साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि प्रधानले बिताए ‘एक उदास साँझ’

Nepal Telecom ad

काठमाडौँ, ८ भदौ । कवि प्रमोद प्रधानका प्रतिनिधि कविताहरूको सङ्ग्रह ‘एक उदास साँझ’ ‘नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको अवसर पारेर आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी दिवसले विमोचन गर्नुभयो ।

विमोचित कवितासङ्ग्रहमा कवि प्रधानका ०३२ देखि ०६६ सम्म लेखिएका कवितामध्ये छानिएका ५५ कविता छन् । प्रधानका केही कविता अङ्ग्रेजी, हिन्दी र बङ्गालीमा अनुवादित भई प्रकाशन पनि भएका छन् । प्रधानका चार कवितासङ्ग्रह र समान सङ्ख्यामा समालोचना तथा अनुसन्धान, एक दर्जन बाल साहित्य तथा सम्पादनतर्फ सात कृति प्रकाशित छन् । उहाँ व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, साझा साहित्य बाल पुरस्कारलगायत करिब दर्जन पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

सो अवसरमा वरिष्ठ कवि एवम् लोकवार्ताविद् प्रा दिवसले कवि प्रधानका कवितामा ‘थोरै बोलेर धेरै भन्ने शैली’ रहेको बताउनुभयो । सर्वनाम नाट्यशालाका संस्थापक अशेष मल्लले कवि प्रधानका कवितामा खोट लगाउने ठाउँ कम रहेको बताउँदै उहाँलाई कवितासँगै गीत लेखनलाई पनि अघि बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा साहित्यकार विजय चालिसे, विवश पोखरेललगायतले कवि प्रधानले साथीहरूसँग मिलेर विराटनगरमा कविता अभियान चलाएको स्मरण गर्दै कवितासँगै पत्रकारिता, बालसाहित्य सिर्जना र सोध अनुसन्धानका क्षेत्रमा पनि काम गरेर बहुमुखी प्रतिभाको प्रमाण दिएको बताउनुभयो ।

कवितासङ्ग्रहको प्रकाशक विवेक सिर्जनशील प्रालिका सञ्चालक समिति अध्यक्ष विजयराज आचार्य र सदस्य मनोज श्रेष्ठले कवि प्रधानको प्रतिभाबाट प्रभावित भएर आफूहरूले सहकार्य गरेको बताउनुभयो ।
कार्यक्रममा कवि प्रधानले ‘प्रश्नहरूको कहतारोमा एउटा बन्दी’, ‘रातसँग प्रश्न’, ‘जीवन कविताजस्तो किन हुँदैन ?’, ‘कविता र जङ्गल’ र ‘एकान्त गीत’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । कवितासङ्ग्रहको भूमिकामा समालोचक प्रा डा गोविन्दराज भट्टराईले सबै कविता कवि स्वयम्ले भोगेका अस्वीकृत समयविरुद्धको आक्रोश भएको उल्लेख गर्नुभएको छ ।
वि.सं. २०३० देखि कविता सिर्जनामा सक्रिय प्रधानका यसअघि ‘रातभरिका सुस्केराहरू’ (२०३२), ‘विभाजित मान्छे’ (२०४०), ‘एकान्त गीत’ (२०५४) कवितासङ्ग्रह प्रकाशन भइसकेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x