उत्तमकृष्ण मजगैयाँनववर्षको शुभकामना !
नववर्ष निकै सुखसंग बितोस्
तकरार विवाद कुनै नरहोस्
भय कष्टहरू सब दूर रहुन्
मनका दुविधा अनि भ्रान्ति हटुन् !
युगकै प्रिय गीत बजुन् लयमा
जयकार पुकार रहोस् जगमा
रचनात्मक भै शुभ काम रहोस्
सब सार्थक भै शुभ नाम रहोस् !
नमरुन् अब क्रान्ति-सपूतहरू
नमरून् अब सर्जक-दूतहरू
अब युद्ध कतै नचलोस् बलले
अब यो धरती नभिजोस् खुनले !
न त उच्च रहुन् न त नीच रहुन्
निमुखा बलिया सब एक रहुन्
नरहोस् अब भोक र शोषण यो
सब आपसमा मिलि काम गरुन् !
कविको कविता सुरगान बनोस्
अब चिन्तन एक महान बनोस्
अब मातिनुहुन्न कुनै बलले
अब नासिनुहुन्न कुनै छलले !
वसुधाभरिको सबको जय होस्
न त जीवन बाँच्न कुनै भय होस्
शुभ कर्म गरुन् सब वर्ग मिली
अब भूतल होस् नव स्वर्गसरि !
दाङ
Subscribe
Login
0 Comments
Oldest







































