सुलसुलेभोजपुरमा मुन्धुमी साहित्य संगोष्ठी
भोजपुर, नेपाल प्रज्ञा–प्रतिष्ठान (मातृभाषा साहित्य विभाग एवं मातृभाषा विभाग)को सहकार्यमा नेपाली वाङ्मय परिषद् काठमाडौँले माझकिरातको रुपमा परिचित पूर्वाञ्चलकै प्रख्यात पहाडी जिल्ला भोजपुरमा शनिबार ‘किरात राई बान्तवा भाषा साहित्यको अवस्था’ र ‘किरात राई जातिको मुन्दुमी साहित्य’ विषयक संगोष्ठीका साथै भूकम्प विशेष काव्यसभा आयोजना गरेको छ ।
साहित्य–कला प्रतिष्ठान भोजपुर स्थानीय आयोजक रहेको उक्त कार्यक्रममा मदन पुरस्कार विजेता आख्यानकार राजन मुकारुङले ‘किरात राई जातिको मुन्दुमी साहित्य’सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसमाथि मुन्दुमविद् कमलजंग राईलगायतका विज्ञले टिप्पणी गरेका थिए । कार्यक्रममा किरात राई जातिको बान्तवा भाषा, मुन्दुमी साहित्य र त्यसमा भूकम्पको उल्लेखबारे मुन्दुमका विज्ञहरूबीच गम्भीर विमर्श भएको थियो ।
त्यसैगरी ‘किरात राई बान्तावा भाषा साहित्यको अवस्था’ बारेमा पनि विवेचना भएको थियो । मातृभाषी विज्ञ शरणबहादुर राईले यसबारेमा अवधारणा राखेका थिए भने उक्त अवसरमा भूकम्प विशेष काव्यसभाको आयोजना गरिएको थियो । कार्यक्रममा भोजपुर लगायत खोटाङ, धनकुटा, संखुवासभा र सुनसरीका कवि÷लेखकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले प्रज्ञा–प्रतिष्ठानले मातृभाषा साहित्यको विषयमा गम्भीर भएर काम गरिरहेको बताए । उनले भने, ‘यो कार्यक्रम त्यसैको एउटा शृङ्खला हो ।’
प्राज्ञ तथा नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले माझकिरातमै आएर प्रतिष्ठान र परिषद्ले सम्बन्धित भाषा साहित्यसम्बन्धी कार्यक्रम गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए । कार्यक्रममा कवि मणि राई, अम्रिका ताम्रकार, हरि दाहाल, इन्द्रसुर बेल्टारे, कविता राई, करुणा राई, जमुना राई, असीम दुङ्माली, तीर्थकुमार राईलगायतले भूकम्प विशेष कविता सुनाएका थिए ।
Subscribe
Login
0 Comments
Oldest












































