यस्तो संसार ब्रह्माण्ड देख्नेले आफ्ना आसपासका निमुखाहरूलाई किन थिलिपित्तिली किचेको ? तिनीहरूको जीवनबोधसम्म नभएकाले कसरी ब्रह्माण्डको ज्ञान फलाक्नु ?’ उसले मप्रति क्रोधको सास फे¥यो ।
कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भनेझैँ “सबै एकैनास त अवश्य हुँदैनन्” भन्ने सत्य साबित गर्दै वरिपरिका एकदुई मित्रहरू पनि उठे, आवाज दिए– ‘हो त अर्धङ्गी साब्, हजुर किन यत्तिकै रिसानी भाको, यसो हाम्रा यथार्थमाथि विचार गरिस्योस् त !’
‘के भन्यौ हरामहरू ? मलाई अर्ती उपदेश दिने, ब्रह्माण्ड ज्ञातालाई ! मैले जे भनेँ त्यही मात्रै ठीक, अर्को सत्य कुनै लोकमा पनि छैन बुझ्यौ ? अब म तिमीहरूलाई ठेगान लाउँछु ।’
त्यो न त समझदारीमा आउँथ्यो न त अरुका कुरा सुन्न नै तयार हुन्थ्यो । त्यसका आँखा हेर्दै डरलाग्दा आगो बर्साउने खालका थिए । नाकका पोराबाट निस्केको त्यसको फुङ्कार उन्मत्त साँढेको जस्तो थियो । कटटट दारा किट्दै त्यसले पूरा पर्यावरणलाई आफ्नो हिँस्रक भयबाट दमन गरेको थियो । आफ्ना बकम्फुसे र अर्थहीन पण्डित्याइँ प्रवचनको श्रवण कार्यमा सबैलाई जबर्जस्त सहभागी गराई घन्टौँ उभ्याउँथ्यो । कसैले सामान्य आवाज निकाल्न मात्र खोजे पनि ऊ झन् बडेमाको डाँको पारेर बोल्न समेत दिँदैनथ्यो । हाम्रो झन्डै होस गुम भयो ।
यस प्रकारको महाअर्धङ्गीका अगाडि बस्न बाध्य भएकाहरू बाहेक अन्य अधिकांश उसका चाटुकार थिए । उनीहरू दुई हात मिच्दै निहुरेर किच्च किच्च तयारी हाँसो झुन्ड्याउँदै अर्धङ्गीका बहुलठ्ठीपनमा वाहवाह र समर्थनका आँधी उडाइरहेका देखिन्थे तर भित्रभित्र रसातलसम्म उपहासको हाँसो हाँसी खिल्ली उडाइरहेका हुन्थे । त्यस्ता अवसरवादी चाटुकारहरू मनमनै भन्थे ‘थुक्क बेसरम, गतिछाडा, आफ्नो धोती खुस्केको पनि चाल नपाई ताण्डव नाच्न खोज्ने कहाँसम्मको महाअर्धङ्गी !’
दिक्क भएर झोला भिरी एउटा सानो हुल निस्क्यो अर्धङ्गी टावरबाट, अनि फरक फरक बाटाहरु तर्फ फिँजारिए । मैले पनि सोचेँ “एक्काइसौँ शताब्दीको सँघारमा केवल अर्धङ्गीकै राजमा मात्रै सडिरहनुपर्छ र ! हामीले प्राप्त गरेका शिक्षा समाज सुधार्न र राष्ट्र निर्माण गर्नका लागि पनि हो, अनेक सन्दर्ममा अल्मलिन होइन, म कतै न कतै क्रियाशील अवश्य हुनै पर्छ । आफ्नो सामाजिक अस्तित्व र राष्ट्रनिर्माणको जिम्मेवारीबोध गर्नै प¥यो नि !”
बरु साहित्य नै विशेष क्षेत्र हो । सशक्त रूपमा अघि बढ्नु पर्छ । लागेँ त्यतै ।
आम्मै नि ! साहित्यको मण्डलीमा त झन् बडेबडेमानका अर्धङ्गीहरूको राज रहेछ । डफ्फा डफ्फामा धुम्मिने र घोक्रो सुकुन्जेल ऐँचोपैँचोमा भजन गाउने ! अनि राम्रा र उत्कृष्ट अल्पसङ्ख्यकलाई ‘किपर किक’ दिने, भित्तो पुग्ने गरी । त्यहाँ झन् कसरी टिक्नु । कहिले अदालतमा त कहिले मन्त्रालयमा, कहिले अस्पतालमा त कहिले विश्वविद्यालयमा अनि पत्रकारिता, जहाँतहीँ त्यस्तै । जता गए पनि बराँठिएका अर्धङ्गीहरूको छेलोखेलोले म हत्तुहैरान छु । समाजका गोरेटाहरूमा जति चक्र मारे पनि कहिले कुन त कहिले कुन अर्धङ्गीका अगाडि उभिइरहेको हुन्छु ।
एक दिन खुब जोडले यात्रा कुदाएँ । “अब अलि टाढा पुगेर फरक ढङ्गको योजना बनाउँछु, फेरि पनि देश बनाउनु छ, समाज बदल्नु छ ।”
जोडले दगुरेँ, निकै लामो यात्रा गरेँ । स्वाँस्वाँ गर्दै गलेर थाकेपछि निकै पर पुगेकामा निश्चिन्त भएँ । बल्ल सन्तोषको सास फेरेँ, “अब भने अर्धङ्गी हुलबाट टाढा आइयो । अब चैँ केही गर्नु पर्छ ।”
खुसी भई थरक मार्न टक्क अडिएँ । केही बेरमा छेउमा कोही उभिएको आभास भयो । यस्सो फर्केर हेर्छु त, आब्बुइ ! उही टावरे अर्धङ्गी ठिङ्रिङ्ग उभिइरहेको सामुन्नेमा, उही राता आँखा र सन्काहा मिजासका साथ ।
Subscribe
Login
0 Comments
Oldest






































