प्रेम ओली ढकलपुरेयसपाली पनि त्यस्तै भयो
विकासले आज धेरै पछि
श्रीमतीलाई भित्री लुगा किनेर दियो
दुई चार पैसो पनि गिनेर दियो
श्रीमानको मायाले शारदाको मन दङ्ग थियो
आज उसमा गजब एउटा उमङ्ग थियो
तर के थाह बिचरीलाई
हिजै मात्र विकासले
मन्जितालाई महङ्गो गहना दिएर भन्दैथ्यो
ह्याप्पी नारी दिवस ।
मनिसरा दिन भर
विभिन्न महिला सङ्घ संस्थाले
आयोजना गरेको जुलुसमा दिनभर कराई
खाजाको नाममा
एउटा समुसा र अलिकति नम्किन खाई
साँझ लखतरान परेर घरतिर आई
छोराछोरी भोकले ढलिरहेका पाई
बुढो आयो हल्लिँदै टन्न रक्सी खाई
आज खाना पकाएको के हुन्थ्यो
भनेकी मात्र थिई दुई चार मुक्का पाई
मातेर बुढो भन्दैथ्यो
महिला दिवस सारी दिवस
ल खा नारी दिवस ।
चुमाने ठेला ठेल्दैथ्यो
चुमाले बदाम भुट्दैथी
नुन खुर्सानी कुट्दैथी
उनीहरूलाई
नारी दिवसको कुनै वास्तै थिएन
ब्यापार बढ्छ भनी दङग थिए
आज महिलाहरूको मेला थियो
मान्छेको भिडले ठेलमठेल थियो
हिंड्नेलाई पनि पेलमपेल थियो
आज झन हिजो जति पनि बिकेन
चुमा र चुमानेको खुसी नै टिकेन
चुमाले न कुनै उपहार पाई
न नारी दिवस थाह पाई
घरमा आउँदा टि.भी. फुक्दै थियो
आज भव्य नारी दिवस ।
एनजियो आइएनजियो चलाउने
सुकिला मुकिला नारीहरू
मन्चमा कुर्लदै थिए
खहरे खोला झै उर्लदै थिए
नारी सब एक हौँ
पुरुषहरूलाई सब फेकौं
नारी शक्ति जिन्दावाद
पुरुष भक्ति मुर्दावाद ।
यसपाली पनि त्यस्तै भयो
गत सालको जस्तै भयो
नारी दिवस ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































