मुकुन्द आचार्यभाषाको हुर्मत
(गाईजात्रा २०७२)
अनौठो देश नेपालमा मुद्दा पनि अनौठो नै चल्छ । अदालतमा सबै थरिका छात्र छात्राको अभूतपूर्व भेला थियो । सरकारी पक्षका वकीललाई नूनको सोझो गर्न निकै धौ धौ परेको सबैले अनुभव गरे ।
वादीपक्ष अर्थात् छात्रछात्राहरुका तर्फबाट अधिवक्ताले तर्कहरू तेस्र्याए– सरकारले नेपाली अखरवारहरू, रेडियो नेपाल र ने.टी.भी.का सबै प्रसारणहरू बन्द गर्नु पर्ने हो, हैन भने कुनै पनि विद्यार्थीलाई नेपाली विषयमा व्याकरणका अशुद्धिका कारण अनुत्तीर्ण गर्नु न्यायोचित भएन ।
उनले थपे, विद्वान् मित्र सरकारी अधिवक्ताले बताउनु प¥यो कुन चैं व्याकरणलाई आधार बनाएर गोरखात्रजस्तो सरकारी हण्डी खाएर भात र मात लागेको जेठो, बाठो पत्रिकाको एउटै अङ्कमा हजारौँ अशुद्धि भेटिन्छ । रेडियो नेपाल र ने.टी.भी.ले प्रसारण गर्ने विज्ञापनहरूलाई नेपालीकरण गर्न सकिन्न र ? समाचारहरूमा किन त्यत्रो भाँडभैलो ?
“दृष्टिगत गर्दै”, “ध्यानमा राख्दै” जस्ता नेपाली लवज हुँदाहुँदै किन “मध्येनजर गर्दै” भन्ने लेखिन्छ र बोलिन्छ ? अनुभव र अनुभूति हुँदाहुँदै किन “महसूस” गर्न थालियो ? यस्ता उदाहरण बग्रेल्ती छन् । तसर्थ श्रीमान ! हाम्रा छात्रछात्राले नेपाली विषयमा अशुद्ध लेख्ने वातावरणको सिर्जना गर्ने रेडियो नेपाल, ने.टी.भी. र हाम्रा पत्रपत्रिका हुन् । अपराध रामेले गर्ने अनि त्यसको दण्ड सजाय श्यामेलाई दिने ? भाषाको हुर्मत लिने निकायहरू नै दोषी हुन् । श्रीमान् ! ओठ निचोर्दा दूध आउने यी बालक बबुराहरूलाई किमार्थ दोषी भन्न मिल्दैन ।
एक छिन पछि विद्यार्थीहरूको भव्य जुलुसले नगर परिक्रमा गरेको दृश्य दर्शनीय थियो ।
हाल– थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































