सुलसुलेतेह्र स्रष्टालाई सम्मान गर्दै श्यामललाई सुनियो
काठमाडौं, वैशाख ११, ०७२ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा सञ्चालित ‘अविरल जन साहित्य यात्रा’ को १४ शृङ्खला सम्पन्न भयो ।
कार्यक्रममा हालसम्म कविता वाचन गर्ने नेपाली प्रगतिवादी साहित्यका तेह्र जना विशिष्ट साधकलाई सम्मान गरिएको थियो । समारोहका प्रमुख अतिथि एमाले अध्यक्ष के.पी.शर्मा ओली हुनुहुन्थ्यो ।
कार्यक्रममा कवि श्यामलका एक दर्जन कविता प्रस्तुत गरिएको थियो । श्यामलका कविता ध्यानमग्न सुनेपछि प्रमुख अतिथि एमाले अध्यक्ष ओलीले दुख, दर्द र पीडामा कविताले जन्म लिने बताउँदै जेलमा बस्दा आफूले पनि केही कविता कोरेको बताउनु भयो । नेपाली समाजमा चलेका आन्दोलन हुन् वा समाजमा जागरण र चेतना फैलाउने कार्यमा साहित्यकारको भूमिका अहम् रहेको बताउँदै ओलीले भन्नु भयो– ‘कवि श्यामलको निर्भीक अभिव्यक्ति पनि आफूलाई राम्रो लाग्यो ।’
समारोहको अध्यक्षता महासङ्घका उपाध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले गर्नु भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा.महादेव अवस्थी, वरिष्ठ कलाकार लय सङ्ग्रौला, डा.सरोज धिताल, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, डम्बर पहाडी, नारायण जर्घा मगर, वरिष्ठ प्रगतिवादी गायक श्याम तमोट, जन साहित्यिक मञ्च नेपालका महासचिव विनोद मञ्जन, कोषाध्यक्ष यशोदा अधिकारी, सचिव गोपालकुमार मैनाली उपस्थित हुनु हुन्थ्यो ।
समारोहमा यस अघि अविरल जन साहित्य यात्रामा प्रस्तुत भएका स्रष्टा आनन्ददेव भट्ट, मुकुन्द न्यौपाने, कणाद महर्षि, रामप्रसाद प्रदीप, वासुदेव अधिकारी, जगन्नाथ आचार्य, हास्यव्यङ्ग्यकारहरू लक्ष्मण गाम्नागे र नरनाथ लुइँटेल, सुलोचना मानन्धर र जनगायिका नमुना शर्मालाई अविर टिका र सम्मानपत्र प्रदान गरिएको थियो । यात्रामा प्रस्तुत भएका वरिष्ठ साहित्यकार डा.मोदनाथ प्रश्रित, प्रदीप ज्ञवाली (शीतविन्दु) र बूँद राना उपत्यका बाहिर रहकाले उपस्थित हुन सक्नु भएन ।
कार्यक्रमका सभाध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले आरम्भमै यो जन साहित्य यात्राको नियमित कार्यक्रम स्रष्टाका लागि उपयुक्त थलो बनि रहेको धारणा सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो ।
कवि श्यामलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले श्यामलका कवितामा पञ्चायती निरङ्कुशतादेखि हालसम्म सामाजिक रूपान्तरणका पक्षमा विचार प्रवाहित भएको बताउनु भयो ।
आफ्ना कविता प्रस्तुतिका क्रममा कवि श्यामलले नेपाली समाज र राजनीति कृतध्न हुँदै गएको भए पनि कवितामा चाहिँ चाकरी नहुने बताउँदै आफू स्वअनुशासनमा चल्ने स्रष्टा भएको उल्लेख गर्नु भयो । ‘शान्ति नेपाली’ (२०३७ सालमा लेखिएको), ‘मैना सुनारकी आमा’ (२०६१ मा लेखिएको), ‘मुचुल्कामा लास’, ‘विचार’, ‘केही डरलाग्दा नामहरू’, ‘मैला कपडामा विद्यार्थी’, ‘हतारमा यात्रा’, ‘हत्याराको आत्मालाप’ र ‘लुतो’ शीर्षकका कविता वाचन गर्नु भएको थियो ।
कवि विप्लव ढकालले ‘कोसमोस कोनियाँ’ (सन १९८८ मा लेखिएको), ‘केशव सिलवालले ‘छाला’ (२०३१ सालमा लेखिएको), हरिमाया भेटवालले ‘ग्लोब खेलाइ रहेका बाँदरहरू’, फुलमान बलले ‘दशनीको लेहङ्गा’ र सङगीत स्रोताले ‘अचानक’ शीर्षकका कविता वाचन गर्नु भयो ।
कार्यक्रममा जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले स्वागत गर्नुभएको थियो भने उपाध्यक्ष रमेश पोखरेल सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































