साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिबद्धता पुराण

Nepal Telecom ad

उहिले हाम्रा पुराणको सङ्ख्या निश्चित थियो । अहिलेको तथाकथित उत्तरआधुनिक हावाले अनगिन्ती नवपुराणहरू विकसित भएकाले तिनको सङ्ख्या अगणित भइसक्यो । यस्तै नयाँ पुराणहरूमा एउटा महत्वपूर्ण पुराण हो— प्रतिबद्धता पुराण । आजकाल यसको अर्थ र प्रयोगक्षेत्र निकै विस्तार भएको छ । कामप्रति प्रतिबद्ध भएर काम गर्नु सारै राम्रो काम हो । पूरै प्रतिबद्ध भएर गरिएको काम सम्पन्न नहुने कुरै आउँदैन, गर्नै नसकिने काममा प्रतिबद्धता जनाइए अर्कै कुरा… । सरकारी निकायको उच्च तहदेखि निम्न तहसम्म, राजनैतिक क्षेत्रको माथिदेखि तलसम्म अनि कमान्डरदेखि बबन्डरसम्म सबका सब आआफ्ना कामप्रति प्रतिबद्ध भए भने देश उँभो लाग्न खासै ट्याम लाग्दैन । डाक्टरले सेवाको भावनाले प्रतिबद्ध भएर रोगीको उपचार गरेमा अनि रोगीले प्रतिबद्ध भएर डाक्टरी सल्लाह पालन गरेमा रोग नभागी धरै छैन । शिक्षकले अठारतिर नधाई प्रतिबद्ध भएर पढाएमा र विद्यार्थीले पनि लभालभतिर नलागी प्रतिबद्ध भएर पढेमा शिक्षाको गुणस्तर पनि यथास्थितिमा रहँदैन । नेताले प्रतिबद्ध भएर जनसेवा गरेमा अनि जनताले पनि प्रतिबद्ध भएर देशप्रेम दर्साएमा मुलुकले अधोगति नभई अग्रगति लिने पक्का छ । यस्तैयस्तै गरी सबै आआफ्नो क्षेत्रमा प्रतिबद्ध भएमा देशको विकास नहुने भन्ने कुरै हुँदैन । कुराले पूर्ण प्रतिबद्ध अनि कामले चाहिँ मठ्ठुराम भए त्यसको परिणतिचाहिँ हाम्रैजस्तो हुन्छ ।

विना सोचविचार ठाउँ कुठाउँ जताततै जेसुकैमा गरिने प्रतिबद्धताले विकास होइन, विनाश निम्त्याउँदो रहेछ । उहिलेदेखि अहिलेसम्म हेरिल्याउँदा कौरवको प्रतिबद्धताले वंशै विनाश भो । रावणको सीता तान्ने प्रतिबद्धताले लङ्का ध्वस्त भो, उसको ज्यानै गयो । हिटलरको प्रतिबद्धताले लाखौँलाख निर्दाेष जनता स्वाहा भए । केहीका अहंपूर्ण निजी प्रतिबद्धताले ठूलाठूला महायुद्ध भए । हिरोसिमा नागासाकी खरानी भए, करोडौँ जन र खरबौँ धन स्वाहा भो । गुर्भाचोभको प्रतिबद्धताले सोभियत सङ्घ तहसनहस अनि बुसको प्रतिबद्धताले सद्दाम सुई, इराक फुई… । यी प्रतिबद्धताका एकाध नमुना मात्रै हुन् ।

शक्तिवालले शक्तिहीनलाई थिचेर मिचेर आफू माथि उठ्ने प्रतिबद्धता विश्वमै पुरानो भएकाले प्रतिबद्धता पुराणको महिमा गाएर साध्यै छैन । यो काम सत्ययुगीन हजार जिब्रे शेषनागको त कुरै छोडौँ कलियुगीन स्वघोषित महाशक्तिशाली अष्ट जिब्रे अष्टनारांको बुताभित्रसमेत नपर्ने भइसक्यो भने अरूको त के कुरा भो र ? संसारको कुरै छोडौँ । हामै्र दले मन्त्रीहरूका प्रतिबद्धतासमेत वर्णन गरी साध्य छैन ।

हामीकहाँ धेरैले धेरै प्रकारका प्रतिबद्धता व्यक्त गरेको इतिहास साक्षी छ । पृथ्वीनारायणले भुरेटुक्रे राज्य एक बनाउने प्रतिबद्धता व्यक्त गरेर हामीलाई नेपाली बनाउने ठूलो भूल गरे ! भीमसेन, बलभद्रलगायत थुप्रै वीरवीराङ्गनाहरूले अनेक युद्धहरूमा वीरता देखाई राष्ट्रका लागि ज्यान दिने प्रतिबद्धता पूर्ण गरे । इतिहासमा थुपै्रले आआफ्नै ढप र ढाँचाका सकारात्मक प्रतिबद्धता पूरा गर्दै गए । अलि पछि गएर निर्माणका लागि नभई विनिर्माणका लागि प्रतिबद्धता व्यक्त गर्न थालेर पो पर्यो फसाद ! कोतपर्व, भण्डारखालपर्व हुँदै नारायणहिटीपर्वसम्म सब यस्तै प्रतिबद्धतै प्रतिबद्धताका परिणाम हुन् । जङ्गे प्रतिबद्धतापछि तिनका शाखासन्तानले तीनसिरी भई भव्य महल बनाउने प्रतिबद्धता गरे र तिनैबाट वर्तमान हाम्रो प्रशासन चल्दैछ । अलि पछिकाले सुन बोक्ने, विदेशी बैंक भर्नेजस्ता प्रतिबद्धता पूर्ण गरे भने त्यसभन्दा पछिकाले पजेरोमा गुड्ने, सुत्केरी भएर उड्ने प्रतिबद्धता पूरा गरे । पहिलेकाको प्रतिबद्धता अलि बढी सामूहिक थियो भने पछिकाको पूरै वैयक्तिक हुन थाल्यो । कुनै कालमा पनि जनताका नाममा गरेका प्रतिबद्धता भने पूरा भएको इतिहासै छैन । यसरी हेरिल्याउँदा शासक र शासितको छुट्टाछुट्टै खाले दोहोरो इतिहास भएको हाम्रो मुलुक आजसम्म प्रतिबद्धतै प्रतिबद्धताबाट गुज्रिएको छ ।

हामीकहाँ विनायोग्यता खत्र्याकखुत्रुककै भरमा हत्याउन सकिने एक मात्र पद मन्त्री हो भन्ने कुरा जगजाहेरै छ । मन्त्री देश बनाउने ठूला मान्छे… । मन्त्रीजति देश बनाउवा भए’सि जनताजति बिगारुवा हुने नै भए ! जनसरकारको उच्च केन्द्र्र संसद् । जनताले चुनेर पठाएका प्रतिनिधिबाट निर्मित संस्था । त्यहाँ पनि प्रतिबद्धताको कुनै कमी छैन । तँछाडमछाड गर्दै नाराजुलुसका साथ सदन अवरुद्ध गर्ने प्रतिबद्धता अनि मसान्त नपुग्दै ढुकुटी सफाया गर्ने प्रतिबद्धता पनि हाम्रै नवनिर्माण हो । त्यति मात्र कहाँ हो र छुस्स केही हुनेबित्तिकै दिनदिनैजसो अनेक नामधारी आयोग गठन गर्ने तर तिनका प्रतिवेदन लागू गर्न त परै जाओस् सत्तामा बसुन्जेल सार्वजनिकसमेत नगर्ने अनि सत्ताबाट खुस्किनेबित्तिकै फलानो आयोगको प्रतिवेदन सार्वजनिक गर, लागू गर भन्दै बुरुक्क उफ्रेर जनता हँसाउने प्रचलन हाम्रो जन्मसिद्ध संस्कार नै हो । नढाँटी भन्ने हो भने संसारमै हामी यस्तैयस्ता अनेकौँ प्रतिबद्धताका प्रवर्तक–उन्नायक भइसकेका छौँ अनि हाम्रो मुलुक प्रतिबद्धतै प्रतिबद्धताको खानी नै भइसकेको छ । अब विश्वले हामीबाटै प्रतिबद्धताको नयाँ सिद्धान्त सिक्नु जरुरी छ !

उहिले कुनै बेलाका शासकलाई जनताले दुख पाइयो सरकार भनी गुनासो गर्दा ‘दुध र भात पनि खान पा’को छैनस्’ भन्थे रे ! हामी त्यस्ता महान् शासकबाट शासित सार्वभौम जनता ! यस्तै कालो कालका कुनै मन्त्रीले भाषण गर्दा सधैंजसो भन्ने गर्थे रे— ‘सके ठिटी मिलाइदिन्छु नसके छोरी दिन्छु ।’ त्यतिखेर त्यो ख्यालठट्टाको विषय थियो । त्यो सुनेर धेरै पटक हाँसियो पनि कतिलाई मिलाइदेलान् भनेर ? पछि बुझ्दै जाँदा पो थाहा भो त्यो त उनको प्रतिबद्धता दर्शनको चुरो पो रहेछ भन्ने कुरा ।

सात, सत्र, छत्तीस, छयालीस, बाउन्न, बैसठ्ठी–त्रिसठ्ठी आदि हाम्रा प्रतिबद्धताका खास वर्ष हुन् । सातसाले त्रिपक्षीय प्रतिबद्धता, सत्रसाले एक पक्षीय प्रतिबद्धता, छत्तीससाले दुई पक्षीय प्रतिबद्धता, छयालीससाले बहुपक्षीय प्रतिबद्धता, बैसठ्ठी–त्रिसठ्ठीसाले अष्ट पक्षीय प्रतिबद्धता… । यी सब हाम्रा एकसेएक प्रतिबद्धताका नमुना हुन् । आपूm परियो यी सब देखेसुने भोगेको अनुभवी मान्छे । सातसाले प्रतिबद्धता विदेशी भूमिमा सम्पन्न गरिएकाले स्वदेशमा पूरा गर्न आवश्यकतै ठानिएन । सत्रसाले प्रतिबद्धता थपथाप गर्दै छत्तीस, छयालीससम्मै लम्बियो । छयालीसमा अलि ठूलै प्रतिबद्धता व्यक्त गरियो । पुरानो ढल्यो । नयाँ पलायो । संविधानको बच्चो जन्म्यो । त्यसलाई संसारकै उत्कृष्ट भन्ने प्रतिबद्धता व्यक्त गरियो । नयाँ बिचरो शिशु हुँदै अनेकौँ प्रतिबद्धतै प्रतिबद्धताका मारले चाउरियो, बढ्नै सकेन । युवा उमेरसम्मै शिशु नामबाटै हुर्कियो, सुकेको खोस्टोमा परिणत भयो र सोर नटेक्तै गयो पनि…!

छयालीसमा जन्मिएका शिशुको घाँटी साठीतिरैबाट पटकपटक निमोठियो । एकसय सत्ताईसले गर्नु नगर्नु चर्तिकलै ग¥यो । सबका आँसु पुछ्ने नयाँ प्रतिबद्धता व्यक्त गरियो तर रुमालले नै भ्याएन । यति आँसु बग्न थाल्यो कि त्यो नै समुद्र बन्न पुग्यो । आँसु पुछ्ने प्रतिबद्धता व्यक्त गर्नेलाई आँसुले नै हुत्याएर पाखा लाइदियो । फेरि पुराना र नयाँ मिलेर बनेका अष्टनारांहरूबाट अग्रगामी निकास खोज्ने प्रतिबद्धता व्यक्त गरियो । ठूलाघरे दलानमा बसेर सबका सामु हस्ताक्षर गरी अर्काे प्रतिबद्धता व्यक्त भयो । हस्ताक्षरको मसी नसुक्दै त्यसलाई नमान्ने भन्ने अर्काे प्रतिबद्धता बाहिर आयो । शान्ति, संविधान, हतियार व्यवस्थापन हुँदै नयाँ नेपाल निर्माणको प्रतिबद्धता पनि सार्वजनिक भयो । सर्वत्र खुसी छायो । तालीको गड्गडाहट मच्चियो । कसैकसैलाई अपुताली पर्यो !

यत्तिकैमा उताकाहरू यताको ठूलो घरमा प्रवेश गरे । अष्टसमागमबाट अन्तरिम भन्ने नयाँ संविधानको बच्चो जन्माइयो । हातखुट्टा खिनौरा भए पनि यसको शरीर पहिलेको भन्दा घ्वाँके छ । नयाँ नाम लोकु राखिएको छ । यो शिशु नहुँदै निकै हुर्किसक्यो । जुँगादारी, भुत्लाभुत्ली सब पलाइसके । लागू नै नभई यसले संशोधनैसंशोधनको पञ्चखत बेहोरिसक्यो । रूपरङ्ग अजीबको भइसक्यो, टाढैबाट चिनिने । यसमार्पmत दनादन विभिन्न बुँदे नयाँनयाँ प्रतिबद्धता व्यक्त हुँदाछन् । महिला–पुरुष एक बनाउने प्रतिबद्धता व्यक्त भइसक्यो । जोडेर कि छेडेर भन्ने अष्ट निर्णयचाहिँ बाँकी नै छ । यी सब प्रतिबद्धता पूरा हुने नहुने पछि बिचारौँला… ।

प्रतिबद्धतै प्रतिबद्धताका माझ केही दिन ठूलाघरे बैठक पनि चले । यत्तिकैमा यता सडक, सदन, सरकार, सिबिर सबकासब तताउने प्रतिबद्धता व्यक्त गर्न थालियो भने उता तराईमा गर्मी बढ्न थाल्यो । सिंह, टाइगर, स्याल, फ्याउरो, जरायो, बाँदर, काग, गिद्ध, चिल, हुचिल मात्र होइन चुरे, भुरे, जुरे, लुरे, मुसे, छुचुन्द्रे सबकासबले एकएक गरेर तराई तताउन थाले । सधैंजसो बन्दका बन्द हुन थाल्यो । त्यसको प्रभाव ठूला घरमा पनि पर्यो । यता पनि तँ वीर कि म वीर भन्दै टेबुल ठोक्ने र बैठक रोक्ने प्रतिबद्धता व्यक्त हुँदै गयो । भित्रभित्रै भोजनभट्टको प्रतिबद्धताचाहिँ यथावत् राखियो । अरू लागू नभए पनि यसलाई चाहिँ पूरै लागू गरियो । नयाँ प्रकारको बलौटे भोजनले नेतागण पहेंलिएर विदेश धाउने क्रम सुरु भयो । चुर्मुसे चाउरे नेताहरू दिन चारगुना रात आठगुना चिल्लि“दा छन् भने धुर्मुसे दाउरे जनताचाहिँ झन्झन् फुस्रि“दा छन् । तर के गर्नु जति फुस्रिए पनि बबुरा जनतालाई नेताका प्रतिबद्धता नसुनी धरै छैन । नेताको भुक्ने र जनताको लुक्ने परिस्थिति उत्पन्न हुँदोछ । हेरौँ यस्तै स्थिति कति दिनसम्म रहिरहँदो रहेछ !

अँ, कुरा मन्त्रीकै । यसै बीच अष्टनारां मिलेर नयाँ मन्त्रीमण्डल बनाउने प्रतिबद्धता भयो । निकै लामो ङार्रङुर्र र अंशबन्डापछि बनाइयो पनि । पहिलो बैठकदेखि नै बोलाबोलको क्रम सुरु भयो । मन्त्रीहरूले हरेक विषयमा प्रतिबद्धता जाहेर गर्दै हिँड्दै गर्ने क्रम जोडदार रूपमा विकसित भयो । गाउँ, जिल्ला, अञ्चल, क्षेत्र भ्रमणको क्रम तीब्रियो । हरेक ठाउँमा सोझा सार्वभौम जनताले आशाभरोसाका साथ अनेक मागहरू राख्न थाले अनि मन्त्री महोदयहरू पनि पुरानै ढपले तत्काल पूरा गरिदिने प्रतिबद्धता व्यक्त गर्दै हिँड्न थाले । कसैकसैले माग पूरा नगरे राजिनामा दिने प्रतिबद्धता पनि व्यक्त गरे । एकै दिन सत्र ठाउँ भाषण गरेर सब ठाउँमा प्रतिबद्धता व्यक्त गर्दै हिँड्न थालेपछि प्रतिबद्धताको चाङ् लाग्यो । मन्त्री महोदयलाई कहाँकहाँ केके प्रतिबद्धता व्यक्त गरियो भन्ने कुरा पनि सम्झनै हुन छाड्यो । जताततै बाटोघाटो, पुलपुलेसोलगायत विभिन्न विकासनिर्माण, जागिरबारेका प्रतिबद्धताका त कुरै छोडौँ कतिसम्म भने मेरो बिहे भएको छैन भन्नेलाई एक हप्ताभित्र, सन्तान छैनन् भन्नेलाई दुई हप्ताभित्र, स्वास्नी मरी भन्नेलाई तीन हप्ताभित्र अनि लोग्ने म¥यो भन्नेलाई आजै माग पूरा गरिदिने प्रतिबद्धता व्यक्त हुन थाले ।

ल्याप्चेलाल मन्त्रीले विज्ञानप्रविधिको उन्नतिको कुरा मात्र होइन बिग्रेको हवाइजहाज निरीक्षण गरी एक घन्टाभित्र उडाउने प्रतिबद्धता व्यक्त गर्नसमेत बाँकी राखेनन् । मुखमा बिर्को नभएका नेताका बोलीको कुनै टुङ्गो हुन छोड्यो, जहाँ जतिखेर जे पायो त्यही प्रतिबद्धता व्यक्त गर्दै हिँड्दै गर्न थाले । जहाँसुकै गयो प्रतिबद्धता व्यक्त गर्दै भाषण ठोक्यो, ताली खायो, हिँड्यो । पूरा गर्नु जरुरी छैन । ठाउँ छोड्नेबित्तिकै प्रतिबद्धता बिर्सियो । कसैले पछि भनिहाले वा पत्रिकाले लेखिदिइहाले भने मैले त्यसो भनेकै छैन, मेरो आशयलाई बङ्ग्याइदिए भन्यो आपैंm ठालु पल्टियो । गाली खाउन्जेलसम्म पनि चुपै लाग्यो, फाली खाने दिन आउन्जेलसम्ममा मन्त्रीबाट हटिहालिन्छ अनि माग गर्नेकै कित्तामा उभियो । बन्दाबन्दीतर्पm उकास्यो… बस ।

उहिल्यै हाम्रा ब्रह्मा, विष्णु, महेश्वर खुसी हुनेबित्तिकै जसले जे मागे पनि तथास्तु भन्दै माग पूरा गरिदिँदै हिँड्दै गर्थे रे ! अनि तिनका प्रतिबद्धता पूरा पनि हुन्थे रे तर यतिखेरका हाम्रा मन्त्रीका त… । अब मन्त्रीका प्रतिबद्धता जनताले पनि राम्ररी बुझिसकेकाले पत्याउन छोडिसके । कसैले ढाँट कुरा ग¥यो भने मन्त्री हुन आँटिस् कि क्या हो भन्ने दिन आए ! झन् चुनावताकाका आकाश–पाताल जोड्ने, युरोप–अमेरिका बनाइदिने भोटे भाषणका प्रतिबद्धताको त कुरै नगरौँ ! यो मन्त्री महोदयको खानदानी वृत्ति नै भइसक्यो ! हुँदाहुँदा अब त सभाका नामसमेत प्रतिबद्धता सभा हुन थाले तर यसले पनि केही खालो सार्ने स्थिति देखिँदैन ।

अब भिसी, दूत सब सिसीभूत भए । तिनको नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गर्दागर्दै पुराना मन्त्री गए । नयाँ आए । तिनबाट पनि प्रतिबद्धता व्यक्त हुँदाछन् । अष्टनारांको अंशबन्डा कहिले मिल्ने हो पत्तो छैन । माझीले सल्लाह गर्दागर्दै सात गाउँ डुबेको कहाबत नेपाली राजनीतिमा पनि लागू हुने हो कि भन्ने चिन्ता बढ्दो छ । देश पल्लै छेउ पुग्न आँटिसक्यो, अब कहाँसम्म पुग्ने हो भन्ने कुरा सायद हाम्रा ब्रह्माजीलाई समेत थाहा छैन !

अहिले सबभन्दा ठूलो प्रतिबद्धता शान्ति र संविधान सभाबारे व्यक्त हुँदोछ । यो जनता हँसाउने र विदेशी नचाउने सबभन्दा उत्तम माध्यम बन्न पुगेको छ । कोही नमरीकनै गर्छु–गराउँछु भन्ने त कोही नगरी मर्दैमर्दिन भन्ने प्रतिबद्धता व्यक्त गर्छन् । अनि कोही मेरो बिहे नहुँदै गर्छु भन्छन् त कोहीचाहिँ सन्तान नजन्मिँदै गर्छु भन्छन् । कोही तोकिएकै मितिमा गर्ने भन्छन् त कोही मिति सार्ने कुरा गर्छन् । यथार्थमा यो बिरालाका घाँटीमा घन्टी कसले झुन्ड्याउने भन्ने दुविधाजस्तै भएको छ । जनचाहना भए पनि नेताका ढँटुवारे प्रतिबद्धताका अगाडि विचरा सार्वभौम जनताका चाहनाको के नै पो अर्थ रहन्छ र ? सातसाले संविधान सभाको प्रतिबद्धता पन्ध्रसाले आमचुनावबाट तुहियो र सत्र सालमा खुत्रुक्कै भयो । यसपटक पनि ग्रहदशा उति ठीक देखि“दैन । यो नवग्रह अष्टग्रहमा घटुवा हुँदाको परिणाम हो कि ?

दिनदिनै बन्द, हडताल, नाकाबन्दी, तालाबन्दीको प्रतिबद्धता व्यक्त हुँदाछन् । महिनाको अन्त्यमा राजस्व वृद्धि भएको जानकारी पनि आउँदोछ । माग पूरा गराउन खामरण अनसन बस्नेहरूका अगि माग पूरा गर्ने व्यक्तिहरू नै माग जायज छ भन्दै ऐक्यबद्धता जनाउँछन् र टिभीमा ङिच्च दाँत देखाउँदै ऐक्यबद्धताको प्रतिबद्धता व्यक्त गर्छन् तर कहिल्यै पूरा गर्दैैनन् । स्यालले कुखुरा नखाने प्रतिबद्धता व्यक्त गर्नु र हाम्रा नेताले भ्रष्टाचार नगरी देश विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु अनि कुकुरले मासु पैंचो तिर्नु र मन्त्रीले आफ्ना प्रतिबद्धता पूरा गर्नु यतिखेर हात्ती र हात्तीछाप चप्पलजस्तै भएका छन् ! अष्ट सहमतिका विभिन्न बुँदे प्रतिबद्धताले हावा खाँदोछ । अष्ट जुटानको कुरा फिटान भोजनभट्टका बेलामै सीमित रहने र बिजुलीपानीले छोड्नेबित्तिकै सब चट्… । पहिले कब्जा गरिएका फिर्ता गर्ने प्रतिबद्धताहरू ठोकठाकमा परिणत हुँदाछन् । सार्वभौम जनता भने साँढेका खस्ने आसमा बस्न बाध्य छन् । यतिखेर चाकडीचाप्लुसीका दिन फस्टाउँदा छन् । अब आलोचना सहने दिन गए, आलोचना गर्नेजति प्रतिगामीमा दर्ता भए… !

अहिले माथिदेखि तलसम्म जताततै वार्ताटोली गठन गरेर जे पायो त्यहीमा सम्झौता गर्ने प्रचलन बढ्दो छ । आफ्नो हैसियतभन्दा माथिका राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा समेत प्रतिबद्धता व्यक्त गरी थामथुम पार्ने काम हुँदोछ । भेद खुल्या दिन धोती न टोपी भएर कता कुद्नुपर्ने हो टुङ्गो छैन । मन्त्रीहन्त्री भैखाकाको त कुरै छोडौँ प्रतिबद्धता व्यक्त गर्ने तिनको पेसै हो । अष्टग्रहको व्यापक पूजापाठबाट बल्लतल्ल निमित्त वा कामुसम्म भैटोपलेकाहरूसमेत मालिकको सिको गरेर दनादन प्रतिबद्धता व्यक्त गर्दाछन् । निमित्तका न्याउरा अनि कामुका झ्याउरा प्रतिबद्धताको खै के कुरा गर्नु ? युरोदेखि झुरोसम्मका प्रतिबद्धतामा जुरो पलाउने अनि मिनीदेखि माइक्रोसम्म र जातदेखि प्रसादसम्मका प्रतिबद्धतामा सिङ उम्रिने परिस्थिति आइसक्यो । हुँदाहुँदा भित्र वार्तामा माग पूरा गर्ने प्रतिबद्धता व्यक्त ग¥यो अनि बाहिर निस्किनेबित्तिकै त्यो त… मात्र हो पूरा गर्नु जरुरी छैन भनिदियो, हिही ग¥यो ङिच्च दाँत देखायो, प्रतिबद्धतामा धोती लाइदियो, बस… । प्रतिबद्धता व्यक्त गर्नेको मात्र के कुरा यस्ता माग गर्ने पनि अनेकतिर अनेकथरी हुन थाले । थरी–थरी मिलाएर माग दर्ता गर्ने अनि उचाल्ने–पछार्ने प्रतिबद्धता नेपालीवृत्ति नै भइसक्यो । घन्टाउको ठोक्ने प्रतिबद्धताका साथ दायाँ–बायाँ उभ्याएर उचालपछार गराई दिनरात बर्त बसेर हरिकीर्तन गर्दै बर्तालुलाई विश्वनाथको प्रसाद बाँड्ने र पारिपाटिको जात मिलाउने प्रचलन विकसित भइसक्यो । यसरी शैक्षिक जगत्समेत प्रतिबद्धता पुराणबाट आक्रान्त छ ।

अहिले माग र प्रतिबद्धता अस्तित्व बचाउने साधन बन्न थालेका छन् । मागपत्रमा गरिएका हस्ताक्षर र दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाइएका हस्ताक्षर उस्तैउस्तै हुन थाले । पेसै त्यै भएका ठूलाबडा मन्त्रीसन्त्रीको त के कुरा निमित्तसम्म नभएको मजस्ता फिस्टेले त कतिपटक वार्ताटोलीमा बसेर पूरा गर्न नपर्ने कतिकति प्रतिबद्धता व्यक्त गरिसकें ! गृह वार्ताटोलीको त नेतै भएर स्वास्नीहरूका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न थालेको त जुगौँ भइसक्यो तर अहिलेसम्म एउटै प्रतिबद्धता पूरा गरिया छैन, कुन दिन के हुने हो टुङ्गो छैन… । विना योजना तथाकथित रूपमा मुक्त गरिएको भनिएका कमैया घुमैयामा परिणत भएभन्दा बढ्ता के नै पो होला र ?

अहिलेको सबभन्दा ठूलो प्रतिबद्धता भनेको घुमाइफिराइ जनता ढाँट्नु नै हो । यस्ता राष्ट्रिय प्रतिबद्धताले मलाई भने फाइदै भा’छ, स्वास्नीका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्न । आपूm परियो जताततै स्वास्नी नै स्वास्नी भएको वृद्ध बालक ! आपूmले पनि जिन्दगीमा धेरैलाई धेरैथोक गर्ने प्रतिबद्धता व्यक्त गरियाछ । पहिलेपहिले पूरा गर्न नसक्दा अलि कस्तोकस्तो लाग्थ्यो तर अहिले यो राष्ट्रिय एजेन्डा नै भएकाले ढुक्क भइयाछ । चार कोरी नाघेको यस उमेरमा समेत षोडसी कोरलीहरूस“ग प्रतिबद्धता जाहेर गर्न छोडिया छैन । मौका पर्नेबित्तिकै नयाँनयाँ प्रतिबद्धता व्यक्त गरिहालिन्छ… ।

अँ, धेरै स्वास्नीको पोइ भएकाले होला मलाई सबभन्दा बढी रिस यता र उताका स्वास्नीहरूले बेला न कुबेला पैसा माग्दा उठ्छ, त्यसैत्यसै कन्सिरी तातेर आउँछ । तिनलाई पनि फूलथुँगे प्रतिबद्धता व्यक्त गरिदिएर केही दिन त अल्मल्याइएकै हो । खै यसरी कति दिन टिकिन्छ ? केही नलागे तिनैलाई फेर्ने प्रतिबद्धता व्यक्त गर्दा पहिलेपहिले त अलि दिन ठेगान लाग्थे । यतिखेर मैलाई फेरिदिने प्रतिबद्धता व्यक्त गर्न थाले र पो प¥यो फसाद !

विचित्रै छ यो मुला प्रतिबद्धताको करामत पनि । उहिले हाम्रो मुलुकमा प्रतिबद्धताको कमी भएर केही भएन । अहिले प्रतिबद्धता अति भएर खति हुँदोछ । अब हाम्रा प्रतिबद्धता विदेशीहरूले पनि बुझिसके । माछो देख्दा दुला हात सर्प देख्दा पाखा हात गर्न पल्केका विदेशीहरू पनि त्यसैअनुरूप ठूलाठूला सहयोग दिने वा हात झिक्ने प्रतिबद्धता व्यक्त गर्दै हामीलाई घुक्र्याउन थालिसके । हेरौँ, यस्तैयस्ता प्रतिबद्धता व्यक्त हुँदै जाँदा हामी कहाँ पुग्दा रहेछौँ ? अनि पछिकाले यस प्रतिबद्धता पुराणलाई कसरी लिँदा रहेछन् ? पछि जेसुकै होस् अहिलेलाई चाहिँ यो एउटा नयाँ तर भयङ्करै महापुराण भइसकेको छ हाम्रो । त्यसैले अहिलेलाई नमोनारायण प्रतिबद्धता महापुराण…!
कुञ्जिनी (११/११, २०६३–२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x