बहुला कविको आत्मालाप
म कवि,
नाथे कवि !
सरकारले चिहानघारी लिलामी गर्दा
मूर्दा जुलुसको नेतृत्व लिने
म मुर्दा कवि
आफै आफ्नो लागि
भविष्यको हत्यारा हूँ ।
स्वाभिमानको भारी बोकेर
आफैलाई थिच्ने
म महाँ मूर्ख हूँ,
मूर्दालाई मानिस देख्ने र मानिसलाई मूर्दा देख्ने
रतन्धोले ग्रसित एक रोगी हूँ ।
आत्मसम्मानको भोकले लखेट्दा
करङलाई सारङ्गी सम्झेर
जिन्दगी रेट्ने
म आफै आफ्नु इमान्दार हत्यारा हूँ,
गर्भिणी समयको कोखमा
लात्ती हानेर
जन्मदै गरेको अत्याचारी शासक तुहाउने
हत्यारो लेखक मै हूँ ।
मेरो समाजले पुजेको ढुङ्गोमा
ठेस लाग्दा
मन्दिर अगाडि टोपी थाप्नेहरूको भीडमा
गुहार माग्ने
म कायर हूँ,
स्वास्नी मरे मन्दिरमा भेटी चढाएर
बेश्यालाई बधाई दिन पुग्ने
म यो समाजको लोग्ने हूँ !
आर्यघाटबाट सरकार फर्कंदा
मानव अधिकारको चिहान खोस्रने
मृतक अधिकारकर्मी हूँ,
गृह मन्त्रालयले हतियार किन्दा
सुतेको शिक्षा मन्त्रालयलाई चिमोट्ने मूर्ख हूँ ।
म मामुली मान्छे,
राज्यका आँखामा कसिङ्गर हूँ
परिवारका आँखामा हरिलट्ठक हूँ
स्वास्नीका आँखामा नामर्द हूँ
समाजका आँखामा बहुला र सन्काहा हूँ
तर समयका आँखामा
भविष्य द्रष्टा हूँ ।
म साँच्चै नाथे कवि
आफ्नै खुट्टामा उनिएको
चप्पलले पनि हेप्छ,
प्रत्येक पाइलाको पट्याक्क आवाजमा
गुहुका छिटाले तालु छाम्छ
जुन छिटाले समाज चिनेको छ
संसद चिनेको छ
र, देश चिनेको छ ।
समयको यो कुरुप अनुहार निचोर्न
अब म इमान्दार छोरो जन्माउन चाहन्छु,
कापी र कलमको सम्भोगबाट
यो नरकंकालको देशमा
बाबुको विज्ञापन गर्दै
र, मुर्दाघरतिर फर्केर चिच्याउँदै छु–
ए जँड्याहा !
कुरा सुन त,
तँ एकरात सुतिदेन
यो थारो समयसँग ।
काठमाडौं