सुलसुलेकवितामा स्वाधीनता चेतको खोजी
चैत्र १, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान पद्य विभागको आयोजनामा ‘नेपाली कवितामा राष्ट्रिय स्वाधीनता चेत’ एवम् ‘समकालीन नेपाली कवितामा सांस्कृतिक चेतना’ विषयक काव्य विमर्श सम्पन्न भएको छ । ‘नेपाली कवितामा राष्ट्रिय स्वाधीनता चेत’ विषयक कार्यपत्र प्रस्तुत गर्दै हेमनाथ पौडेलले नेपाली कविताको प्राथमिक कालदेखि नै राष्ट्रिय स्वाधीनता चेतले अभिव्यक्ति पाउँदै आएको र समकालीन नेपाली कवितामा यो चेतना अझ समृद्ध भएको उल्लेख गर्नुभयो । उक्त कार्यपत्र माथि प्राध्यापक केशव सुवेदी र डा. नारायण चालिसेले टिप्पणी गर्दै कार्यपत्रले गम्भीर विषयको उठान गरेको र यसमा अझ परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो ।
यसैगरी ‘समकालीन नेपाली कवितामा राष्ट्रिय सांस्कृतिक चेतना’ विषयक कार्यपत्र प्रस्तुत गर्दै डा. लक्ष्मणप्रसाद गौतमले समकालीन नेपाली कविताको एक मुख्य प्रवृत्ति सांस्कृतिक चेतना रहेको र यो पहिचानसँग पनि जोडिएको उल्लेख गर्नुभयो । उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै डा. ताराकान्त पाण्डेय र भूपाल राईले कार्यपत्रमा रहेका कमी कमजोरीहरूलाई औँल्याउँदै कार्यपत्रलाई अझ समृद्ध गर्नुपर्ने सुझाव दिनुभयो ।
उपकुलपति डा. विष्णुविभु घिमिरेले कार्यपत्रहरूको प्रस्तुतिले सम्बन्धित विषयमा बहसको ढोका खोलेको उल्लेख गर्नुभयो । कार्यक्रमका अध्यक्ष डा. अभि सुवेदीले प्रस्तुत कार्यपत्रहरू माथि आफ्नो मन्तव्य प्रस्तुत गर्दै यस्तै महत्वपूर्ण विषयहरू अरू पनि रहेको र प्रज्ञा–प्रतिष्ठानले त्यस्ता विषयहरूमा आउँदा दिनहरूमा छलफल चलाउनु पर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमको प्रारम्भमा पद्य विभाग प्रमुख अमर गिरीले विषयवस्तुको महत्व दर्साउँदै पद्य विभागले यी विषयहरूमा छलफल चलाएको उल्लेख गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































