साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘नाक’को उपयोगिता

Nepal Telecom ad

फर्सी जस्तो अनुहारमा दुई गेडा आँखाका बिच बुढानिलकण्ठझैँ लडेर बस्ने यो नाक हाम्रो इज्जत हो, पहिचान हो । मेरो पनि गोरो हप्सी वर्णको अनुहारमा सगरमाथाझैँ उच्च बनेर ठडिएको यो नाक म आर्य हुनुको आइडेन्टिटी कार्ड हो ।

झ्वाट्ट हेर्दा काठमाडौँ–हेटौँडा फास्ट ट्रयाकको बन्दो सुरुङमार्ग जस्तो देखिने यो नाक वास्तवमा बहु–उपयोगिताको छ । स्वास तान्ने यही नाक, स्वास फाल्ने यही नाक, रुघा लागेको बेलामा सिँगानको ओभरफ्लो टनेल यही नाक, प्रेमिकालाई प्यार जाग्यो कचक्क टोक्ने यही नाक, साथीभाइसँग मुठभेडमा पचक्क निशान यही नाक, पाकेको सिँगानको आँठो सुरुक्क लुछेर फ्यात्त फाल्ने बाटो दिने डाँडो यही नाक, अल्छी लागेको बेलामा चोरी औँला घुसारेर सुकेका पाप्राहरू कोट्याउँदै समय काट्ने भाँडो यही नाक, इज्जत आउने काम गरिस् राखिस् बाउको यही नाक इज्जत फाल्ने काम गरिस् काटिस् बाउको यही नाक, बडामहाराजलाई झोक चल्दा धार्नीका धार्नी कीर्तिपुरेको यही नाक, बुढी आमालाई बुलाकी लगाउन यही नाक, तरुनीलाई नथ्थी, फुली लगाउन यही नाक । कहिले त डकारको गन्ध फाल्ने भ्यान्टिलेसन यही नाक, हाच्छिउँ गर्दा पचका हान्ने यही नाक ।

यतिमा मात्र कहाँ सीमित छ र यो नाकको उपयोगिता ? मुखबाट ‘हाइ’ गर्ने माहोल नहुँदा मुख बन्दै राखेर आँखाबाट आँसु चुहाउँदै आकारमा दोब्बर ठूलो पारेर त्यो हाई फाल्ने यही नाक । बिचरा कहिलेकाहीँ त दुख पनि नराम्रै पाउँछ यसले । भात खाँदा सर्कियो अड्किने यही नाक, लामखुट्टेले डाँडीमा टोक्दा आफ्नै हातले पड्किने यही नाक, भुसुनाले सिग्नल हराए तिनका पनि भड्किने यही नाक ।

स्थिर, स्तब्ध बसे जस्तो देखिने यो नाक बेला बेलामा मुखमाथि हुकुम पनि चलाउँछ । आफूले फाल्नु पर्ने लोप्रा घुरुक्क घाँटीसम्म पुग्ने गरी तानेर मुखलाई स्वाद लिँदै फाल्न लगाउँछ । अरु अङ्ग भन्दा रिसालु स्वभावको योे नाक रिसको झोकमा केही गर्न नसके पनि सुसाउन चाहिँ शेष नागले झैँ सुसाइदिन्छ ।

फोहोरी, घमण्डी, रिसाह जे जस्तो भए पनि आफ्नो काममा चाहिँ इमान्दार छ यो नाक । जन्मेदेखि मर्नुसम्म २४सै घण्टा खटिइरहन्छ । यसको न त सिफ्ट सकिन्छ, न त यसले छुट्टी नै माग्छ । अँध्यारो–उज्यालो, चिसो–तातो हरेक अनुकुल–प्रतिकुल परिस्थितिसँग सामना गर्दैगर्दा पनि आफ्नो कर्तव्यबाट डेक पछि नहट्ने यो नाकसँग मैले पनि कर्तव्यप्रति इमान्दारिताको ठूलै पाठ सिकेको छु ।
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x