साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्टुनकलाका कुशल कुची बात्सायन

Nepal Telecom ad

चित्रकारिताको श्रीगणेश कहिले भयो ठ्याक्कै सम्झना छैन तर चित्र बनाउन थाल्दाका किरिङमिरिङ धर्सा अनि बुट्टाहरूका सम्झना भने उहाँका मनभित्र अझै छन् । खाना पकाउँदै गर्दा मझेरीभरि अँगारले कोरिदिएका, मलामी जाँदा बगरमा डिकोले बनाएका अनि बिहेबटुलो र सप्ताहहरूमा कागजमा बनाएका ।
भानिजलाई खाना पकाउन लगाएर काममा गएकी माइजूलाई घर फर्कदा खाना पाकेको खुशीभन्दा पनि भित्ता र मझेरिभरि अँगारले कोरिदिएका चित्रले रन्थनाइदिन्थ्यो । अनि भानिजले खानाभन्दा पहिले गालीको खान्की भेट्टाउँथे ।
कार्टुनिस्ट र चित्रकारका रुपमा दुर्गा बराल अर्थात बात्सायनको उचाई जति छ उहाँको सङ्घर्ष र मेहनतको ठेली पनि त्यसकै हाराहारीमा अग्लो छ ।
आमाको निधनपछि मामाघरमा हुर्केका बात्सायनको कलाको नर्सरी पनि त्यही मामाघर हुनपुग्यो । जत्तिबेलै चित्र कोर्ने ध्याउन्नमा लिप्त भएपछि भानिज बिग्रने भयले ग्रस्त मामाले बात्सायनको जीवनबाट चित्रकारिताको ‘भूत’ उतार्न गरेको पहलले उल्टो दुर्गा बराललाई चित्रकार बन्ने औपचारिक बाटो पो खोलिदियो ।
आफूले जति भने पनि भानिजले टेरपुच्छर नलाएपछि मामाले पढेलेखेको आफ्नो भतिजोलाई बोलाएर सम्झाउन लगाउनुभयो । भइदियो के भने दुर्गाका चित्र हेरेपछि भान्दाइले दुर्गालाई होइन आफ्नै काकालाई पो सम्झाउनुभयो । कान्छाबा ‘भाइ त सही बाटोमा लागेको छ, यो विग्रेको होइन सप्रेको सङ्केत पो हो त ! त्यसैले उसलाई यही क्षेत्रमा लगाउन प्रेरित गरौं बरु ।’ त्यसको केही दिनमै घाँटीमा चाँदीको तक्मा ढल्काउँदै शानसँग घर (मामाघर) पुग्दा मामाले काँध थप्थपाउँदै भन्नुभो ‘स्याब्बास भानिज’ बस् अब के नै चाहियो र ? उहाँ फुरुङ्ग पर्दै आफैलाई बधाई दिनुभो मामालाई मनाउन सकेकोमा ।
कास्की जिल्लास्तरीय चित्रकला प्रतियोगितामा पहिलो भएपछि उहाँले चित्र बनाउने घमण्ड वा लहड मात्र नभएर चित्रकारिताको क्षमता पनि रहेको प्रमाणित गरिदिएको थियो । ‘बाँसको सुप्लो’ (पट्याँस)मा कटुसको बोक्रा पकाएर बनाएको मसीले चित्र कोरिन्थ्यो, कहाँको कलम कहाँको कागज ! प्रविधिका नयाँनयाँ संस्करणले निकै सजिलो बनाइरहेका बेला चित्र र कार्टुन सरोबरी बनाइरहेका बात्सायनले उसबेलाको क्षण सम्झनुभयो । एसएलसी पास गरेपछि उहाँले विज्ञान सङ्कायको पढाइ सुरु गर्नुभयो । ऐच्छिक विषय बायोलोजी लिएर । यसको गुह्य कारण उही चित्र थियो । बायोलोजीमा बढी चित्र बनाउन पथ्र्यो अर्थात पाइन्थ्यो ।
पढ्नमा भन्दा चित्र कोर्नमा इन्जोय गर्ने दुर्गा बरालले चित्रकारितको औपचारिक पढाइका लागि ५ पटक भारतीय दूतावासमा छात्रवृत्तिको परीक्षा दिए पनि छनोट भने हुन सक्नुभएन । तर चित्रकार बन्ने धोको उहाँभित्र यति जब्बर थियो कि यस्ता नाथे झमेलाले तिनलाई रोक्न सकेनन् । बरु जसरी होस् चित्रकार बन्छु भन्ने नयाँ अठोट र ऊर्जा पो भरिंदै आयो ।
चित्रकारिताको सत्सङले जीवनमा खासै केही दिएको थिएन बरु विज्ञान जस्तो निक्कै ‘स्कोप’ भएको विषयको पढाई डामाडोल बनाइदिएको थियो । तर उहाँले चित्रकार बन्ने सपनाको पछिपछि लुरुलुरु हिँड्न छोड्नुभएन । त्यो सम्झदा उहाँलाई अहिले पनि लाग्छ औंसीको निष्पट्ट रातमा उज्यालोको सानो झिल्को मात्रै देखे पनि त्यसलाई नै पछ््याउँदै हिँड्न सक्नु नै सफलताको बाटो हो रहेछ । अँध्यारो कालो गुफाभित्र कतै जुनकिरी बलेजस्तो एकदिन त कसो उज्यालो नहोला भन्ने आशमा उहाँ लागिरहनुभयो ।
आफ्नै जीवन सम्झँदा उहाँलाई अहिले पनि लाग्दो रहेछ चुनौती त मानिसलाई परीक्षण गर्न पो आउँदा रहेछन् । यो मानिसले कत्तिको दुख्ख खप्न सक्छ कि दुखसँग आत्मसमर्पण गरेर भागिहाल्छ भनेर उनीहरूले परीक्षण गरिरहेको हुने बात्सायनको बुझाई छ । मैले जीवनका ती सवै चुनौतीलाई पार लगाउन सकें भन्ने लाग्छ । जीवनसँग एकदमै सन्तुष्ट उहाँले भन्नुभयो ।
काठमाडौंमै हुँदा एकदिन दुर्गा बराललाई लाग्यो आ अब त घर फर्कन्छु । कतिदिन हिँड्नु यसरी लुखुरलुखुर ? तर मामाले घर फर्कन पठाइदिएको डेढसय रुपैयाँ हातमा परेपछि त्यसले फेरि चित्रकारिताको प्वाँख उमारिदिई हाल्यो ।
उहाँ चित्रकारिता बिर्सन पोखरा होइन चित्रकारिता सिक्न भारतको दिल्ली पुग्नुभयो । चिन्नु न जान्नुको त्यो शहरमा भौतारिँदै गर्दा एकदिन दिल्लीको प्रकाश पेण्टिङ अघिल्तिरि उहाँका गोडा टक्क रोकिए । आफूले गरेका पेण्ट एक तमासले हेरिरहेको केटो देखेपछि साहुजीले उहाँलाई आफ्नै घरमा बस्ने खाने र दिउँसो पसलमा काम गर्ने बन्दोबस्त गरिदिए । तर चित्रकारिताको औपचारिक अध्ययन गर्ने चाहना भने दिल्लीमा पनि पूरा हुन सकेन । डेढदुई महिनाजति पछि उहाँ फेरि मनभित्र जतन गरी राखेको उही सपनाको पोको च्यापेर काठमाडौं आइपुग्नुभयो ।
अहिलेसम्म त के नै गाह्रो थियो र ! असली दुःखका दिन त अब पो सुरु भए । खल्तीमा सुक्को पैसा नभएको त्यो क्षण खाना र छानाकै समस्या आइलाग्यो । टेलरिङको काम गर्ने एक साथीकोमा एकरात काटेपछि दुःखले काठमाडौंमा एउटा डेरा त भेटियो, तर खाने के ? सात दिनसम्म इनारको पानीले भोकको रनाहाबाट छुटकारा पाएका दुर्गा बराल त्यसपछि कामको खोजीमा निस्कनुभयो ।
भोक लाग्यो कि जगमा इनारको पानी उघाएर पिउने गर्दागर्दा हत्तुहैरान भएपछि उहाँलाई लाग्यो अब रिक्सा चलाएर बाँच्ने । तर संयोग भनौं वा भाग्य त्यहाँ भेटिए एक पुराना साथी । उसले कता हिँडेको भनेर सोधीसक्दा नसक्दै मैले उसलाई मेरो हरिबिजोगको नालिबेली सुनाइसकेको थिएँ त्यो दिन सम्झदै गर्दा बात्सायनका आँखाका चेपचेप रसाइसकेका थिए ।
साथीले तुरुन्तै नजिकको मिठाइ पसलमा लगेर किनिदिएको दुध र पाउरोटी शायद जिन्दगीकै सबैभन्दा मिठो भोजन थियो । एकछिन रोकिएर उहाँले थप्नुभयो मैले उसलाई एउटा मान्छे मेरो साथी वा अरु कोही सम्झिन मेरो अघिल्तिरि जिउँदो भगवान प्रकट भएको थियो । संयोगले साथीको नाम पनि रामकुमार नै थियो ।
त्यसपछि दुर्गा बराल रामकुमारकै पछिपछि लाग्नुभयो, जहाँ बिते १५ दिन । त्यहि बेला उहाँले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा ज्यालादारीको काम पाउनुभयो । ६ महिनामा उहाँ सुब्बा सरहको स्थायी कर्मचारी बन्नुभयो । २०३० सालतिर उहाँ जागिर छोडेर पोखरा फर्कनुभयो । भर्खरभर्खर हिप्पी युग छिरेको पोखरामा केही सस्तोमा दिँदा चित्र बेच्न सकिने सुत्र अपनाएर बात्सायनले त्यसै गर्नुभयो । विस्तारै विदेशीसँगको सम्पर्क बढ्यो ।
उहाँले पोखरामा कलाको स्टुडियो नै खोल्नुभयो । वात्सायन अब चित्रकारिताको क्षेत्रमा चाहेर पनि भुल्न नसकिने नाम बन्यो । वात्सायनले पोखराको पृथ्वीनारायण क्याम्पसमा २७ वर्ष कला शिक्षकका रुपमा अध्यापन पनि गर्नुभयो ।
यो पाटो त बात्सायनको चित्रकारिताको भयो । उहाँलाई धेरैले चिन्ने कार्टुन यात्रा अबको पालोमा ।
चित्रकारितालाई अल्ली साँघुरो र कार्टुनलाई धेरै मानिसलाई हल्लाउन सक्ने विधाका रुपमा ब्याख्या गर्ने बात्सायनले २०२२ सालमा कार्टुन बनाउने काम थाल्नुभएको हो । तर कार्टुन बनाएबापत पारिश्रमिक पाउन भनें उहाँले २० वर्ष पर्खिनु भयो । यसबाट पनि थाहा हुन्छ उहाँ वात्सायन बन्नुको रहस्य । बीस बीस वर्ष विना पारिश्रमिक कुनै काम गरिरहनु हामी धेरैले गर्न होइन सम्झन पनि नसक्ने कुरा हो ।
काठमाडौंमा बिखर्ची भएर कुद्दै गर्दा ताका नै उहाँले संयोगले भेट्टाउनुभयो एक सम्पादकलाई । उहाँले पत्रिकाका लागि कार्टुन बनाउने काम गर्नुपर्ने र त्यसबापत मासिक ७५ रुपैयाँ पारिश्रमिक दिने कबुल गर्नुभएको थियो बात्सायनसँग ।
काम गर्दै जाँदा थाहा भयो पत्रिका नाजुक हालतबाट गुज्रिरहेको कुरा । पञ्चायती सेन्सरसिपका कारण पत्रिका नियमित निस्कन पाउन्थेन । त्यो देखेपछि तलब माग्न मन लागेन ।
कार्टुन बनाएर पैसा लिने सपना बुनेका वात्सायनलाई पैसो नपाएपनि कार्टुनको सङ्गतले नागरिक अधिकारका पक्षमा कुरा उठाइरहन प्रेरणा पो दियो । पञ्चायत विरुद्ध कार्टुन बनाउनुलाई उहाँले जागिर होइन जिम्मेवारी ठान्नुभयो । यो क्रम चल्यो २० वर्षसम्म विना पारिश्रमिक नै । यही मोहनीले वात्सायनलाई चित्रकारभन्दा सायद बढि नै सफल बनायो पनि । आजको भोलि नै नतिजा चाहिने संस्कार हावी हुँदै गएका बेला एकादेशको कथाजस्तो लाग्ने वात्सायनको मेहनत सङ्घर्ष र साधनाको नालिबेली अभिप्रेरणाका लागि सुन्दर कथाको प्लट जस्तो पनि लाग्छ । तर यो उहाँको यथार्थ भुक्तमान हो ।
कुराकानीको बिट मार्दै गर्दा उहाँले निरन्तरको साधना, आफूभित्रको क्षमता चिन्नसक्ने क्षमता हुने हो र आफूभित्रको क्षमतालाई प्रमाणित गर्ने हो भने घरपरिवार र अभिभावकले पनि सहयोग गर्ने अनुभव सुनाउनुभयो । यसपछि अभिभावक पनि गम्न बाध्य हुनेछन् होइन यसले यहि क्षेत्रमा गरिखान्छ कि क्या हो ?
सफलताका लागि अर्को महत्वपूर्ण कुरा साधना । वात्सायन सुनाउँदै हुनुहुन्छ, मेरो जीवनकै कुरा गर्ने हो भने मामा माइजूले पटकपटक प्रयास गर्दा, पाँचपाँच पटकसम्म पनि छात्रवृत्ति नपाउँदा, भारतमा गएर पनि पढ्न नपाउँदा, सातादिनसम्म इनारको पानी पिएर बाँच्दा, अनि २० वर्षसम्म पारिश्रमिक नपाउँदा पनि मैले चित्रकारिता र कार्टुनको विकल्प सोचिनँ । विकल्प त थिए नि ।
‘मलाई मेरो क्षमता चित्र र कार्टुन हो भन्ने लागिसकेको थियो । अलि अघि बढेर भन्दा मैले त्यो बेला नै मभित्रको क्षमता चिनेको रहेछु कि जस्तो पनि लाग्छ । वात्सायनको ठहर छ, ससाना हण्डरसँग हार खाएर यो बाटो मोडेको भए केही न केही त पक्कै बनिन्थ्यो तर अहँ अहिलेको बात्सायनको जस्तो नाम र ख्याती मरेकाटे मिल्ने थिएन ।’
हो पनि समयले पटक पटक लिएको दुख र चुनौतीको परीक्षामा बात्यासन पास मात्र हुनुभएन सायद डिस्टिङ्सन नै ल्याउनुभयो ।
–प्रस्तुति : लक्ष्मण कार्की, उज्यालो

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x